
एशियाली विकास बैंक (एडीबी)ले नेपालसहित दक्षिण एसियाका अधिकांश देशको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ ।
एडीबीले हालै सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) जुलाई २०२६ अनुसार नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, आर्मेनिया र टर्कीको वृद्धिदरको अनुमान ऊर्जा मूल्य वृद्धिको निरन्तर प्रभावका कारण प्रक्षेपण घटाइएको हो ।
एडीबीले विकासशील एशिया–प्रशान्त क्षेत्रको समग्र आर्थिक वृद्धिदर सन् २०२६ मा ४.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन सन् २०२५ को ५.५ प्रतिशतभन्दा कम हो । यो अप्रिलमा गरिएको अनुमानभन्दा पनि ०.२ प्रतिशत बिन्दुले कम हो ।
प्रतिवेदनमा मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा बजारमा आएको अवरोध अपेक्षाभन्दा बढी गम्भीर बनेको उल्लेख गरिएको छ । त्यसको प्रभाव ऊर्जा मात्र नभई मल, अन्य वस्तुको मूल्य र आपूर्ति शृंखलामा समेत परेको एडीबीको निष्कर्ष छ ।
क्षेत्रीय मुद्रास्फीति सन् २०२६ मा ४.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन सन् २०२५ को ३ प्रतिशतभन्दा धेरै हो । सन् २०२७ का लागि भने मुद्रास्फीतिको अनुमान ३.४ प्रतिशतमै कायम राखिएको छ ।
एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले मध्यपूर्व द्वन्द्वका कारण उत्पन्न चुनौतीबीच आर्थिक वृद्धिलाई कायम राख्दै मुद्रास्फीति नियन्त्रण गर्नु नीति निर्माताका लागि ठूलो चुनौती बनेको बताएका छन् ।
एडीबीले द्वन्द्व थप चर्किए ऊर्जा बजारमा थप दबाब पर्ने, सरकारी ऋणको लागत बढ्ने, व्यापारिक अनिश्चितता बढ्ने तथा कृषि उत्पादन र खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्ने चेतावनी दिएको छ ।