२९ जेठ २०८३, शुक्रबार
सन्दर्भ : बढ्दो जनआक्रोश

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१
काठमाडौं
बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री 

बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्ने देखिन्छ । धेरै परिवार आफन्त गुमाएर शोक सन्तप्त छन् । तथापि केही चहलपहल भने बढेको छ । यो हाम्रो सनातन परम्परा हो । हरेक वर्ष यस महान् अवसरमा हामी एकअर्कामा शुभकामना आदानप्रदान गर्छौं र नवदुर्गासँग शान्ति, शक्ति र उत्तरोत्तर प्रगतिको आशीर्वाद माग्छौं । हाम्रो निजी, सामाजिक र राष्ट्रिय जीवनमा सकारात्मक परिवर्तनको अपेक्षा गर्छौं । तर, आजसम्मको अनुभवले के बताउँछ भने बडादशैंपश्चात् पनि कुनै परिवर्तन हुने छैन र अहिलेको रवैया कायम रहे देशमा थप विकृति बढ्नेछ । अशान्ति, तनाव र द्वन्द्व चर्किनेछ । तसर्थ कामना गरौं, नेपाली समाजले योभन्दा बढी संकट र कहर झेल्न नपरोस्, हे दुर्गा भवानी ! हामी नेपालीलाई योभन्दा बढी दुःख नदेऊ !!

आजको चर्चा समसामयिक राजनीति नै हो । त्यसैले उपरोक्त विचार उद्धृत गरिएको हो । तथापि एउटा आध्यात्मिक विषयबाट बहस प्रारम्भ गर्नु उपयुक्त होला । पछिल्लो समय निकै चर्चित र व्यस्त आध्यात्मिक गुरु एक्हार्ट टोलले एउटा पुस्तक 'वर्तमानको शक्ति' मा मानव अस्तित्व र त्यसभित्रको 'मन'को विषद व्याख्या गरेका छन् । उनले भनेका छन्, हामीले आफ्नो जीवनलाई चिन्न नसक्ने र उत्सवमय एवं सार्थक बनाउन नसक्ने कारण मन हो । हामीले सामान्यतया आफूलाई मनको अधीनमा राख्छौं । मन जताजता नाच्छ, वा मनले नचाउँछ, त्यतै–त्यतै नाच्छौं र उपलब्ध समयलाई व्यर्थ फाल्छौं । जसले हामीभित्रको विचारकलाई छेउ पर्नै दिँदैन । हामीभित्रको बुद्धि र त्यसलाई सही दिशानिर्देश गर्ने विवेक सक्रिय हुनै पाउँदैन । अनि जीवन न आनन्दित, न सुखद, न त सार्थक नै हुन्छ । तसर्थ, विवेकले मनलाई बन्धक नबनाई मानवीय अस्तित्वलाई वास्तविक र अर्थपूर्ण बनाउन सकिँदैन । उनको विचार सुनेपछि एउटा निष्कर्ष स्वतः निस्कने रहेछ, 'समकालीन समाजका तनाव, विसंगति, द्वन्द्व र अपराधको स्रोत त मान्छेको मन पो रहेछ । 'त्यसैले समस्याको जडको रूपमा रहेको मनलाई कसरी काबुमा राख्ने भन्ने मूल समस्यालाई बुझ्न नसक्ने हो भने मानवीय जीवन निरर्थक हुने रहेछ । अझ समाजका अगुवा भनिएका मान्छेहरूका मन, जसलाई केवल आफ्नो क्षुद्र स्वार्थ पूरा गर्नु छ, केबल आफ्नो मनलाई शान्त बनाउनु छ, त्यही प्रमुख समस्या रहेछ । टोल भन्छन्, 'यदि सतर्कताका साथ निगरानी गरिएन भने मनले सम्पूर्ण जीवन नष्ट गरिदिन्छ । अन्तिममा भने मन आफैंले आफूलाई नष्ट गर्छ । हामीले बुझ्नुपर्छ, मानवीय जीवन नष्ट भएपछि मन नष्ट हुनुको कुनै अर्थ छैन ।

