×

सन्दर्भ : बढ्दो जनआक्रोश

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

काठमाडाैं | असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री 

Laxmi Bank

बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्ने देखिन्छ । धेरै परिवार आफन्त गुमाएर शोक सन्तप्त छन् । तथापि केही चहलपहल भने बढेको छ । यो हाम्रो सनातन परम्परा हो । हरेक वर्ष यस महान् अवसरमा हामी एकअर्कामा शुभकामना आदानप्रदान गर्छौं र नवदुर्गासँग शान्ति, शक्ति र उत्तरोत्तर प्रगतिको आशीर्वाद माग्छौं । हाम्रो निजी, सामाजिक र राष्ट्रिय जीवनमा सकारात्मक परिवर्तनको अपेक्षा गर्छौं । तर, आजसम्मको अनुभवले के बताउँछ भने बडादशैंपश्चात् पनि कुनै परिवर्तन हुने छैन र अहिलेको रवैया कायम रहे देशमा थप विकृति बढ्नेछ । अशान्ति, तनाव र द्वन्द्व चर्किनेछ । तसर्थ कामना गरौं, नेपाली समाजले योभन्दा बढी संकट र कहर झेल्न नपरोस्, हे दुर्गा भवानी ! हामी नेपालीलाई योभन्दा बढी दुःख नदेऊ !!


Advertisment

आजको चर्चा समसामयिक राजनीति नै हो । त्यसैले उपरोक्त विचार उद्धृत गरिएको हो । तथापि एउटा आध्यात्मिक विषयबाट बहस प्रारम्भ गर्नु उपयुक्त होला । पछिल्लो समय निकै चर्चित र व्यस्त आध्यात्मिक गुरु एक्हार्ट टोलले एउटा पुस्तक 'वर्तमानको शक्ति' मा मानव अस्तित्व र त्यसभित्रको 'मन'को विषद व्याख्या गरेका छन् । उनले भनेका छन्, हामीले आफ्नो जीवनलाई चिन्न नसक्ने र उत्सवमय एवं सार्थक बनाउन नसक्ने कारण मन हो । हामीले सामान्यतया आफूलाई मनको अधीनमा राख्छौं । मन जताजता नाच्छ, वा मनले नचाउँछ, त्यतै–त्यतै नाच्छौं र उपलब्ध समयलाई व्यर्थ फाल्छौं । जसले हामीभित्रको विचारकलाई छेउ पर्नै दिँदैन । हामीभित्रको बुद्धि र त्यसलाई सही दिशानिर्देश गर्ने विवेक सक्रिय हुनै पाउँदैन । अनि जीवन न आनन्दित, न सुखद, न त सार्थक नै हुन्छ । तसर्थ, विवेकले मनलाई बन्धक नबनाई मानवीय अस्तित्वलाई वास्तविक र अर्थपूर्ण बनाउन सकिँदैन । उनको विचार सुनेपछि एउटा निष्कर्ष स्वतः निस्कने रहेछ, 'समकालीन समाजका तनाव, विसंगति, द्वन्द्व र अपराधको स्रोत त मान्छेको मन पो रहेछ । 'त्यसैले समस्याको जडको रूपमा रहेको मनलाई कसरी काबुमा राख्ने भन्ने मूल समस्यालाई बुझ्न नसक्ने हो भने मानवीय जीवन निरर्थक हुने रहेछ । अझ समाजका अगुवा भनिएका मान्छेहरूका मन, जसलाई केवल आफ्नो क्षुद्र स्वार्थ पूरा गर्नु छ, केबल आफ्नो मनलाई शान्त बनाउनु छ, त्यही प्रमुख समस्या रहेछ । टोल भन्छन्, 'यदि सतर्कताका साथ निगरानी गरिएन भने मनले सम्पूर्ण जीवन नष्ट गरिदिन्छ । अन्तिममा भने मन आफैंले आफूलाई नष्ट गर्छ । हामीले बुझ्नुपर्छ, मानवीय जीवन नष्ट भएपछि मन नष्ट हुनुको कुनै अर्थ छैन ।


