
सातो जाने रातो ढुंगा देखेर गोपाल छक्क पर्यो । त्यहाँको व्यवस्थापन र अर्थोपार्जनको तरिका त्यस्तै आश्चर्यजनक। पुत्र तथा पुत्रबधुको सौजन्यमा अवलोकन भ्रमण जुरेको थियो । साथमा थिए पुत्रबधुको पितामाता सम्धीसम्धिनी । उतैको नागरिक, उतैको रस्तीबस्ती । उनीहरूलाई त खासै आश्चर्य लागेन होला तर, गोपाल थियो अर्कैै गोलार्धको प्राणी । जता हेरे पनि नौलो, जता फर्के पनि आश्चर्यजनक । सात समुद्रपारिको मुलुक, सबैको सपनाको मुलुक, विश्व खाएको मुलुक, विश्व हल्लाएको मुलुक ।
जता हेरे पनि आश्चर्य, जता फर्के पनि ताजुब । त्यसमा पनि प्रकृतिको दरबार परिसरमा आफैं सजिएको गगनचुम्बी रातो ढुंगा आश्चर्य लाग्ने नै भयो ।
बाला दिनमा हजुरआमाहरूबाट सुनेको थियो पाताल भनेको राजा बलिको मुलुक हो । अलि ठूलो भएपछि आफैंले पनि पढेको थियो पाताल भनेको राजा बलिको मुलुक हो, भगवान् राजा बलिको दरबारमा द्वारपाल बनेर बसेका मुलुक हो तर, यो त दुनियाँलाई कजाएर, प्रवासीलाई भजाएर र प्रदेशीलाई रजाएर बलियाले राज गर्ने मुलुक रहेछ ।
धनको बलियो, मनको बलियो, बमको बलियो, बारुदको बलियो, विकासको बलियो, विनाशको बलियो । जे हेरे पनि नयाँ, जे देखे पनि नयाँ, जता फर्के पनि नयाँ, नयाँ पनि यति नयाँ कि आश्चर्यजनक नयाँ, नयाँलाई नै पछि पार्ने नयाँ । चक्रपथलाई मुलुककै ठूलो सडक देखेको र असन–इन्द्रचोकको गल्लीमा हिँडेको बबुरोले शहरिया भित्री सडक नै चक्रपथभन्दा ठूलो देखेपछि आश्चर्य नमानेर आखिर गरोस् पनि के !
ऊ थियो ठूलो घर भनेको धनीमानीको मात्र हुन्छ, मध्यमवर्गीयले त्यस्तै घरमा र गरिब गुरुवाको झुपडीमा बस्नुपर्छ भन्ने मान्यता बोकेको ठाउँको मानिस तर, यहाँ त सबैको घरद्वार र व्यवहार उस्तै, एउटै किसिमको थियो । अनि ऊ थियो गाडी चड्ने भनेको धनीमानी र पुगिसरी आउनेले मात्र हो, अरूले त साइकल, मोटरसाइकलमै चित्त बुझाउनुपर्छ भन्ने स्थानको प्राणी तर, यहाँ त प्रत्येक घरका प्रत्येक सदस्यले अपुङ्गे काला, चिल्ला र महँङ्गो गाडीमा हुइँकिरहेका देखिन्थे । यो पनि उसका लागि आश्चर्यजनक नै भयो ।
घरभित्र ताल्चा लगाएर राखेको सामान पनि असुरक्षित रहने ठाउँको मानिसलाई महँङ्गा गाडी तथा अन्य सामान सडकमै छाड्दा पनि सुरक्षित रहेको देख्दा पनि आश्चर्य नै लाग्ने, धुवाँ, धुलो र हिलोमा खेलेको प्राणीलाई सडकमा त्यतिका सवारी साधन प्रतिघण्टा सय, सवासय किमीको गतिमा हुँईकिँदा पनि धुवाँ, धुलो र हिलोको नाकमुख देख्न नपाउँदा पनि आश्चर्य नै लाग्ने, प्रत्येक दिन सडकमा देखिने लामो सवारी जामलाई नियति मान्दै आएको मानिसलाई कतै जामको सुइँकोसम्म नपाउँदा पनि आश्चर्य नै लाग्ने, चालकले बायाँ हातलाई आफ्नो लाइन मान्ने गरेको देखेको मानिसलाई दाहिने हातलाई लाइन बनाएको देख्दा र भोग्दा पनि आश्चर्य नै लाग्ने ।