चर्चिलको भनाइ हाम्रो सन्दर्भमा एकदमै मेल खान्छ । यहाँ समाजका हरेक क्षेत्रमा सत्य थला परेको छ र झूटले आफ्नो साम्राज्य कायम गरेको छ । नेपाली जनता असाध्यै सोझा, इमान्दार र निर्दोष छन् । हरेक कुरामा झट्ट विश्वास गरिहाल्छन् । यसको फाइदा हरेक क्षेत्रका चलाख र छट्टु मानिसहरूले उठाउँदै आएका छन् । त्यसमध्येको प्रमुख क्षेत्र राजनीति हो । गरीब र पिछडिएका देशका राजनीतिज्ञहरू अक्सर झूटो बोल्छन्, जनता अल्मल्याउँछन् र बारम्बार फाइदा उठाउँछन् । उनीहरूबाट जनता सधैँ झुक्किन्छन् र गलत पात्रलाई राज्यको बागडोर सुम्पन्छन् । तत्कालै पछुताउँछन्, तर फेरि गुमराहमा पर्छन् । यो क्रम निरन्तर चलिरहेको छ । यसले देशको अवस्था विकराल बन्दै गएको छ । यसको मुख्य कारण समाजका अग्रणी व्यक्तिको प्रदूषित मन नै हो । उनीहरूको सुझबुझ र विवेक मनको अधीन भएर हो ।

हामीले निशंकोच भन्न सक्छौं कि यसबीचमा अपवादबाहेक जननिर्वाचित संस्था र व्यक्तिहरू पूर्ण जिम्मेवार भएनन् र जनतामा चरम निराशा पैदा भयो, जसको परिणाम वर्तमानको जनआक्रोश हो । हामी त्यस्तो राजनीतिक पाठशाला बन्यौं, जसले सामाजिक आदर्शलाई भत्काउने काम मात्र गर्‍यो ।

अब हाम्रो पछिल्लो अवस्थाका सन्दर्भमा थोरै चर्चा गरौं:

यतिबेला नेपालमा सहकारी प्रकरणले जनमानसमा निकै ठूलो बहस र तनाव सिर्जना गरेको छ । यो स्वाभाविक पनि छ । गरीब नेपाली जनताको यति ठूलो रकम अपचलनको घटना सामान्य होइन । तर, जुन प्रकारले यस प्रकरणले बहस सिर्जना गरेको छ, निकै सतही र गैरजिम्मेवार देखिन्छ । साथै, हिजोआजका हाम्रा गतिविधि निकै उदेकलाग्दा र हाँस्यास्पद छन् । सामान्य नागरिकका क्रियाकलापलाई देशको ऐन कानूनले छुन्छ र नियमन गरिहाल्छ । ऐन पनि सर्वसाधारणलाई मात्र त लाग्दै आएको छ । तर, ठूलाबडा भनिने राज्यका जिम्मेवार व्यक्तिहरू के गर्दैछन् र समाज कता जाँदैछ भन्ने कुराले राष्ट्रको जीवनमा दूरगामी महत्त्व राख्छ । जनप्रतिनिधिको रूपमा प्रधानमन्त्रीदेखि वडा सदस्यसम्मका क्रियाकलापमा सार्वजनिक चासो रहन्छ । यी जनप्रतिनिधिहरूमाथि चारैप्रहर जनताको निगरानी हुन्छ । यस्तो महत्त्वपूर्ण र संवेदनशील भूमिकामा रहेका जिम्मेवार व्यक्तिहरू के गर्दैछन् त भन्ने विषयले सर्वत्र चिन्ता बढाएको छ । राज्यको उपल्लो तहमा पुगेका व्यक्तिहरू आफूमाथि लागेका आरोप सामना गर्न तयार छैनन् ।

