
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनीको मूल्य प्रति किलोग्राम १०७.५० रुपैयाँ तोकेको छ ।
कम्पनीले चाडपर्वका लागि सहुलियतमा ५ रुपैयाँ छुट दिएर १०२.५० रुपैयाँका दरले बिक्री गरिरहेको छ । नेपाली खुद्रा बजारमा त्यही चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म रहेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
भारत सरकारले कोटामा उपलब्ध गराउने चिनीका लागि नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई १५ हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५ हजार मेट्रिक टन आयात गर्ने अनुमति दिएको छ । यसका लागि सरकारी स्वामित्वका दुवै संस्थालाई ५० प्रतिशत भन्सार छुट समेत दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ ।
भारतबाट १५ हजार मेट्रिक टन चिनी आयातका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अन्तिम चरणमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमारराज भण्डारीले जानकारी दिए ।
उक्त टेन्डरको प्रक्रिया सोमबार पूरा हुने जनाइएको छ । साल्ट ट्रेडिङले ल्याउने चिनीमा सरकारले ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । यता भारत सरकारले १५ हजार मेट्रिक टन चिनी पठाउनका लागि स्वीकृति नदिएको व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आर्चायले बताए । उनका अनुसार १५ हजार मेट्रिक टन चिनीको कोटा पाए पनि भारतबाट स्वीकृति नपाउँदा चिनी ल्याउने काम रोकिएको छ ।
भदौमै चिनी भित्रिसक्नुपर्ने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए । तुलाधरका अनुसार समयमै चिनी बजारमा नपुग्नाले मूल्यवृद्धि भइरहेको छ ।
‘अहिलेसम्म बजारमा चिनी आइसक्नुपर्ने हो । यो चाडपर्वको समयमा चिनीको खपत दोब्बर हुने गरेको छ’, उनले भने, ‘नेपाल भनेको काठमाडौं मात्रै होइन, देशका विभिन्न स्थानमा खाद्यान्न पठाउनुपर्ने हुन्छ । चिनीको मूल्य गत वर्षको जस्तो १५० देखि १७० रुपैयाँसम्म पुग्ने सम्भावना हुन्छ ।’
भारतबाट ६७ रुपैयाँमा खरिद र नेपालमा १२० रुपैयाँमा बिक्री
भारतबाट चिनी खरिद गर्दा प्रतिकिलोग्राम ४१ देखि ४२ भारतीय रुपैयाँ पर्ने गर्दछ । नेपाललाई चिनीको खरिद मूल्य ६७.२ रुपैयाँ नेपाली पर्न जान्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार भन्सारसम्म आइपुग्दा चिनी खरिद मूल्यमा ४ प्रतिशत ढुवानी खर्च लाग्ने गर्दछ, जुन २.६८ रुपैयाँ हुन्छ । भन्सारको ३० प्रतिशतको महसुलमा ५० प्रतिशत छुट गर्दा १५ प्रतिशत अर्थात् १०.४८ रुपैयाँ लाग्छ । भन्सार महसुलपछि त्यसमा १३ प्रतिशत भ्याट लाग्ने गर्दछ ।
भ्याट र भन्सार शुल्कसहित चिनीको मूल्य ८०.३६ रुपैयाँ पर्न जान्छ । उक्त चिनी भन्सारबाट नेपाल भित्रिँदा ४ प्रतिशत ढुवानी खर्च जोडिन्छ । जुन ३.२१ रुपैयाँ हुन्छ । ४ प्रतिशतको ढुवानी पश्चात् चिनीको मूल्य ८३.५७ रुपैयाँ पुग्छ । त्यसमा पनि सेल्स एन्ड डिस्ट्रिब्युसन कस्ट ५ प्रतिशत जोडिन्छ, जुन ४.१७ रुपैयाँ हुन्छ । यसलाई जोड्दा चिनीको मूल्य ८७.७४ रुपैयाँ पुग्छ ।
भारतबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी अथवा साल्ट ट्रेडिङले चिनी ल्याउँदा लागत मूल्य ८७.७४ रुपैयाँ पर्ने देखिन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १०७ रुपैयाँ मूल्य तोकेर छुटसहित १०२.५ रुपैयाँमा बिक्री गरिरहेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले १०६ देखि १०७ रुपैयाँ प्रतिकेजी तोकेको छ ।
यता खुद्रामा चिनीको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म रहेको छ । यो बीचको अन्तरमा नाफा छुट्याएर मूल्य निर्धारण गर्ने गरिन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लागत मूल्य ९५ देखि १०० रुपैयाँसम्म पर्ने जनाएको छ ।