त्यस्तै छतमा सोलार राखेपछि मात्र तातोपानीको मुख देख्ने गरेको मानिसलाई बिना सोलार तातो पानीले नुहाउन पाउँदा पनि आश्चर्य नै लाग्ने, एक तलामाथि पानी लानुपर्यो भने मोटरको सहयता लिने गरेको मानिसलाई बिना मोटर तीन तलामाथि धारो खोल्नेवित्तिकै चाहेअनुसारको तातोचिसो पानी झर्ने गरेको देख्दा पनि आश्चर्य नै लाग्ने, सडकका घरैपिच्छे (कतैकतै एउटै घरमा दुई/तीन वटासम्म पनि) थापिएको किराना पसलमा किनेर खाने बानी परेको प्राणीलाई एउटै किराना पसल देख्न नपाउँदा पनि आश्चर्य नै लाग्ने, एउटै कुकुरको दिसापिसाब व्यवस्थापन गर्न नसकेर उसलाई सार्वजनिक स्थलमा डुलाउँदै हिँडेका कुकुर मालिकलाई देख्ने बानी परेकोलाई घरमा पालिएको तीन/चार वटासम्म कुकुरको दिसापिसाब मालिकले घरभित्रै व्यवस्थापन गरेको देख्दा पनि आश्चर्य नै लाग्ने ।
जेब्राक्रसिङबाट बाटो काड्दा पनि सवारी साधनको ट्यारट्यार र टुरटुर सुन्ने गरेको मानिसलाई पैदलयात्री देख्नेवित्तिकै परै रोकिने सवारी साधनलाई देख्दा पनि आश्चर्य नै लाग्ने, जति बढी सहयात्रीलाई धकेल्दै उछिन्न सकियो त्यति बढी सभ्य, शिष्ट र स्वाभिमानी मान्ने गरिएको देख्नेभोग्नेका लागि तपाईँ पहिले भन्दै सहयात्रीलाई बाटो छाड्ने गरेको देख्दा पनि आश्चर्य नै लाग्ने, जति बढी नियम मिच्न सकियो वा पाइयो त्यति नै बढी ठूलो र साहसी मान्ने गरेको समाजमा हुर्केको मानिसलाई ठूलासाना सबैले समान तरिकाले नियम पालन गरेको देख्दा पनि आश्चर्य नै लाग्ने ।
अलिकति मात्र सीमाना मिच्न पाउँदा पनि गर्व गर्ने समाजमा हुर्केको मानिसाई जतिसुकै ठूलो ओहोदाधारी भए पनि एकै इञ्चसम्म कसैले तलमाथि गर्ने नगरेको देख्दा पनि आश्चर्य नै लाग्ने, घुस, भ्रष्टाचार र अनिमिततालाई आयस्रोतको प्रमुख माध्यम बनाउने र त्यसैको आडमा धाक, धक्कु र बढप्पन देखाउँदै हिँड्नेहरूलाई देख्दै आएको प्राणीलाई तोकिएको पारिश्रमिकमै गर्व गर्ने मानिस देख्दा पनि आश्चर्य नै लाग्ने, जति बढी कर र भ्याट छल्न सकियो त्यति बढी भाग्यमानी ठान्ने समाजमा हुर्केको मानिसलाई कमाइको ४५ प्रतिशतसम्म कर तिर्ने र जति बढी कर तिर्न सकियो त्यति बढी खुशी हुने मानिस देख्दा पनि आश्चर्य नै लाग्ने ।
यसरी आफूले देखे/भोगेको भन्दा सबै विपरीत देखेपछि गोपाल यसै पनि आश्चर्यचकित थियो । त्यसमाथि यहाँको दृष्य थियो अर्कै । दायाँ बायाँ प्राचीन गोकुल शहरका यमलार्जुन वृक्षलाई माथ गर्ने अग्ला दुई रातो ढुंगा ठडिएका थिए । यसमा न समाजको लगानी थियो न सरकारको । थियो त केवल प्रकृतिको उपहार । तिनै दुई ढुंगाबीचको जमिन पृथिवीनारायण शाहको शब्दमा भन्नुपर्दा दुई ढुंगाको तरुललाई सजाएर त्यहाँको मानिसले अर्थोपार्जन गर्दै आएका थिए ।
मात्र फरक त्यहाँको तरुल मानिसको हातमा परेको थियो र सुनको टुक्रा बनेको थियो । यहाँको तरुल बाँदरको हात परेकाले उसकै हातको नरिवल बनेको थियो, बनाइएको थियो । यस्तो दृष्य देखेपछि विचरोले आश्चर्य नमानेर आखिर गरोस् पनि के !
विकासको कुरा पनि सुनेकै हो, विकास गर्न पैसा चाहिन्छ भन्ने पनि सुनेकै हो । अनि त्यो पैसा दाताले दिएपछि मात्र प्राप्त हुन्छ भन्ने पनि सुनेकै हो तर, रातो ढुंगा र त्यहाँको व्यवस्थापन देखेपछि उसलाई लाग्यो ती सबै बकबास रहेछन् । गर्न चाहने हो भने विकासका लागि धेरै केही गर्नै नपर्ने रहेछ, मात्र प्रकृतिको उपहारलाई सदुपयोग गर्न जान्ने र सक्ने हो भने पनि धेरै हुँदो रहेछ । यस्तैयस्तै सोच्दै गोपालले रातो ढुंगालाई हेर्यो, हेरिरह्यो र हेर्दाहेर्दै त्यतै हरायो ।