३२ असार २०८३, बिहीबार

दशैंको मुखमा डीडीसीले दुग्ध किसानलाई दियो अघिल्लो वर्षको भुक्तानी, अझै ५ महिनाको बाँकी

असोज २२, २०८१
विराटनगर
दशैंको मुखमा डीडीसीले दुग्ध किसानलाई दियो अघिल्लो वर्षको भुक्तानी, अझै ५ महिनाको बाँकी

दुग्ध संस्थानको विराटनगर आयोजनाले किसानहरूलाई १७ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको छ । दशैंको मुखमा संस्थानले किसानलाई अघिल्लो वर्षको बक्यौता भुक्तानी दिएको हो  । 

गत वर्षको मंसिर महिनादेखि किसानबाट किनेको दूधको भुक्तानी अहिलेसम्म हुन सकेको थिएन ।

डीडीसीले नेपाल सरकारबाट शर्तसहित ६० करोड रुपैयाँ प्राप्त गरेपछि विराटनगर आयोजनाले १६ करोड ८ लाख रुपैयाँ पाएको थियो ।

उक्त रकममा आयोजनाले आन्तरिक स्रोतबाट प्राप्त गरेको १ करोड रुपैयाँसमेत थपेर किसानहरूलाई चैत महिनासम्मको १७ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको डीडीसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर थापा मगरले जानकारी दिए ।

अझै असोजबाहेक ५ महिनाको १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी रहेको थापा बताए । बाँकी रकम भुक्तानीका लागि केही समय पर्खनुपर्ने उनको भनाइ छ । 

विराटनगर आयोजनाले अहिले दैनिक सरदर १३ हजार लिटर दूध संकलन गर्दै आएको छ ।

इलाम, झापा, धनकुटा, तेह्रथुमबाट आफ्नै संकलन केन्द्रले संकलन गरेको र मोरङ, सुनसरी, उदयपुर तथा सप्तरीबाट सहकारी संस्थाहरूले संकलन गरेको दूध आयोजनाले खरिद गरिरहेको छ । 

बजारमा बिक्री नभई बढी भएको दूधलाई पाउडर बनाएर स्टकमा राख्ने गरेका कारण ठूलो परिमाणमा पाउडर दूध र बटर मौज्दात रहँदा चालू पूँजीको अभाव हुने गरेको छ ।

सोही कारण किसानलाई नियमित भुक्तानी दिन नसकिएको आयोजनाको दाबी छ । आयोजनाका अनुसार विराटनगरमा अहिले ८२ हजार किलो पाउडर दूध र ९६ हजार किलो मक्खन स्टकमा छ । 

डीडीसीले दैनिक सरदर २५ सय लिटर दूध बिक्री गर्ने गरेको छ भने करिब ६ सय लिटर दही तथा ६० किलोजति पनिर बिक्री गरिरहेको छ ।

चाडबाडको समयमा दूधजन्य उत्पादनको मूल्य घटाएका कारण तुलनात्मकरूपमा बिक्री बढेको थापाले जानकारी दिए । 

विपतले दुग्ध संकलन रोकियो

भारी वर्षाका कारण मेची राजमार्गस्थित इलामको माइखोलानजिक राजदुवाली सडक खण्ड क्षतिग्रस्त भएका कारण दूघ संकलन प्रभावित भएको छ ।

विराटनगर दुग्ध विकास आयोजनाका २ वटा चिस्यान केन्द्रबाट एक सातादेखि दूध ढुवानी हुन सकेको छैन । ढुवानी रोकिएपछि ती चिस्यान केन्द्रअन्तर्गतका संकलन केन्द्र र सहकारी संस्थाले किसानबाट दूध लिन बन्द गरेका छन् । 

इलामको शान्तिडाँडा र बिब्ल्याँटे चिस्यान केन्द्रबाट हुने दूध ढुवानी पूर्णरूपमा बन्द भएको हो । विराटनगरसम्म दूधको ट्यांकर जानसक्ने अवस्था नहुँदा चिस्यान केन्द्रले दूध संकलन बन्द गरेको आयोजनाले जनाएको छ ।

निमित्त प्रमुख थापा मगरले ती २ चिस्यान केन्द्रबाट दैनिक २ हजार ५०० लिटरभन्दा बढी दूध संकलन हुने गरेको जानकारी दिए ।

‘शान्तिडाँडाबाट दैनिक करिब १५०० र बिब्ल्याँटेबाट दैनिक १ हजारदेखि १२ सय लिटरसम्म दूध संकलन हुने गरेको थियो, तर अहिले बाटो बिग्रिएका कारण त्यहाँसम्म ट्यांकर पुग्नसक्ने अवस्था छैन, जसले गर्दा किसानबाट दूध संकलन बन्द गरिएको छ’ उनले भने ।

पहिरोले बगाएपछि मर्मत गरिँदै गरेको राजमार्गमा माथिपट्टि धाँजा फाटेर जोखिम बढेपछि शनिबार साँझदेखि मर्मतको कामसमेत रोकिएको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत कार्य अगाडि बढाइने जनाएका छन् । 

दशैंको मुखमा किसानहरूले दूध बिक्री गर्न नपाउँदा उत्पादन भएको दूध खेर जाने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्