२३ जेठ २०८३, शनिबार

नेपालगञ्जको दशहरा मेलामा रावण बध गरिँदै

असोज २६, २०८१
बाँके
नेपालगञ्जको दशहरा मेलामा रावण बध गरिँदै

बाँकेस्थित नेपालगञ्जको रामलीला मैदानमा विजया दशमीको घटनास्थापनादेखि शुरू भएको रामलीला महोत्सवको आज (शनिवार) १०औँ दिन रावण बध गर्न लागिएको छ ।   

रामलीला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिँदैछ । यस वर्ष आयोजना गरिएको १५७औँ रामलीला महामहोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए । 

आज साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गर्ने छन् । 

आइतवार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलीला सकिनेछ । रामलीला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामिण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरू आउने गर्दछन् । दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलसमेत राखिएका छन् ।

महोत्सव आसपासका सडकहरू झिलीमिली पारिएको छ भने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।  

वर्षौँदेखि आयोजना हुँदै आएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले बताए । –रासस 

salt training

कमेन्ट गर्नुहोस्