०९ साउन २०८३, शनिबार
उपनिर्वाचनको चटारो

स्थानीय तह उपनिर्वाचन– शक्ति परीक्षणको तयारीमा दलहरू

कात्तिक २२, २०८१
काठमाडौं
स्थानीय तह उपनिर्वाचन– शक्ति परीक्षणको तयारीमा दलहरू

प्रमुख राजनीतिक दलहरू आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको तयारीमा होमिएका छन् ।

स्थानीय तह निर्वाचनपछिको आधा कार्यकाल अर्थात् साढे दुई वर्षपछि हुन लागेको उपनिर्वाचनमा आफ्नो शक्ति परीक्षण समेत हुने भएकाले दलहरू प्राथमिकतापूर्वक उपनिर्वाचनको तयारीमा होमिएका हुन् । 

मंसिर १६ गते कीर्तिपुर नगरपालिका काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ र महाबु गाउँपालिका दैलेखका प्रमुख/अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

नगरपालिकाका उपप्रमुख, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षसहित ४४ रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरू उपनिर्वाचनको तयारीमा जुटेका छन् । २०७९ को निर्वाचनपछि जनमतको मापन हुने भएकाले पनि उपनिर्वाचनलाई दलहरूले प्राथमिकतामा राखेका छन् । २०७९ को वैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तहको निर्वाचनलाई पनि प्रमुख दलहरूले केन्द्रीय स्तरमै बैठक राखेर तयारी अगाडि बढाएका हुन् । निर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । 

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि उपनिर्वाचनको तयारी अगाडि बढाइसकेको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन— २०८१ केन्द्रीय संयोजन समिति’ बनाएर कांग्रेसले उम्मेदवार सिफारिश गर्न यसअघि नै निर्देशन दिएको थियो । केही स्थानीय तहसहितबाट उम्मेदवार सिफारिश भइसकेको छ । केन्द्रीय परिपत्रमा कांग्रेसले ३ जना उम्मेदवारको नाम सिफारिश गर्न भनेको थियो । 

समितिमा महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य र प्रकाश शर्मा सदस्य छन् ।

कांग्रेस ‘स्थानीय तह उपनिर्वाचन— २०८१ केन्द्रीय संयोजन समिति’का सदस्य मधु आचार्यले स्थानीय तहमा आधा कार्यकाल सकिँदा हुन लागेको उपनिर्वाचन पार्टीहरूका लागि समीक्षाको अवसर रहेको बताए । 

‘स्थानीय तहको निर्वाचन भएको आधा कार्यकालपछि हुन लागेको उपनिर्वाचनले मतदाताको रुझान देखाउनेछ । यसबाट प्राप्त परिणामका आधारमा सबै पार्टीले आगामी चुनावको रणनीति बनाउन सक्नेछन्,’ आचार्यले लोकान्तरसँग भने, ‘सानो भोलुमको भए पनि सातवटै प्रदेशमा चुनाव हुँदैछ । यसैले यो चुनावले मत रुझानको प्रतिनिधित्व गर्छ । स्थानीय तहमा सबै पार्टीको समीक्षा र कामको पुनःमूल्यांकनको अवसर पनि हो ।’

गण्डकी प्रदेशको एउटा वडाबाहेक अन्य प्रदेशमा कम्तीमा ६ देखि ९ वटा ठाउँमा उपनिर्वाचन हुन लागेको उनले बताए । 

कांग्रेसबाट दोलाखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षसहित विभिन्न ९ वडाध्यक्षका उम्मेदवार सर्वसम्मत बनेको उनले जानकारी दिए । कात्तिक २५ गतेसम्म सबै उम्मेदवार टुंग्याइसक्ने योजना रहेको उनी बताउँछन् ।

स्थानीय तह निर्वाचनपछिको आधा कार्यकाल अर्थात् साढे दुई वर्षपछि हुन लागेको उपनिर्वाचनमा आफ्नो शक्ति परीक्षण समेत हुने भएकाले दलहरू प्राथमिकतापूर्वक उपनिर्वाचनको तयारीमा होमिएका हुन् । 

एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गर्नका लागि कात्तिक २४ गते सचिवालय बैठक बोलाएको छ । कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न एमालेले निर्देशन दिइसकेको छ । एमालेले काठमाडौंमा चुनाव हुने स्थानीय तहका उम्मेदवार सार्वजनिक गरिसकेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका वडा नम्बर १६ सहितका ठाउँमा उम्मेदवार सर्वसम्मत गरिसकेको जानकारी दिए । 

‘कीर्तिपुर नगरपालिकाको मेयरसहित हामीले केही उम्मेदवार तय गरिसकेका छौं । अन्यत्र पनि बिहीबार साँझ ५ बजेसम्म उम्मेदवार सिफारिश गरिसक्न भनेका छौं,’ गौतमले भने, ‘त्यसपछि सचिवालयको बैठक २४ गते ११ बजे बस्छ । त्यसले कसरी निर्वाचनमा परिचालन हुने भनेर नीतिगत संयन्त्र बनाउँछ ।’ 

विगतमा एमालेले एक्लै चुनाव लडेको भन्दै गौतमले फेरि पनि आफ्नै तागतमा निर्वाचनमा होमिने बताए । ‘हामी विगतमा एक्लै चुनाव लडेका छौं । यसपटक कांग्रेससँग सत्ता समीकरण भए पनि हामी आ–आफ्नो हिसाबले चुनाव लड्दैछौं,’ गौतमले भने, ‘जनमत कसरी प्रकट हुन्छ, त्यो निर्वाचन नतिजाले देखाउँछ । तर, कीर्तिपुरसहित बहुमत स्थानमा चुनाव जित्ने स्थितिमा छौं ।’

रास्वपाको के छ तयारी ?

रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उम्मेदवार चयन लागि कार्यदल बनाइएको थियो । तर, उनी पनि सहकारी प्रकरणको विवादमा मुछिएपछि गणेश पराजुलीले निर्वाचन तयारीका लागि समन्वयको जिम्मेवारी पाएको एक नेताले जानकारी दिए । तयारीका लागि मंगलबार परिचालन समितिको अनौपचारिक बैठक बसेको थियो । यसअघि रास्वपाले २०७९ को संसदीय निर्वाचनमा मात्रै भाग लिएको थियो । जसमा २० सीट जितेर उसले तहल्का नै मच्चाएको थियो । पछि उपनिर्वाचनमा १ सीट थपियो । तर, स्थानीय तहको निर्वाचनमा रास्वपाले पहिलोपटक भाग लिन लागेको हो । 

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा जितेका बालेन साहले यसपटकको उपनिर्वाचनमा भाग लिने वा नलिने पक्का भइसकेको छैन । 

को उठ्दैछन् उम्मेदवार ? 

धेरै चासोका साथ हेरिएका कीर्तिपुर नगरपालिकाको मेयर, मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखेको महाबु गाउँपालिकाको अध्यक्षमा हुने उपनिर्वाचनलाई प्राथमिकता साथ हेरिएको छ । साथै, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको निर्वाचनलाई पनि दलहरूले प्राथमिकतामा राखेका छन् । 

त्यस्तै, काठमाडौं महानगरपालिकाको १६ नम्बर वडा, कीर्तिपुर नगरपालिकाको १ र ४ नम्बर वडाको प्रतिस्पर्धालाई पनि यसपटक दलहरूको अल्पकालीन शक्ति परीक्षणको रूपमा लिइएको छ । केन्द्रमा कांग्रेस र एमालेले सत्ता समीकरण बनाए पनि अधिकांश ठाउँमा उनीहरूले आपसमै प्रतिस्पर्धा गर्ने नीति लिएका छन् । यसैले पार्टीगत निर्णय गरेर उम्मेदवार सिफारिस गर्न उनीहरूले परिपत्र गरिसकेका छन् । 

तर, माओवादी प्रभावित क्षेत्रमा भने कांग्रेस र एमालेले मिलेर उम्मेदवार उठाउन सक्ने देखिएको छ । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस–एमालेले गठबन्धन गरेर उम्मेदवार उठाउन सक्ने देखिएको छ ।

