२९ जेठ २०८३, शुक्रबार
बढ्दो जनआक्रोश

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१
काठमाडौं
राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अहिले उपलब्ध सुविधाका निम्ति अग्रजहरूलाई श्रेय गएजस्तै हामीले राम्रो गर्दा आउने पुस्ताले हामीप्रति गौरव गर्ने स्थिति बनाउने दायित्व पनि हाम्रो नै हो । तर, हामी के गर्दैछौं र नयाँ पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्दैछौं ? आजको ज्वलन्त प्रश्न हो । मूलतः हाम्रो ध्यान कहाँ छ ? आजको ऊर्जाशील पुस्ताले हामीबाट के सिक्दैछ ? हाम्रो राजनीतिक प्रणाली राज्यको उत्थान र जनकल्याणमा कति प्रतिबद्ध छ ? हाम्रासामु खडा चुनौती के–के हुन् र आउने दिनमा थपिने चुनौती के–के हुन सक्छन् ? हाम्रो समाज कहाँ छ र विश्व समाज कहाँ पुग्यो ? हामी किन पछि पर्‍यौं ? यी सबै पक्षको गम्भीर समीक्षा गरेर स्पष्ट र ठोस कार्यसूचीसहित अघि बढ्नुपर्ने वर्तमानको मुख्य दायित्व हो । तर, हिजोआज के हुँदैछ र भोलि के हुँदैछ, कसैलाई थाहा छैन । वर्तमान शासन प्रणाली केका लागि हो ? देश र जनताका लागि कि सीमित राजनीतिज्ञका लागि ? भन्ने बहस शुरू गर्नुपर्ने स्थिति देखिन्छ, किनभने नेपालको विद्यमान राजनीति दिनानुदिन गैरजिम्मेवार हुँदै गएको देखिन्छ । र, सप्रिने वा सुध्रिने कुनै छाँटकाँट छैन । यस सन्दर्भमा एउटा भनाइ निकै गम्भीर र मननीय छ ।

तिमी जे भन्छौ,बहुत सुन्दर सुनिन्छ,तर जस्तो परिणाम दिन्छौ,मेरा लागि निराशाजनक र असह्य छ,जसको कुनै परिभाषा र सीमाभेटिँदैन-अज्ञात 

यो ठ्याक्कै कसले र किन भन्यो, थाहा छैन । तर, हामीलाई के थाहा छ भने अज्ञातका नाममा प्रचारित यस्ता भनाइहरू निकै गहन तथा मननीय हुने गर्छन् । यी विचार र भनाइले मानव जाति र समाजको वास्तविक अवस्थाको गहिरो चित्रण र जीवन्त वर्णन गर्दछन् । साथै, मार्गदर्शन पनि गर्छन् । यसले सोझै राजनीतिक व्यवस्थाको पक्ष वा विपक्षमा त बोलेको देखिँदैन तथापि समाज व्यवस्थाका र समग्र जीवन जगतका बहुआयामिक चित्र र चरित्र बोल्छन् । माथिकै भनाइले पनि वैयक्तिक, सामाजिक वा राजनीतिक भाव बोकेका छन् र निकै गहिरो सन्देश दिएका छन् । उपरोक्त भनाइलाई नेपालको राजनीतिमा जोडेर विषद् विवेचना गर्न सकिन्छ । र, विभिन्न निष्कर्ष निकाल्न सकिन्छ, किनभने यहाँ बोलिने कुरा र गरिने विषयमा निकै अन्तर र विरोधाभाष देखिन्छ । जिम्मेवारी लिएका व्यक्ति वा संस्थाका गैरजिम्मेवार व्यवहारबाट समकालीन समाज निकै आहत देखिन्छ ।

