एक ३३ वर्षीया महिला आफ्नो जीवन समाप्त गर्ने प्रयास गर्दा चमत्कारिकरूपमा बाँच्न सफल भइन्, जसको श्रेय उनी एक रेल चालकलाई दिन्छिन्, जो पछि उनको पति बने।
तीन सन्तानकी आमा चार्लोट ले जटिल मानसिक स्वास्थ्य समस्याबाट पीडित थिइन्। सन् २०१९ को एक दिन उनलाई जीवनमा कुनै बाटो बाँकी नभएको जस्तो महसुस भयो।
त्यस बिहान इंग्ल्यान्डको योर्कशायरमा रहेको अस्पतालमा नर्सको रूपमा काम गर्न जाँदै गर्दा उनले अचानक ट्रेनको लीगमा झर्ने र त्यहीँ बसेर ट्रेनको प्रतीक्षा गर्ने 'आकस्मिक' निर्णय गरिन्।
एक ट्रेन विस्तारै आइपुग्यो र चार्लोटको अगाडि रोकियो । ट्रेनका चालक डेभ ले क्याबबाट बाहिर निस्किए र चार्लोटको अगाडि घुँडा टेकेर बसे। उनले आफ्नो नाम बताए र 'जति समय लागे पनि' उनलाई सहज महसुस नहुन्जेलसम्म कुरा गर्न प्रस्ताव गरे।
करिब आधा घण्टाको कुराकानीपछि चार्लोट ट्रेनमा चढ्न राजी भइन्। डेभले उनलाई स्किप्टन स्टेशनमा पुर्याए, अनि उनलाई प्रहरीको जिम्मा लगाए ।
डेभसँग विशेष मानसिक स्वास्थ्य तालिम थिएन। उनले मात्र ती सबै कुरा भने जुन उनले आत्महत्याका कारण गुमाएका अरू मानिसहरूसँग भन्न चाहन्थे।
त्यसको भोलिपल्ट, चार्लोटले फेसबुकमा खोजी गर्दै उनलाई सम्पर्क गरिन् र आफ्नो कठिन घडीमा उनले देखाएको दयाका लागि धन्यवाद व्यक्त गरिन्। डेभले उत्तर दिए, 'तिमीलाई बोल्न मन लागे जुनसुकै समयमा पनि म उपलब्ध छु ।'
त्यस दिनदेखि उनीहरूले दैनिक रूपमा सन्देशहरू आदान-प्रदान गर्न थाले। यो क्रम दुई महिना चल्यो र अन्ततः उनीहरूले कफीका लागि भेट्ने निर्णय गरे।
त्यसपछि उनीहरूको प्रेम कहानीले नयाँ मोड लियो: तीन वर्षपछि चार्लोट २२ हप्ताकी गर्भवती हुँदा उनीहरूले विवाह गरे।
चार्लोट भन्छिन्, 'रेल्वे ट्रयाकमा भएको कुराकानी याद गर्न सक्छु, साधारण कुराकानी थियो हाम्रो जीवनबारे, तर त्यो नै मेरो संकटलाई हल्का बनाउन पर्याप्त थियो ।'
उनले थपिन्, 'जीवन अब त्यति भारी महसुस भएन। अर्को दिन मैले मेरो जीवनमा त्यति दयालु मानिसलाई फेला पारेको ठानें । फेसबुक र उनका केही सहकर्मीहरूको सहयोगले मैले उनलाई फेला पारें। अहिले उनी मेरा पति हुन् ।'