१० असार २०८३, बुधबार
मसिना विवादमा जघन्य अपराध

अपराधले आक्रान्त मधेश : सामान्य विवादलाई ठूलो ‘इस्यु’ बनाएर जघन्य हत्या

असोज ११, २०८१
काठमाडौं
अपराधले आक्रान्त मधेश : सामान्य विवादलाई ठूलो ‘इस्यु’ बनाएर जघन्य हत्या

बिहीबार राति सर्लाहीको हरिपूर्वा –५ मा एक युवाले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरे । धिरेन्द्र यादव नाम गरेका ती युवाले २३ वर्षीया श्रीमती चित्रलेखा यादवलाई कन्चटमै गोली प्रहारगरी हत्या गरेको प्रहरीले जनाएको छ । धिरेन्द्रले श्रीमती चित्रलेखालाई मात्रै नभएर आफ्ना बाबु रामदिनेश रायलाई पनि गोली प्रहार गरेका थिए । गोली लागे पनि बालबाल उनको ज्यान जोगियो । 

एक महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका धिरेन्द्रले राति साढे ११ बजे सुतिरहेकी श्रीमतीलाई गोली हानेका थिए । बुवा रामदिनेश कराएर भाग्न लाग्दा उनलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । 

प्रहरीले घटनास्थलबाट दुई राउन्ड गोलीको खोका र एउटा मिस फायर भएको गोली बरामद गरेको छ । घटनामा प्रयोग भएको पेस्तोल बरामद भएको छैन । फरार धिरेन्द्रको खोजी भइरहेको श्रेष्ठले बताए । 

नजिकै नेपाल–भारत सीमा भएकाले धिरेन्द्र राति नै भारततर्फ भागेको आशंंका प्रहरीको छ । पारिवारिक झगडाले उत्पन्न परिस्थितिमा धिरेन्द्रले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सर्लाहीमा यसअघि पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको थियो । साउन ६ गते राति रतनपुरस्थित घरमा उनी सुतेकै ठाउँमा धारिलो हतियार प्रयो गरेर हत्या गरिएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा रायकै घरमा काम गर्ने राम उजैन राय र आर्थिक प्रलोभन देखाएर हत्या गर्न उक्साउने विरेन्द्र रायलाई पक्राउ गरेको थियो । अहिले उनीहरू दुवै कारागार चलान भएका छन् । 

रौतहटमा गत असार २५ गते आँप टिपेकै निहुँमा एक १७ वर्षीय किशोरको हत्या भएको थियो । इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँप बगैचामा रड र छड प्रहार गरेर सहवाज मियाँको हत्या गरिएको थियो । मृतक सहवाजका भाइले आँप टिपेको निहुँमा दशही मियाँले कुटपीट गरेको र सहवाजले दशहीलाई समेत कुटपिट गरेपछि घटना उत्कर्षमा पुगेको प्रहरी अनुसन्धानबाट त्यतिबेलै खुलेको थियो । दशही र अर्का रोशन मियाँ मिलेर सहवाजको हत्या गरेका थिए । अहिले दशही र रोशन दुवै पुर्पक्षमा कारागार चलान भएका छन् । 

यसअघि गत जेठमा बाराको आदर्शकोतवाल गाउँपालिकामा प्राध्यापक हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको थियो । कलैयास्थित रामराज मोहनबिक्रम बहुमुखी क्याप्पसका प्रमुख कुशवाहमाथि गत जेठ ३२ गते आदर्शकोतवाल गाउँपालिकास्थित बतरामा गोली हानेर हत्या गरिएको थियो । कुशवाह हत्याका प्रमुख अभियुक्त सुरेन्द्र कुशवाह अझै फरार छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्का सुरेन्द्रलाई पक्राउ गर्न आफैं भारत पुगे पनि पक्राउ गर्न सफल भएनन् । हतियार व्यवस्थापन गर्ने र सुराकी गर्ने केही अहिले पुर्पक्षमा कारागारमा छन् । 

मधेश प्रदेशका ८ जिल्लामध्ये सर्लाही, बारा र रौतहटमा भएका पछिल्ला हत्या श्रृंखलाका यी उदाहरण मात्रै हुन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहराका अनुसार चालू आर्थिक वर्षको दुई महिनामै मधेशमा १३ जनाको हत्या भएको छ । जसमा ९ पुरुष र चार जना महिला छन् । मृतकमध्ये दुई जना भारतीय नागरिक पनि छन् । 

प्रहरीको अभिलेखअनुसार आर्थिक वर्ष २०७९/०८० मा मधेश प्रदेशका ८ जिल्लामा ११४ जनाको हत्या भएको देखिन्छ । यसमध्ये चार जनाको गोली हानेरै हत्या गरिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा हत्या घटनाको संख्या तुलना गर्दा रौतहटमै धेरै देखिन्छ । रौतहटमा १९ जनाको हत्या भएको प्रहरीले जनाएको छ । 

प्रहरीको तथ्यांकअनुसार उक्त आर्थिक वर्षमा रौतहटसँगै पर्सामा १६, धनुषामा १५, सप्तरीमा १४, बारामा १३, सर्लाहीमा १३, महोत्तरीमा १२ र सिरहामा १२ जनागरी ११४ जनाको हत्या भएको देखिन्छ । 

आर्थिक वर्ष २०८०/०८१ मा हत्याका घटना झन् बढेको देखिन्छ । उक्त आर्थिक वर्षमा १२७ जनाको हत्या भएको प्रहरीले जनाएको छ । प्रवक्ता बोहराका अनुसार उक्त समयमा २ जनाको गोली प्रहारबाट हत्या भएको थियो । प्रहरी अभिलेखअनुसार उक्त आर्थिक वर्षमा सबैभन्दा धेरै धनुषामा हत्या घटना भएको देखिन्छ । 

धनुषामा मात्रै २१ जनाको हत्या भएको प्रहरी अभिलेख छ । त्यस्तै धनुषापछि सिरहामा २०, रौतहटमा १८, सप्तरीमा १७, पर्सामा १७, बारामा १४, सर्लाहीमा ११ र महोत्तरीमा ९ जनागरी १२७ जनाको हत्या भएको प्रहरीले जनाएको छ । 

हत्या घटना किन बढे ? 
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी बोहराका अनुसार मधेशमा हत्याका घटना बढ्नुमा आपसी कलह, सम्पत्तिको लोभ र खुला सीमाना मुख्य कारण देखिएका छन् । उनले प्राध्यापक हरिभूषण र पूर्वराज्यमन्त्री रायको हत्याको पछाडि पनि सम्पत्ति र आपसी कलह नै मुख्य कारण रहेको बताए । ‘खुला सिमाना छ, पारिबाट बन्दुक ल्याएर गोली हान्छन् भाग्छन्,’ बोहराले लोकान्तरसँग भने, ‘केही घटनामा भने परिवार भित्रैको विवाद र आवेश प्रेरित पनि देखिएका छन् ।’ 

बोहराका अनुसार सामान्य विवादलाई पनि ठूलो ‘इस्यु’ बनाएर व्यक्ति हत्यासम्म पुग्ने गरेको देखिन्छ । उनले भने, ‘कुनै घटना दाइजोसँग सम्बन्धित देखिन्छन्, कुनैमा अंश भागवन्डामा त कुनैमा विवाहेत्तर सम्बन्ध पनि देखिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्