काठमाडौं, १८ कात्तिक— वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगको शनिबार बसेको बैठकले तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जोशीको उम्मेदवारी खारेज गर्न निर्देशन दिएको हो ।
कांग्रेस नेता पौडेलले शुक्रबार जोशी विरुद्ध उजुरी दिएका थिए । सोहि उजुरीमाथि तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगबाट निर्देशन माग गरेको थियो ।
आयोगका प्रवक्ता नवराज ढकालले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी खारेज गरिएको बताए । जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
जोशीले आफू क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै आफूले टिकट पाउनुपर्ने माग गर्दै आएका थिए भने पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
भ्रष्टाचारसम्बन्धी मुद्दा भएपनि जिल्लामा राम्रो प्रभाव भएका जोशीको उम्मेदवारी खारेज भएसँगै पौडेललाई केहि राहत भएको छ ।