जब सम्बन्धित देशका बासिन्दा वा नागरिकको प्रचलित राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वप्रति वितृष्णा जाग्छ, तब समाजले अस्थिरता, अधोगति वा पतनको बाटो समात्दोरहेछ । समाजलाई सही वा गलत बाटोमा लैजाने काम राजनीतिले नै गर्छ । आफूले अतिविश्वास र भरोसा गरेको राजनीतिक प्रणाली र नेतृत्वले आफ्ना नागरिक र समाजप्रति जिम्मेवार एवं उत्तरदायी भूमिका निर्वाह नगरेपछि उत्पन्न हुने निराशा र आक्रोशले जस्तोसुकै रूप लिन तथा बाटो समात्न सक्छ भन्ने दृष्टान्त संसारभरि पाइन्छन् । यसको ज्यादा चर्चा गरिरहन आवश्यक छैन, किनकि यही दौरानमा कतिपय देशमा प्रणाली बदलिएका छन् । कतिपय राजनीतिक नेतृत्वको पतन भई नयाँ नेतृत्वको उदय भएको छ । हामी नेपाली समेत यसका भुक्तभोगी छौं । राष्ट्र निर्माणपश्चात् हामीले विभिन्न राजनीतिक प्रणालीको अनुभव गरिसकेका छौं । तर, जुनसुकै राजनीतिक प्रणाली अवलम्बन गरे पनि राज्यले जनअपेक्षालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेन भने त्यस समाजका बासिन्दाले निरन्तर प्रताडित हुनुपर्दोरहेछ । यसका हामी ज्वलन्त दृष्टान्त भएका छौं । यस विषयमा हाम्राबीच कुनै मतभेद छैन । यसबीच हामीले भोगेको दु:खको निकै अग्लो पहाड खडा भएको छ ।

हामी कहाँ छौं भन्ने कुरा देश र विदेशमा समेत प्रधानमन्त्रीका बारेमा भइरहेका टीकाटिप्पणी र विरोधले देखाउँछन् । 

यतिखेर नेपाली समाजको अवस्था निकै तरल छ । भोलि के हुने हो भन्ने सन्त्रासमा नेपाली जनता छन् । लोकतन्त्र निकै अनुशासित राजनीतिक प्रणाली हो । यसले अराजकतालाई प्रोत्साहन दिँदैन । गैरजिम्मेवार अभिव्यक्ति र क्रियाकलाप यसका अंग होइनन् । तर, अहिले नेपालमा यही प्रवृत्ति मौलाएको छ । राजनीतिक दल र नेतृत्वप्रति चरम वितृष्णा छ । यस यथार्थप्रति नेतृत्व बेखबर छ वा नजरअन्दाज गरिरहेको छ । जिम्मेवार राजनीतिक दलहरूमा पर्याप्त आत्मविश्वास देखिँदैन । सरकार जनअनुमोदित छ । जनमतका दृष्टिले निकै बलियो पनि छ । देशलाई अल्पकालीन र दीर्घकालीन प्रभाव पार्ने जस्तासुकै सकारात्मक निर्णय लिन सक्ने हैसियत राख्छ । तर, सतहमा देखिएका कतिपय गैरजिम्मेवार घटनाहरूका कारण राष्ट्रको बहुमूल्य समय त्यसै खेर गइरहेको छ ।

एक प्रकारले सरकार निकै अल्मलिएको देखिन्छ । राष्ट्रप्रतिको दायित्व र कर्तव्यबोधले ओतप्रोत भएर कार्यक्षेत्रमा डट्नुपर्नेमा तपशिलका सानामसिना झञ्झटमा रुमल्लिएको प्रतीत हुन्छ । सरकारसँग अबको कार्ययोजना र बाटो के हुने भन्ने मार्गचित्रको पूर्णतया अभाव देखिन्छ । आखिर यस्तो किन त ? चित्तबुझ्दो जवाफ कसैले दिन सक्दैन । सरकार त आफ्नो कार्यसूचीअनुसार चल्नुपर्ने होइन र ? तर, सरकार स्वयं अन्यौलपूर्ण मानसिकतामा देखिन्छ र नेपालले जुन राजनीतिक सिद्धान्त एवं प्रणाली अवलम्बन गरेको छ, सोहीबमोजिम दृढतापूर्वक चल्नुपर्छ भनेर बिर्सेको पाइन्छ । सरकार चलाइरहेका पात्रको दैनिकी परम्परागत र अनुत्पादक छ । जनसरोकारका मुद्दामा गहिरो अभिरुचि देखिँदैन । जनताले सरकार परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । राज्यका उच्चपदस्थ व्यक्तिहरू आफ्नो जिम्मेवारीमा गम्भीर देखिँदैनन् । यो चालाले समाज कहाँ पुग्छ ?