Advertisment

चर्चिलको भनाइ हाम्रो सन्दर्भमा एकदमै मेल खान्छ । यहाँ समाजका हरेक क्षेत्रमा सत्य थला परेको छ र झूटले आफ्नो साम्राज्य कायम गरेको छ । नेपाली जनता असाध्यै सोझा, इमान्दार र निर्दोष छन् । हरेक कुरामा झट्ट विश्वास गरिहाल्छन् । यसको फाइदा हरेक क्षेत्रका चलाख र छट्टु मानिसहरूले उठाउँदै आएका छन् । त्यसमध्येको प्रमुख क्षेत्र राजनीति हो । गरीब र पिछडिएका देशका राजनीतिज्ञहरू अक्सर झूटो बोल्छन्, जनता अल्मल्याउँछन् र बारम्बार फाइदा उठाउँछन् । उनीहरूबाट जनता सधैँ झुक्किन्छन् र गलत पात्रलाई राज्यको बागडोर सुम्पन्छन् । तत्कालै पछुताउँछन्, तर फेरि गुमराहमा पर्छन् । यो क्रम निरन्तर चलिरहेको छ । यसले देशको अवस्था विकराल बन्दै गएको छ । यसको मुख्य कारण समाजका अग्रणी व्यक्तिको प्रदूषित मन नै हो । उनीहरूको सुझबुझ र विवेक मनको अधीन भएर हो ।

हामीले निशंकोच भन्न सक्छौं कि यसबीचमा अपवादबाहेक जननिर्वाचित संस्था र व्यक्तिहरू पूर्ण जिम्मेवार भएनन् र जनतामा चरम निराशा पैदा भयो, जसको परिणाम वर्तमानको जनआक्रोश हो । हामी त्यस्तो राजनीतिक पाठशाला बन्यौं, जसले सामाजिक आदर्शलाई भत्काउने काम मात्र गर्‍यो ।

अब हाम्रो पछिल्लो अवस्थाका सन्दर्भमा थोरै चर्चा गरौं:

यतिबेला नेपालमा सहकारी प्रकरणले जनमानसमा निकै ठूलो बहस र तनाव सिर्जना गरेको छ । यो स्वाभाविक पनि छ । गरीब नेपाली जनताको यति ठूलो रकम अपचलनको घटना सामान्य होइन । तर, जुन प्रकारले यस प्रकरणले बहस सिर्जना गरेको छ, निकै सतही र गैरजिम्मेवार देखिन्छ । साथै, हिजोआजका हाम्रा गतिविधि निकै उदेकलाग्दा र हाँस्यास्पद छन् । सामान्य नागरिकका क्रियाकलापलाई देशको ऐन कानूनले छुन्छ र नियमन गरिहाल्छ । ऐन पनि सर्वसाधारणलाई मात्र त लाग्दै आएको छ । तर, ठूलाबडा भनिने राज्यका जिम्मेवार व्यक्तिहरू के गर्दैछन् र समाज कता जाँदैछ भन्ने कुराले राष्ट्रको जीवनमा दूरगामी महत्त्व राख्छ । जनप्रतिनिधिको रूपमा प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मका क्रियाकलापमा सार्वजनिक चासो रहन्छ । यी जनप्रतिनिधिहरूमाथि चारैप्रहर जनताको निगरानी हुन्छ । यस्तो महत्त्वपूर्ण र संवेदनशील भूमिकामा रहेका जिम्मेवार व्यक्तिहरू के गर्दैछन् त भन्ने विषयले सर्वत्र चिन्ता बढाएको छ । राज्यको उपल्लो तहमा पुगेका व्यक्तिहरू आफूमाथि लागेका आरोप सामना गर्न तयार छैनन् ।