गत भदौ २८ गते उपाध्यक्ष भूपेन्द्र बुढाको बस दुर्घटनामा निधन भएको थियो । 

माओवादीले जितेको र उसको आधार इलाका रहेको पालिका भएकाले कांग्रेस र एमालेले मिलेर उम्मेदवार उठाउने विषयमा छलफल गरेका छन् ।

कांग्रेस र एमाले मिले माओवादीले पनि नेकपा एस र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग मिलेर चुनाव लड्नेबारे छलफल गरेको माओवादीनिकट स्रोत बताउँछ । 

कांग्रेस निर्वाचन समितिका सदस्य मधु आचार्य तालमेल हुने तहमा कुराकानी नभएको दाबी गर्छन् । ‘हामी एमालेसँगको सत्ता समीकरणमा छौं । तर, हामीले महासमिति बैठकबाट एकल प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौं,’ आचार्यले भने, ‘त्यसैले स्वस्थ प्रतिस्पर्धा गरेर जाने पक्षमा हामी छौं ।’

काठमाडौंको कीर्तिपुरमा कांग्रेसबाट जितेका मेयर राजकुमार नकर्मीको निधनपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि कांग्रेस कीर्तिपुर नगर समितिले ११ जनाको नाम सिफारिस गरेको छ, जसमा नकर्मीपत्नी जमुनाको नाम चौथो नम्बरमा छ ।

नगर सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । एमालेले कीर्तिपुरको मेयरमा सुरेन्द्र मानन्धर र माओवादीले शिवलाल महर्जनको नाम तय गरेका छन् । राप्रपाले पूर्व मेयर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

कांग्रेसबाट जितेका काठमाडौं– १६ वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

मंसिर १६ मा कहाँ– कहाँ हुँदैछ उपनिर्वाचन ? 

प्रमुख – कीर्तिपुर नगरपालिका, काठमाडौं 

अध्यक्ष– ग्रामनाथ गाउँपालिका मोरङ र महाबु गाउँपालिका दैलेख ।

उपप्रमुख–नलगाड नगरपालिका जाजरकोट ।

उपाध्यक्ष– गौरीशंकर गाउँपालिका दोलखा, स्वामीकार्तिक खापर गाउँपालिका बाजुरा, सर्केगाड गाउँपालिका हुम्ला, पुथा उत्तरगंगा गाउँपालिका पूर्वी रुकुम ।

वडा अध्यक्षका लागि रिक्त स्थान :

कन्काई नगरपालिका– ६, झापा ।

लालीगुराँस नगरपालिका– ८, तेह्रथुम ।

गढी गाउँपालिका– ६,  सुनसरी ।

मोलुङ गाउँपालिका– ५, ओखलढुंगा ।

त्रियुगा गाँउपालिका– १२ र बेलका नगरपालिका– ८, उदयपुर ।

डाक्नेश्वरी नगरपालिका–४, सप्तरी ।

रामगोपाल नगरपालिका –२, महोत्तरी ।

इशनाथ नगरपालिका–७, राजपुर– ६ र गढीमाई नगरपालिका– ८, रौतहट ।

काठमाडौंमा कीर्तिपुर नगरपालिका–१ र ४ एवं काठमाडौं महानगरपालिका– १६ ।

यसका अलावा नुवाकोटमा ककनी गाउँपालिका–२, मकवानपुरमा हेटौंडा उपमहानगरपालिका–१२, गोरखामा गोरखा नगरपालिका–५, गुल्मीमा मुसिकोट नगरपालिका–१, रोल्पामा रुन्टीगढी गाउँपालिका–४, बर्दियामा ठाकुरबाबा नगरपालिका–४, दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटमा तिलागुफा नगरपालिका–४, जाजरकोटमा कुशे गाउँपालिका–७, डोल्पामा त्रिपुरासुन्दरी नगरपालिका–५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरमा भीमदत्त नगरपालिका–६ मा पनि वडाध्यक्षको उपनिर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्