यसले संसारका प्रख्यात कूटनीतिक व्यक्तित्व निकोलो मेकियाबेलीको स्मरण गराउँछ । आधुनिक राजनीतिक विज्ञानका संस्थापक मानिने मेकियाबेलीलाई उनको महान् ग्रन्थ 'द प्रिन्स'का कारण विद्वत् र सचेत जगतले राजनीतिक दार्शनिक र अब्बल कूटनीतिज्ञ मान्छ । यस सन्दर्भमा उनका कैयन् विचारलाई संसारले अनुशरण समेत गरेको छ । र, एकप्रकारले आफ्नो फाइदाका लागि राजनीतिज्ञहरूले जे गरेपनि हुन्छ भन्ने मान्यता हाम्रोजस्तो अल्पविकसित देशमा स्थापित भएको छ । उनका धेरै विचारमध्ये एउटा विचार विचित्रको छ । उनी भन्छन्- 'राजनीतिज्ञहरूले आफ्नो वास्तविक इरादालाई लुकाउनुपर्छ ।' यो सामान्य भनाइ होइन र नेपालजस्ता देशका राजनीतिज्ञहरूको वास्तविक इरादा नेपाली जनताले थाहा पनि पाउँदैनन् । भन्नलाई एकथोक भन्छन्, तर गर्छन् अर्कै भन्ने छवि बनेको छ । के अहिलेको प्रवृत्ति यही विचारबाट निर्देशित छ त ? मेकियाबेली थप्छन्- 'राजनीतिज्ञहरूले दया, विश्वास, मानवता, स्पष्टता र धर्मको विरुद्धमा काम गर्नुपर्छ । राज्य सञ्चालन प्रेम भावले होइन, क्रुरतापूर्वक गर्नुपर्छ ।' यी विचारहरू पूर्वीय सभ्यता र मानवताविरुद्ध परिलक्षित छन् । नेपालजस्ता देशले यस्तो विचार र प्रवृत्ति अनुशरण गर्नुहुँदैन । तर, यहाँ के भइरहेको छ त ? नेपालका राजनीतिज्ञहरू कुन बाटोमा हिँडेका छन् ?

हामीहरू पूर्वीय सभ्यता र वैदिक मान्यताका प्रबल पक्षधर र अनुयायी हौं । हाम्रो सिद्धान्तमा सेवा, परोपकार, अहिंसा, मानवता, दया र धर्मको प्रमुख स्थान छ । क्रुरता, हिंसा, भय, अमानवीय कर्म वा अधर्मको कुनै स्थान छैन । तर, अहिले प्रचलित हाम्रो राजनीतिका मुख्य अंग के–के हुन् त ? हामी कुन सिद्धान्त र मान्यताबाट निर्देशित छौं त ? गम्भीर प्रश्न उठेको छ । सरासर झुटो बोल्नु, जनतालाई ढाँट्नु र शक्तिको अपचलन गर्नुलाई हामी ठूलो बहादुरी ठान्छौं । राज्यको कानून व्यवस्थाको धज्जी उडाउनु र राज्य कोषको दुरुपयोग गर्नुलाई खुबी मान्छौं । हामीमा लोकलाज भन्ने कुनै तत्व छैन । निर्लज्ज भएर जथाभावी बोल्नु र कुकर्ममा दिलचस्पी राख्नु हाम्रो पहिचान बनेको छ । यसमा कसैले छेकबार लाउन नसक्नु निकै नै लज्जास्पद छ । के राज्यको शक्ति क्षीण भएको हो वा राजनीतिक नेतृत्वको नैतिक धरातल कमजोर भएको हो ? कतिपय सन्दर्भमा एकप्रकारले समाज व्यवस्था नै भताभुङ्ग र धराशायी हुने प्रकृतिका अभिव्यक्ति विद्यमान राज्य संस्थापनका कमजोर कार्यसम्पादनका परिणाम हुन् भनेर मात्र चित्त बुझाउन सकिँदैन । आत्मतुष्टि वा राजनीतिक स्वार्थका निम्ति देश र जनताको दीर्घकालीन हित र स्वार्थलाई दाउमा राख्न सकिँदैन । राजनीतिक दल र नेतृत्व जतिसुकै खराब भएपनि राजनीतिक प्रणालीको सुन्दर पक्षलाई लिलाम गर्न पनि सकिँदैन । यो सत्यलाई हामी सबैले आत्मसात गर्नुपर्दछ । हाम्रो दैनिकी पनि राज्यले नै धानिदेओस् भन्ने चिन्तन बोक्यौं भने हामी साँच्चै निकम्मा र अनुत्पादक बन्न पुग्छौं । यस्तो प्रवृत्तिलाई हामी कसैले प्रोत्साहन गर्नुहुँदैन ।

