
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ । भौगोलिक विसमताका कारण यसो गर्नुपरेको हुनसक्छ, तर वास्तविक दशैं यसै दिनबाट सकिन्छ । किनकि यसै दिन नौ दिन अघि थापिएको दुर्गापूजन कार्य विसर्जन भइसकेको हुन्छ । दुर्गापूजाको परम्परा अन्य देशका हिन्दूसमाजमा पनि रहेको पाइन्छ, तर टीका र जमरा लगाएर आशीष लिने चलन भने नेपालीहरूमा मात्र सीमित छ । अन्यत्र कतै भए कि नेपाली हुनुपर्छ कि नेपाली मूलको समाज । यस अर्थमा यस पर्व विशुद्ध नेपालीहरूको मौलिक पर्व हुन पुगेको छ ।
कतिपयले यस पर्वलाई धार्मिक दृष्टिले पनि हेर्ने गरिएको पाइन्छ, तर यसको धार्मिक महत्त्व के कति छ, त्यो भने यसै भन्न सकिन्न । श्रद्धा र विश्वासको कुरा हो । केही धर्म हुन्छ भने त्यो पनि होला, तर सामाजिक महत्त्व भने निकै धेरै छ । यसले परिवारलाई जोडेको छ । समाजलाई जोडेको छ । सबैभन्दा बढी देशलाई जोडेको छ । चिनाएको छ ।
दशैं पर्वको अर्को पक्ष भनेको पशुपक्षीको बलि हो । यसो त हाम्रो यहाँ अघिपछि पनि पशुपक्षीको बलि हुने गर्दछ, तर दशैं पर्वमा अलि बढी नै हुने गरेको पाइन्छ । सरकारले समेत राँगा, बोका गरी १०८ वटा पशुको बलि दिएर दशैं पर्वमा सहभागिता जनाउने गर्दै आएको छ । राजामहाराजाको पालादेखि चलेको परम्परालाई गणतान्त्रिक सरकारले पनि निरन्तरता दिँदै आएको छ । यसमा भने पुनर्विचार गर्नुपर्ने देखिन्छ ।
यसै विषयलाई लिएर केही दिनअघि सामाजिक सञ्जालमा ठूलै विवाद छेडिएको थियो । चर्काचर्की बहस नै भयो । माता भगवतीलाई पशुपक्षीको बलि दिनुपर्छ भन्ने पनि आए, दिनुहुँदैन भन्ने पनि देखिए । विवाद हुनु नराम्रो होइन, हुनुपर्छ, तर विवादपछि संवाद र सहमति पनि आवश्यक हुन्छ । अन्यथा विवाद लम्बिँदै गएर उग्ररूप लिन सक्छ, तर त्यो काम भने बाँकी नै छ । आशा गरौं, ढिलोचाँडो त्यो पनि हुनेछ ।
देवीदेवताको पूजा गर्दा बलि दिनुपर्ने शास्त्रीय प्रावधानकै कुरा हो, तर त्यो बलि भनेको के हो पहिले प्रस्ट हुनु जरुरी हुन्छ । बलि भनेको समर्पण हो । आफूलाई समर्पण, आफूभित्रकोलाई समर्पण, स्वत्वको समर्पण ।
बलिराजाले सर्वस्व समर्पण गर्दा पनि बन्धन खुलेको थिएन, जब आफैंलाई समर्पण गरे, स्वत्वलाई समर्पण गरे, तब बन्धनमात्र खुलेन भुक्ति र मुक्तिको अधिकारीसमेत भए भन्ने मत पनि छ । बलि भनेको वनस्पति हो, जसमा कुभिण्डो, उखु, काँक्रो, मूला, वेल, नरिवल, पायस, लावा, दहीअक्षता, दालचामल पर्छ भन्ने मत पनि छ । बलि भनेको पशुपक्षीको हो भन्ने मत पनि छ । नेपाली समाजमा परापूर्व कालदेखि यी सबै चल्दै आएका पनि छन् ।
तर, यसो भनिरहँदा के बिर्सन सकिन्न भने शास्त्र अनेक छन्, जुन न एकै समयमा लेखिएका हुन्, न एउटै व्यक्तिद्वारा लेखिएका हुन् । अपितु विभिन्न समयमा विभिन्न व्यक्ति तथा विद्वानद्वारा लेखिएका हुन् । यस्तो अवस्थामा विचार र अभिमतमा भिन्नता देखिनु अस्वाभाविक होइन, तर हामीलाई अनेकता होइन, एकता चाहिएको छ । होइन भने विचार बाँडिन्छ, समाज बाँडिन सक्छ । त्यसैले पनि व्यापक संवाद गरी सहकार्य र समन्वयको खोजी हुनैपर्छ ।
