
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले दोलखाको गौरीशंकर बालगृह पूर्ण रूपमा मर्मत गरेको छ। मर्मत गरिएको भवन बालगृहलाई हस्तान्तरण समेत गरिएको छ।
यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयर होल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए।
कार्यक्रममा भण्डारी जालानले अन्य संघसंस्थाहरूसँग पनि गौरीशंकर बालगृहको सुधारमा थप योगदान गर्न आह्वान गर्दै बालकल्याणका लागि अधिक सक्रियता प्रदर्शन गर्नुपर्ने आवश्यकता र महत्त्वलाई जोड दिइन्।
मेयर मानन्धरले पनि अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन प्रेरित गर्दै वर्ल्डलिंकलाई धन्यवाद दिए ।

वर्ल्डलिंकले २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङ्गरोगन गरेको छ । यसैगरी, तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डस्ना-कम्बल र स्टेशनरी प्रदान गरिएको छ।
यसले बाल गृहका बच्चाहरूलाई अझ सुरक्षित र आरामदायक बसोबासको सुनिश्चितता दिएको र उनीहरूको शिक्षा, स्वास्थ्य तथा मानसिक समग्र विकासलाई मद्दत पुर्याउने विश्वास लिइएको छ।
यो सामाजिक उत्तरदायित्वको पहल वर्ल्डलिंकको समाजप्रति समर्पण र समुदायको समृद्धिका लागि गरिएको प्रयासको प्रतीक रहेको कम्पनीको भनाइ छ।