
काठमाडौं, १९ कात्तिक — उत्तर कोरियाविरुद्ध युद्ध हुने अवस्थामा जीत हासिल गर्नका लागि अमेरिकाले वस्तुस्थिति समीक्षा गरिरहेको छ । पेन्टागनले यसको आँकलन सांसदहरूसमक्ष पनि राखेको छ ।

आँकलन प्रतिवेदनमा उल्लेख गरिएअनुसार, ‘आणविक हतियार भएका स्थान पत्ता लगाउन र त्यसलाई नियन्त्रणमा लिनका लागि अमेरिकी सैनिकहरू त्यहाँ पुग्न पर्छ । प्योङयाङले जैविक तथा रासायनिक हतियार पनि प्रयोग गर्न सक्छ ।’
उत्तर कोरियामा आफ्ना सैनिक उतार्ने अमेरिकाको योजना रहेको यसबाट बुझिन्छ । डोनल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा पहिलोपटक एसियाको भ्रमण गर्न लागेको बेलामा यो खबर आएको छ । ट्रम्पको भ्रमणमा उत्तर कोरिया नै प्रमुख एजेन्डा रहनेछ ।
द वाशिङटन पोस्टको रिपोर्टअनुसार, सांसदहरूलाई पठाएको पत्रमा पेन्टागनले उत्तर कोरियाको आक्रमणलाई जवाफ फर्काउने तयारी गरिरहेको उल्लेख छ । उत्तरले कुनै गोप्य स्थानमा जमीनभन्दा निकै तल हतियारहरू लुकाएको आशंका गरिन्छ ।
उत्तरले नर्भ एजेन्ट जस्ता खतरनाक रासायनिक हतियार बनाउने क्षमता हासिल गरिसकेको बताइएको छ । तर पेन्टागनले यसको विस्तृत विवरण असुरक्षाका कारणले सार्वजनिक गरेको छैन ।
एजेन्सी