भागवतमा व्यासजीले वैदिक, मिश्र र तान्त्रिक गरी पूजा तीन किसिमको हुन्छ भनेका छन् । यसलाई सात्विक, राजसिक र तामसिक भन्न पनि सकिन्छ । वैदिक पूजा विशुद्ध सात्विक हुन्छ । यहाँ हिंसा र काटमारको स्थान रहन्न । हुन त वेदमै अश्वमेध यज्ञको कुरा आएकाले वैदिक पूजामा पनि हिंसा हुन्छ भन्ने अभिमत पनि नभएको होइन, तर वेदमा आएको अश्वमेध यज्ञ घोडा मार्ने अर्थमा होइन, अपितु घोडालाई संस्कार गरेर छाड्ने अर्थमा हो । अश्वमेध भन्नेबित्तिकै घोडा मार्ने अर्थमा लिने हो भने अनर्थ हुन्छ । किनकि वेदमा पितृमेध यज्ञको कुरा पनि आएको छ । गोमेध यज्ञको कुरा पनि आएको छ । के वेदले त्यस्तो पापलाई विहित गरेको होला ? पक्कै होइन । यो त लक्षणा र व्यञ्जना बोधी कुरा हो । शुक्लयजुर्वेदीय बृहदारण्यक उपनिषद् र शतपथ ब्राह्मणमा यसको सम्यक विवेचन भेटिन्छ ।
मिश्रपूजा भनेको राजसिक पूजा हो । यसमा भने हिंसा हुन सक्छ, तर त्यो हिंसाकै लागि नभएर अहिंसाको अर्थमा हो । महाभारतमा जति हिंसा कहीँ भएको छैन । स्वयं कृष्णले नै हिंसामा उक्साएका छन् । जबकि उनी स्वयं धर्मका मूर्ति थिए । धर्मस्थापनका लागि आएका थिए । तर, त्यहाँ विशुद्ध हिंसाका लागि हिंसा भएको थिएन । अपितु अहिंसाका लागि हिंसा भएको थियो । अहिंसामा पुर्याउनका लागि हिंंसा भएको थियो । जहाँ बिगार्नका लागि बिगारिएको हुन्छ, त्यहाँ हिंसा हुन्छ । हिंसा भएपछि पाप हुने नै भयो, तर जहाँ बनाउनका लागि बिगारिएको हुन्छ, त्यहाँ अहिंसा हुन्छ । अहिंसाभन्दा ठूलो धर्म अर्को छैन ।
हुन त देवीको स्थानमा काटिने पशु स्वर्गमा जान्छन्, त्यसैले यो धर्म हो भन्ने अभिमत पनि नभेटिने होइन, तर यसो भनिरहँदा अर्को के पनि बिर्सन हुन्न भने बलिवेदीमा काटिएका पशुले मुक्ति पाए पनि बलि दिनेले पाप त बोक्नैपर्ने होला । किनकि अमूक कामनापूर्ति हेतु निर्दोष प्राणीको हत्या गरिएको छ ।
अब आयो तान्त्रिक पूजाको कुरो । यसमा भने हिंसालाई वैध मानिएको छ । यहाँ मारण, मोहन, उच्चाटन, विद्रावण सबै हुन्छ, तर यसमा अलिकति मात्र तलबितल पर्यो भने पनि यजमानलाई नै घात गर्छ । त्वष्टा प्रजापतिले इन्द्रलाई मार्ने छोरो पाउन यज्ञ गरेका थिए तर, नतिजा इन्द्रले मार्ने छोरो जन्मियो । किनकि त्यहाँ त्यस्तै केही तलमाथि परेको थियो । दुर्वासा ऋषिले अम्बरीषलाई मार्ने कृत्या उत्पन्न गरेका थिए । यहाँ पनि यस्तै तलबितल परेकाले झण्डै दुर्वासा नै सकिएका थिए । त्यस्तै, रावणले रामलाई मार्न यज्ञ गरेको थियो तर, यहाँ पनि यस्तै भएकाले उल्टै रामको हातबाट ऊ मारियो । यी केही उदाहरण हुन् । तान्त्रिक पूजाको अवस्था जहाँ पनि यस्तै हुन सक्छ । त्यसैले पनि यसतर्फको चिन्तन अत्यावश्यक हुन पुगेको हो ।
जे होस्, रोग, भोक, शोकजन्य तमाम आसुरी शक्तिमाथि विजय पाउने उद्देश्यले हामीले नौ दिनसम्म माता भगवतीको उपासना गरी दशैं पर्व मनायौं । आशा गरौं, हामीलाई भगवतीबाट त्यस्तै किसिमको मार्गदर्शन प्राप्त हुनेछ । विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।