अहिले नेपालका केही नेताहरूमाथि सहकारीको रकम अपचलनको अभियोग लागेको छ । अभियोग लाग्नु नै अपराधी प्रमाणित हुनु होइन । तर, यसलाई आरोपी व्यक्तिले निराधार प्रमाणित गर्न सक्नुपर्छ र यस मामिलामा आफू स्वच्छ रहेको विश्वास सरोकारवालालाई दिलाउन सक्नुपर्छ । सहकारीमा गरीब नेपालीको अर्बौं रकम जम्मा भएको छ । र, यो रकम अपचलन भएको देखिन्छ । जनताको सरोकार आफ्नो रकम सुरक्षित रहोस् भन्ने हो र आफ्नो रकम दुरुपयोग गर्नेमाथि कानून अनुसारको कारबाही होस् भन्ने हो । यसमा किन्तुपरन्तु भन्न कसैले पाउँदैन । यस सन्दर्भमा संसदीय छानबिन समितिको प्रतिवेदन अहिलेको लागि अन्तिम सत्य हो । मूलतः देशका प्रधानमन्त्री र गठबन्धनका मुख्य दलले देशको कानून व्यवस्थालाई बरकरार राख्न र गरीब जनताको रकम उनीहरूलाई फिर्ता गराउन दृढतापूर्वक कदम चाल्न सक्नुपर्छ । अर्को कुरा जानकारहरू भन्छन्, सहकारी प्रकरणमा बाहिर आएको अहिलेको चर्चित विषय त सानो अंश मात्र हो । यो भन्दा यसको अन्तर्यमा ठूल्ठूला घोटालाहरू लुकेका छन् । नेपाली नागरिकको अर्बौं रुपैयाँ अपचलन भएको छ । त्यसको छानबिन कसले गर्ने ? के नेपालमा सरकार मात्र छ, राज्य छैन ? त्यसो भए गरीब नेपालीको अभिभावक को त ? कसले सुनिदिने गरीब नेपालीको पुकार ?

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनायताका झण्डै एक दशकका गतिविधिहरू के कस्ता देखिए र राजनीतिक दलका प्राथमिकता तथा चासो कहाँ–कहाँ केन्द्रित भए भन्ने कुरा मुख्य हो । हामीले निशंकोच भन्न सक्छौं कि यसबीचमा अपवादबाहेक जननिर्वाचित संस्था र व्यक्तिहरू पूर्ण जिम्मेवार भएनन् र जनतामा चरम निराशा पैदा भयो, जसको परिणाम वर्तमानको जनआक्रोश हो । हामी त्यस्तो राजनीतिक पाठशाला बन्यौं, जसले सामाजिक आदर्शलाई भत्काउने काम मात्र गर्‍यो । पुराना मानकहरू अब काम नलाग्ने कोरा सैद्धान्तिक विषय मात्र बने । राजनीतिक मान्यताहरू फगत देखाउने दाँत मात्र सावित भए । राम्रो भनिएको वा सिद्ध भएको राजनीतिक प्रणालीले समेत काम गर्नै नसक्ने भयो । यसका प्रमुख कारक हामी नै बन्यौं । यसले एउटा डरलाग्दो भविष्यलाई संकेत गर्दछ ।

अर्को कुरा प्रजातन्त्र वा लोकतन्त्रको नाममा निर्बाध उपयोग भइरहेको राजनीतिक स्वतन्त्रता भनेको स्वच्छन्द अभिव्यक्ति र क्रियाकलाप अर्थात् अराजक गतिविधि होइन । लोकतन्त्र साँच्चै अनुशासित शासन प्रणाली हो । यसका सञ्चालकहरूले आफू पनि अनुशासनमा बस्ने र अरूलाई पनि अनुशासित बनाउने जिम्मेवारी पूरा गर्नुपर्छ । तर, आज नेपाली समाज अराजकताको बाटोमा छ, जो सबैभन्दा बढी अराजक छ, उसैको हाइहाइ छ । यो राज्यविहीनताको परिणाम हो । आजको दुनियाँमा यस्तो कतैपनि चल्दैन र चल्नु पनि हुँदैन । तर, यसका सूत्राधार भने हामी नै हौं । हाम्रो आजसम्मको कर्म र व्यवहारले हामीलाई निकै रक्षात्मक बनाएको छ । त्यसैले हामी अराजकताको विरोध गर्न नसक्ने भएका छौं । त्यसो भए हामी सुध्रने कि नसुध्रने ? आजको ज्वलन्त प्रश्न यही हो । हामीले कमजोरी गरेकाले नै आज प्रश्न उठाउने ठाउँ बनेको हो । लोकतन्त्रमा 'जसको शक्ति, उसैको मनपरि' चल्नु हुँदैन । सार्वजनिक पद मनपरि गर्ने र बोल्ने लाइसेन्स बन्नुहुँदैन । तर, आज यस्तो जात्रा जारी छ ।