अहिले नेपालका केही नेताहरूमाथि सहकारीको रकम अपचलनको अभियोग लागेको छ । अभियोग लाग्नु नै अपराधी प्रमाणित हुनु होइन । तर, यसलाई आरोपी व्यक्तिले निराधार प्रमाणित गर्न सक्नुपर्छ र यस मामिलामा आफू स्वच्छ रहेको विश्वास सरोकारवालालाई दिलाउन सक्नुपर्छ । सहकारीमा गरीब नेपालीको अर्बौं रकम जम्मा भएको छ । र, यो रकम अपचलन भएको देखिन्छ । जनताको सरोकार आफ्नो रकम सुरक्षित रहोस् भन्ने हो र आफ्नो रकम दुरुपयोग गर्नेमाथि कानून अनुसारको कारबाही होस् भन्ने हो । यसमा किन्तुपरन्तु भन्न कसैले पाउँदैन । यस सन्दर्भमा संसदीय छानबिन समितिको प्रतिवेदन अहिलेको लागि अन्तिम सत्य हो । मूलतः देशका प्रधानमन्त्री र गठबन्धनका मुख्य दलले देशको कानून व्यवस्थालाई बरकरार राख्न र गरीब जनताको रकम उनीहरूलाई फिर्ता गराउन दृढतापूर्वक कदम चाल्न सक्नुपर्छ । अर्को कुरा जानकारहरू भन्छन्, सहकारी प्रकरणमा बाहिर आएको अहिलेको चर्चित विषय त सानो अंश मात्र हो । यो भन्दा यसको अन्तर्यमा ठूल्ठूला घोटालाहरू लुकेका छन् । नेपाली नागरिकको अर्बौं रुपैयाँ अपचलन भएको छ । त्यसको छानबिन कसले गर्ने ? के नेपालमा सरकार मात्र छ, राज्य छैन ? त्यसो भए गरीब नेपालीको अभिभावक को त ? कसले सुनिदिने गरीब नेपालीको पुकार ?

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनायताका झण्डै एक दशकका गतिविधिहरू के कस्ता देखिए र राजनीतिक दलका प्राथमिकता तथा चासो कहाँ–कहाँ केन्द्रित भए भन्ने कुरा मुख्य हो । हामीले निशंकोच भन्न सक्छौं कि यसबीचमा अपवादबाहेक जननिर्वाचित संस्था र व्यक्तिहरू पूर्ण जिम्मेवार भएनन् र जनतामा चरम निराशा पैदा भयो, जसको परिणाम वर्तमानको जनआक्रोश हो । हामी त्यस्तो राजनीतिक पाठशाला बन्यौं, जसले सामाजिक आदर्शलाई भत्काउने काम मात्र गर्‍यो । पुराना मानकहरू अब काम नलाग्ने कोरा सैद्धान्तिक विषय मात्र बने । राजनीतिक मान्यताहरू फगत देखाउने दाँत मात्र सावित भए । राम्रो भनिएको वा सिद्ध भएको राजनीतिक प्रणालीले समेत काम गर्नै नसक्ने भयो । यसका प्रमुख कारक हामी नै बन्यौं । यसले एउटा डरलाग्दो भविष्यलाई संकेत गर्दछ ।

अर्को कुरा प्रजातन्त्र वा लोकतन्त्रको नाममा निर्बाध उपयोग भइरहेको राजनीतिक स्वतन्त्रता भनेको स्वच्छन्द अभिव्यक्ति र क्रियाकलाप अर्थात् अराजक गतिविधि होइन । लोकतन्त्र साँच्चै अनुशासित शासन प्रणाली हो । यसका सञ्चालकहरूले आफू पनि अनुशासनमा बस्ने र अरूलाई पनि अनुशासित बनाउने जिम्मेवारी पूरा गर्नुपर्छ । तर, आज नेपाली समाज अराजकताको बाटोमा छ, जो सबैभन्दा बढी अराजक छ, उसैको हाइहाइ छ । यो राज्यविहीनताको परिणाम हो । आजको दुनियाँमा यस्तो कतैपनि चल्दैन र चल्नु पनि हुँदैन । तर, यसका सूत्राधार भने हामी नै हौं । हाम्रो आजसम्मको कर्म र व्यवहारले हामीलाई निकै रक्षात्मक बनाएको छ । त्यसैले हामी अराजकताको विरोध गर्न नसक्ने भएका छौं । त्यसो भए हामी सुध्रने कि नसुध्रने ? आजको ज्वलन्त प्रश्न यही हो । हामीले कमजोरी गरेकाले नै आज प्रश्न उठाउने ठाउँ बनेको हो । लोकतन्त्रमा 'जसको शक्ति, उसैको मनपरि' चल्नु हुँदैन । सार्वजनिक पद मनपरि गर्ने र बोल्ने लाइसेन्स बन्नुहुँदैन । तर, आज यस्तो जात्रा जारी छ ।