हामी कहाँ छौं भन्ने कुरा देश र विदेशमा समेत प्रधानमन्त्रीका बारेमा भइरहेका टीकाटिप्पणी र विरोधले देखाउँछन् । यसमा दुईवटा पक्ष एकसाथ जोडिएका छन् । एक, नेपालको मौजुदा शासन प्रणालीलाई समाप्त पारेर मुलुकलाई प्रतिगमनतर्फ लैजान खोज्ने गैरलोकतान्त्रिक शक्तिले टाउको उठाउन खोजिरहेको छ र त्यसकै लागि मुलुकको कार्यकारी प्रमुखमाथि नै धावा बोल्ने काम चौतर्फी रूपमा भइरहेको छ । दुई, नेपालका राजनीतिक दलको नेतृत्व साँच्चै अलोकप्रिय छ र जतासुकै जनआक्रोशको सामना गरिरहेको छ । यसमा राजनीतिक दलहरूले गम्भीर समीक्षा गर्नुपर्छ । हामीले बुझ्नुपर्छ कि राजनीतिक नेतृत्वको विकल्प छ, तर राजनीतिक व्यवस्थाको छैन ।

एउटा कुरा सत्य के हो भने हाम्रो चाल, चेहरा र चरित्रप्रति जनआक्रोश निकै नै छ । हामीले पटक्कै नयाँपन दिन सकेका छैनौं । हाम्रा जिम्मेवार व्यक्तिका क्रियाकलाप जनभावना अनुकूल छैनन् । सरकारी संयन्त्रहरू साँच्चै भ्रष्ट, निकम्मा र पङ्गु छन् । यिनीहरूबाट कसैले केही अपेक्षा नगरे पनि हुन्छ । राज्य दोहनमा सबै मस्त छन् । यसको कारण भने राजनीतिक नेतृत्व नै हो, जसले आफू निष्कलंक बसेर सम्पूर्ण राज्य संयन्त्रलाई प्रोत्साहित गर्नुपर्छ । यसको बदला सिद्धान्त र बोलीमा बाहेक कतै पनि स्वच्छता देखिँदैन । राज्यका मुख्य–मुख्य व्यक्तिहरू माथि नै दशथरि प्रश्न उठिरहेका छन् । जनताले यी सबै क्रियाकलापको सूक्ष्म मूल्यांकन गरिरहेको छ । तथापि प्रधानमन्त्रीमाथि नै सार्वजनिक हमला हुनु परिस्थितिको गम्भीर सूचक हो र यो राम्रो होइन । तर, यसले राजनीतिक नेतृत्वलाई सुध्रिनका लागि 'साइरन'वा जनाउ घण्टी बजाएको मान्ने हो भने सकारात्मक नै ठान्नु पनि पर्छ । विरोधमा उत्रने सबै लोकतन्त्रविरोधी मात्र छैनन् ।

 महाभारतमा एउटा प्रसंग छ– युद्धको सम्भावना बढ्दै गएपछि यसलाई रोक्न भगवान श्रीकृष्ण शान्तिदूतका रूपमा हस्तिनापुर दरबार पुग्छन् र राजसभामा धृतराष्ट्रसामु शान्ति प्रस्ताव राख्छन् । युद्ध रोक्न शान्ति प्रस्तावको विकल्प नभएको र यदि युद्ध भए त्यसको जवाफ स्वयं धृतराष्ट्रले दिनुपर्ने चेतावनी समेत दिन्छन् । पाण्डवका लागि इन्द्रप्रस्थ राज्य र त्यो नभए पाँच गाउँ माग्छन् । यी दुवै प्रस्ताव दुर्योधनले अस्वीकार गर्छन् । भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य, विदुर कसैको जोड चल्दैन । धृतराष्ट्र मौन बस्छन् र अन्ततः महाभारतको युद्ध भएरै छाड्छ । कौरव पक्षले सर्वस्व गुमाउँछ । यसको सम्पूर्ण दोष कृष्णले भनेझैं धृतराष्ट्रको थाप्लोमा जान्छ ।

यस प्रसंगलाई यहाँ उल्लेख किन गरिएको हो भने सुध्रिने एवं सपार्ने ठाउँ र समय अझै छ । ठूलो जनमत आफैंसँग छ । मानव जीवनलाई सत्कर्मले सार्थक बनाउने हो, दर्जा, पदवी र ऐश्वर्यले होइन । जनआवाजलाई सुनेर काम गर्ने हो भने जनविरोधी शक्ति बिलाएर जान्छ । आफ्नोपन, स्वार्थ र अहंकार नछाड्ने हो भने शक्ति फैलिएर जान्छ । अन्ततः आउने पुस्ता र इतिहासले गर्ने अनेकौं प्रश्नको जवाफ धृतराष्ट्रको रूपमा हामीले दिनुपर्नेछ । मेकियाबेली सिद्धान्त र धृतराष्ट्र पथ विनाशको बाटो हो, हामीलाई सुहाउँदैन ।

salt training

कमेन्ट गर्नुहोस्