 आज राम्रो कुरा त गर्नै नहुने भएको छ । समाजका क्रियाशील संस्था हुन् या राजनीतिक दल वा निजामती सेवा, राष्ट्र सेवा होस् वा समाजसेवा, सबै क्षेत्र प्रदूषित छन् । हामी कोही पनि सुधारको बाटोमा छैनौं । हामी कोही पनि आफ्नो अनुहार हेर्दैनौं । जतासुकै अन्धकार देखिन्छ । आशाको सानो धिपधिपे प्रकाश देखिँदैन । आफ्ना भयानक गल्ती ढाकछोप गर्ने र अरूका कमजोरी खोतल्ने हाम्रो प्रमुख यत्न छ । आफ्नो अनुहारमा ध्वाँसो पोतिएको थाहा छैन, अरूको अनुहारको कालो कोठी मात्र देख्छौं । यसको कारण हामीले बढाएको अनुशासनहीनता र अपसंस्कृति हो । समाजमा सकारात्मक चिन्तन निस्तेज हुन थालेको धेरै भयो । असल कर्म र व्यवहार उपेक्षित एवं अपमानित भएको त कति भयो कति । यहाँ अपवादबाहेक कतिपय सत्पात्रहरू जीवित हुँदा अपमानजनक रूपमा दुत्कारिन्छन्, उपहास र तिरस्कारका विम्ब बनाइन्छन् । मृत्युपश्चात् उनीहरूको ठूलो महिमा गाइन्छ र सर्वत्र जयजयकार गरिन्छ । खासगरी नेपालजस्ता पछौटे मुलुकहरूमा इमान, त्याग र क्षमता सदैव अपहेलित हुन्छ । छलछाम, गुलामी र अपात्रता पुरस्कृत हुन्छ । यो क्रम सुकरातदेखि भीम मल्ल हुँदै आजपर्यन्त जारी छ । राजनीतिक दलभित्र यसको मात्रा निकै सघन छ ।

प्रारम्भमा मगध राज्यमा चाणक्य र उनका पिता चणक पनि दुत्कारिएका थिए । चणकलाई त मृत्युदण्ड नै दिइएको थियो । आफ्नो बहुमुखी प्रतिभा, मेहनत, लगन र बलियो संगठनका बलमा चाणक्यले मगधको अन्यायी र दुराचारी शासनको अन्त्य गरी मौर्य वंशको स्थापना गरेका हुन् । नेपालमा पनि राष्ट्र एकीकरण गर्ने शाहवंश र उनीहरूबाट शासन हत्याउने राणा दुवैको गैरजिम्मेवार र निरंकुश शासनको विरोधमा प्रजातन्त्रको बिगुल बजाइएको हो । त्यतिले मात्र नपुगेर अन्ततः लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । समयक्रममा प्रमाणित भइसकेको छ कि तन्त्र मात्र सबथोक होइन रहेछ । यसलाई कसले चलाउँछ वा यो कसको हातमा पर्छ भन्ने कुरा मुख्य रहेछ । सिद्धान्त मात्र सर्वोपरि होइन भन्ने कुरा त प्लेटोका आदर्शवादी चिन्तनको अव्यवहारिक पक्षले धेरै अघि सिद्ध गरिसकेको हो । यसलाई मार्क्सवादी स्वैरकल्पना अर्थात् 'युटोपिया'ले थप पुष्टि गरिसकेको छ । स्वैरकल्पना फगत साहित्यमा मात्र उपयुक्त हुन्छ भन्ने यथार्थलाई इतिहासले अभ्यासबाट पुष्टि गरिसकेको कुरामा थप चर्चा आवश्यक छैन । हामी इतिहासका सर्वाधिक नालायक पात्रका रूपमा अंकित हुँदैछौं ।