 आज राम्रो कुरा त गर्नै नहुने भएको छ । समाजका क्रियाशील संस्था हुन् या राजनीतिक दल वा निजामती सेवा, राष्ट्र सेवा होस् वा समाजसेवा, सबै क्षेत्र प्रदूषित छन् । हामी कोही पनि सुधारको बाटोमा छैनौं । हामी कोही पनि आफ्नो अनुहार हेर्दैनौं । जतासुकै अन्धकार देखिन्छ । आशाको सानो धिपधिपे प्रकाश देखिँदैन । आफ्ना भयानक गल्ती ढाकछोप गर्ने र अरूका कमजोरी खोतल्ने हाम्रो प्रमुख यत्न छ । आफ्नो अनुहारमा ध्वाँसो पोतिएको थाहा छैन, अरूको अनुहारको कालो कोठी मात्र देख्छौं । यसको कारण हामीले बढाएको अनुशासनहीनता र अपसंस्कृति हो । समाजमा सकारात्मक चिन्तन निस्तेज हुन थालेको धेरै भयो । असल कर्म र व्यवहार उपेक्षित एवं अपमानित भएको त कति भयो कति । यहाँ अपवादबाहेक कतिपय सत्पात्रहरू जीवित हुँदा अपमानजनक रूपमा दुत्कारिन्छन्, उपहास र तिरस्कारका विम्ब बनाइन्छन् । मृत्युपश्चात् उनीहरूको ठूलो महिमा गाइन्छ र सर्वत्र जयजयकार गरिन्छ । खासगरी नेपालजस्ता पछौटे मुलुकहरूमा इमान, त्याग र क्षमता सदैव अपहेलित हुन्छ । छलछाम, गुलामी र अपात्रता पुरस्कृत हुन्छ । यो क्रम सुकरातदेखि भीम मल्ल हुँदै आजपर्यन्त जारी छ । राजनीतिक दलभित्र यसको मात्रा निकै सघन छ ।

प्रारम्भमा मगध राज्यमा चाणक्य र उनका पिता चणक पनि दुत्कारिएका थिए । चणकलाई त मृत्युदण्ड नै दिइएको थियो । आफ्नो बहुमुखी प्रतिभा, मेहनत, लगन र बलियो संगठनका बलमा चाणक्यले मगधको अन्यायी र दुराचारी शासनको अन्त्य गरी मौर्य वंशको स्थापना गरेका हुन् । नेपालमा पनि राष्ट्र एकीकरण गर्ने शाहवंश र उनीहरूबाट शासन हत्याउने राणा दुवैको गैरजिम्मेवार र निरंकुश शासनको विरोधमा प्रजातन्त्रको बिगुल बजाइएको हो । त्यतिले मात्र नपुगेर अन्ततः लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । समयक्रममा प्रमाणित भइसकेको छ कि तन्त्र मात्र सबथोक होइन रहेछ । यसलाई कसले चलाउँछ वा यो कसको हातमा पर्छ भन्ने कुरा मुख्य रहेछ । सिद्धान्त मात्र सर्वोपरि होइन भन्ने कुरा त प्लेटोका आदर्शवादी चिन्तनको अव्यवहारिक पक्षले धेरै अघि सिद्ध गरिसकेको हो । यसलाई मार्क्सवादी स्वैरकल्पना अर्थात् 'युटोपिया'ले थप पुष्टि गरिसकेको छ । स्वैरकल्पना फगत साहित्यमा मात्र उपयुक्त हुन्छ भन्ने यथार्थलाई इतिहासले अभ्यासबाट पुष्टि गरिसकेको कुरामा थप चर्चा आवश्यक छैन । हामी इतिहासका सर्वाधिक नालायक पात्रका रूपमा अंकित हुँदैछौं ।

यतिबेला नेपालमा झूटको साम्राज्य छ । राज्य निरीह छ र नेतृत्व लाचार छ, किनभने उसको नैतिक धरातल डामाडोल छ । र, समाजमा निर्लज्जहरूको बोलावाला छ ।

हामीलाई थाहा छ, राज्यको उत्पत्तिको प्रमुख शर्त नागरिक सुरक्षा हो, नत्र राज्य स्थापना वा गठनको औचित्य नै थिएन । नागरिकले आफ्नो सुरक्षाका निम्ति समाजका अगुवाहरूलाई यस्तो अनुमति दिएका हुन् । र, यसबापत सुरक्षाको प्रत्याभूति खोजेका हुन् । साथै, राज्य सञ्चालनका निम्ति चुनिएका व्यक्तिहरूलाई आफ्नो गाँस काटेर कर बुझाएका हुन् । नेपाल लगायत कतिपय मुलुकमा यस सिद्धान्तको पालना भएको पाइँदैन । यसमा जनताको दोष छैन । उनीहरूले त राज्यका सबै शर्त मानेका छन् । समस्या त शासकहरूको बेइमानीको हो । यस मामिलामा नेपाल विश्वकै अग्रणी मानिन्छ ।

नेपाली जनताले राजनीतिक बेइमानीका नयाँ–नयाँ संस्करणहरू बेहोरिसकेका छन् । यसमध्येको पछिल्लो संस्करण मात्र हो, सहकारी संस्करण । यसको सिलसिला लामो छ । तर, यो विषय फेरि गोलमटोल हुन लागेको देखिन्छ । र, आज नेपाली जनता यो मामिलाले कसरी निकास पाउँछ भनेर गम्भीरतापूर्वक नियालिरहेका छन् । जनताका घरमा रुवाबासी हुँदा सरकार के गर्दैछ वा सरकारले के गर्ला भन्ने गम्भीर सरोकार छ । एउटा कुरा स्पष्ट हो, सरकारले कसैमाथि पूर्वाग्रह राख्नुहुँदैन । राजनीतिक विचार र आस्था वा दलीय सम्बद्धता हेरेर कारबाही प्रक्रिया अघि बढ्ने वा प्रभावित हुने हुनुहुँदैन ।

दोषी वा निष्पक्ष अनुसन्धानले प्रमाणित गरेका व्यक्तिहरूले उन्मुक्ति पाउनु हुँदैन । यसमा आफ्नो र अर्को छुट्ट्याउनु हुँदैन । अर्को कुरा व्यक्तिबाट जानेर वा नजानेर गल्ती हुनसक्छ । असल व्यक्तिले यस्ता गल्ती सहर्ष स्वीकार गर्नुपर्छ र दण्ड सहनका लागि तयार हुनुपर्छ । नत्र कसैसँग पनि अरूलाई उपदेश दिने अधिकार रहँदैन ।

चर्चिल औसत राजनीतिज्ञ होइनन्, न त एक पूर्व प्रधानमन्त्री मात्र हुन् । साँच्चै भन्ने हो भने उनी एक असामान्य राजनेता हुन् । त्यसो भएरै उनले सन् १९५३ मा साहित्यतर्फ नोबेल पुरस्कार समेत पाएका हुन् । उनको उपरोक्त कथनले नेपालको समसामयिक राजनीतिको यथार्थ चित्रण गर्दछ । यतिबेला नेपालमा झूटको साम्राज्य छ । राज्य निरीह छ र नेतृत्व लाचार छ, किनभने उसको नैतिक धरातल डामाडोल छ । र, समाजमा निर्लज्जहरूको बोलावाला छ ।

हाम्रो यथार्थ जेसुकै भएपनि राम्रो होस् भन्ने कामना गरौं, बडादशैंको धेरै–धेरै शुभकामना !!

कमेन्ट गर्नुहोस्