यतिबेला नेपालमा झूटको साम्राज्य छ । राज्य निरीह छ र नेतृत्व लाचार छ, किनभने उसको नैतिक धरातल डामाडोल छ । र, समाजमा निर्लज्जहरूको बोलावाला छ ।

हामीलाई थाहा छ, राज्यको उत्पत्तिको प्रमुख शर्त नागरिक सुरक्षा हो, नत्र राज्य स्थापना वा गठनको औचित्य नै थिएन । नागरिकले आफ्नो सुरक्षाका निम्ति समाजका अगुवाहरूलाई यस्तो अनुमति दिएका हुन् । र, यसबापत सुरक्षाको प्रत्याभूति खोजेका हुन् । साथै, राज्य सञ्चालनका निम्ति चुनिएका व्यक्तिहरूलाई आफ्नो गाँस काटेर कर बुझाएका हुन् । नेपाल लगायत कतिपय मुलुकमा यस सिद्धान्तको पालना भएको पाइँदैन । यसमा जनताको दोष छैन । उनीहरूले त राज्यका सबै शर्त मानेका छन् । समस्या त शासकहरूको बेइमानीको हो । यस मामिलामा नेपाल विश्वकै अग्रणी मानिन्छ ।

नेपाली जनताले राजनीतिक बेइमानीका नयाँ–नयाँ संस्करणहरू बेहोरिसकेका छन् । यसमध्येको पछिल्लो संस्करण मात्र हो, सहकारी संस्करण । यसको सिलसिला लामो छ । तर, यो विषय फेरि गोलमटोल हुन लागेको देखिन्छ । र, आज नेपाली जनता यो मामिलाले कसरी निकास पाउँछ भनेर गम्भीरतापूर्वक नियालिरहेका छन् । जनताका घरमा रुवाबासी हुँदा सरकार के गर्दैछ वा सरकारले के गर्ला भन्ने गम्भीर सरोकार छ । एउटा कुरा स्पष्ट हो, सरकारले कसैमाथि पूर्वाग्रह राख्नुहुँदैन । राजनीतिक विचार र आस्था वा दलीय सम्बद्धता हेरेर कारबाही प्रक्रिया अघि बढ्ने वा प्रभावित हुने हुनुहुँदैन ।

दोषी वा निष्पक्ष अनुसन्धानले प्रमाणित गरेका व्यक्तिहरूले उन्मुक्ति पाउनु हुँदैन । यसमा आफ्नो र अर्को छुट्ट्याउनु हुँदैन । अर्को कुरा व्यक्तिबाट जानेर वा नजानेर गल्ती हुनसक्छ । असल व्यक्तिले यस्ता गल्ती सहर्ष स्वीकार गर्नुपर्छ र दण्ड सहनका लागि तयार हुनुपर्छ । नत्र कसैसँग पनि अरूलाई उपदेश दिने अधिकार रहँदैन ।

चर्चिल औसत राजनीतिज्ञ होइनन्, न त एक पूर्व प्रधानमन्त्री मात्र हुन् । साँच्चै भन्ने हो भने उनी एक असामान्य राजनेता हुन् । त्यसो भएरै उनले सन् १९५३ मा साहित्यतर्फ नोबेल पुरस्कार समेत पाएका हुन् । उनको उपरोक्त कथनले नेपालको समसामयिक राजनीतिको यथार्थ चित्रण गर्दछ । यतिबेला नेपालमा झूटको साम्राज्य छ । राज्य निरीह छ र नेतृत्व लाचार छ, किनभने उसको नैतिक धरातल डामाडोल छ । र, समाजमा निर्लज्जहरूको बोलावाला छ ।

हाम्रो यथार्थ जेसुकै भएपनि राम्रो होस् भन्ने कामना गरौं, बडादशैंको धेरै–धेरै शुभकामना !!

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x