२९ जेठ २०८३, शुक्रबार

जंगली हात्ती दिउँसै गाउँ पस्न थालेपछि त्रसित छन् गाउँले

कात्तिक २८, २०८१
झापा
जंगली हात्ती दिउँसै गाउँ पस्न थालेपछि त्रसित छन् गाउँले
  • चन्द्रकला भण्डारी/रासस    

झापामा जंगली हात्ती दिउँसै गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् ।

बुधबार दिउँसो भद्रपुर नगरपालिका– ९ को मिलचोकमा दुई वटा हात्ती निस्किँदा गाउँले त्रसित बने । हात्ती दिउँसै आउँदा मानिस रमिता हेर्न, फोटो खिच्न र धपाउन धुइरिए । मानवीय क्षति नभए पनि ती हात्तीले स्थानीयको पाकेको धानबालीमा क्षति पुर्‍याए । 

वर्षौंदेखि हात्तीको पीडा खेपिरहेका झापामा राति हात्ती गाउँ पस्नु नौलो घटना होइन । तर, दिउँसै गाउँ पस्न थालेपछि गाउँलेले अनौठो मान्न थालेका छन् । जंगल छेउछाउका बस्तीमा हात्तीबाट सुरक्षित हुने समाधानका ठोस उपाय निकाल्न सकिएको छैन ।     
     
'मानिसहरू आ–आफ्नो काम धन्दामा व्यस्त थिए', भद्रपुर–९ मिलचोकका दीपेन्द्र कटुवाल भन्छन्, 'हात्ती आयो, हात्ती आयो भनेर हल्ला चल्यो । हेर्न जाँदा घर नजिकैको धानखेतमा हात्ती चरिरहेको रहेछ ।'

नुनिया र बासमती धानको बाला भर्खर निस्किएको थियो । त्यही धान खाएर हात्ती निचाझोडा जंगलतिर गएको उनले जानकारी दिए । 

झापामा एक दर्जन बढी हात्तीले स्थानीय जंगलमा आश्रय लिँदै आएको वन कार्यालयले जनाएको छ । जिल्लाको दक्षिणस्थित जलथल जंगल, मध्यभागस्थित निचाझोडा जंगल र उत्तरतिरको चुरेभावर जंलमा हात्ती बस्ने गर्छन् ।     
     
उत्तरी झापाको बाहुनडाँगी छिचोलेर भारतबाट प्रवेश गर्ने जंगली हात्ती र रैथाने हात्तीबाट जिल्लावासी पिरोलिएका छन् । १५ स्थानीय तहमा हात्तीले नडुलेको कुनै वडा छैन । हात्तीको आक्रमणमा मानिसको मृत्यु नभएको कुनै स्थानीय तह जिल्लामा बाँकी छैन ।     
     
प्रायः जंगली हात्तीहरू दिउँसो जंगलभित्र लुक्ने र राति भएपछि आहाराका लागि गाउँ पस्ने गर्छन् । तर, अब हात्तीले आफ्नो प्राकृतिक आनीबानीमा परिवर्तन गर्न थालेको र दिउँसो पनि चरनमा हिँड्न थालेको हुनसक्ने पर्यावरण संरक्षण अभियन्ता देवेन्द्र खरेल बताउँछन् ।    

'हरेक दिन दुई केजीसम्म आहारा नखाए हात्तीको पेट भरिँदैन', चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल भन्छन्, 'जंगलमा उसका लागि केही पनि खानेकुरा बाँकी छैन । राति गाउँ पस्दा पेट नअघाएपछि दिउँसो गाउँ पस्नु उसको बाध्यता हुनसक्छ ।'     
     
जनावरहरूले पनि मानिसले जस्तै अस्तित्व रक्षाका लागि आफ्ना आनीबानी बदल्ने उनी बताउँछन् । जंगलमा मात्र डुल्ने बाँदरहरू अचेल राजमार्ग छेउछाउ मानिसले गाडीबाट फ्याँक्ने खानेकुराको पर्खाइमा बसिरहेका भेटिन्छन् । कागलगायत चराहरू मानिसले खाएर फ्याँक्ने खाद्यान्नमा निर्भर भइसकेको तथ्यलाई उनीहरूको आनीबानी परिवर्तनका रूपमा लिनुपर्ने खरेल बताउँछन् । 

दिउँसो जंगलका हात्ती गाउँमा निस्कँदा मानिसमाथि आक्रमणको सम्भावना अझ बढ्ने उनको भनाइ छ । 'राति मानिस घरभित्र सुतेका हुन्छन्', खरेल भन्छन्, 'दिउँसो बालबालिका र वृद्धवृद्धा घर बाहिर निस्किएका हुन्छन् । खेतमा कामदार आफ्नै धुनमा हुन्छन् । यस्तो बेला हात्तीले अचानक हमला गर्दा ठूलो मानवीय क्षति हुनसक्छ ।'

हात्तीले आफूलाई असुरक्षित अनुभूति नगरेसम्म भरसक आक्रमण नगर्ने उनी बताउँछन् । पछिल्लो समय मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हात्तीलाई जंगलभित्रै पर्याप्त आहार मिल्ने पारिस्थितिक प्रणाली बनाउन मानिसले प्रयास गर्नुपर्ने अवधारणा विकसित भएको छ । 

झापाको अर्जुनधारा, मेचीनगर, हल्दीबारीलगायतका स्थानीय तहका सामुदायिक वनमा हात्ती, बाँदर र चराका लागि आहार बन्नसक्ने विभिन्न बोटबिरुवा रोप्ने अभियान चलाइएको छ।

कोशी प्रदेश सरकारलेसमेत गत वर्ष ‘जसको जंगल, उसकै मंगल’ अभियानको घोषणा गर्दै पूर्वी नेपालको बाहुनडाँगीदेखि उदयपुरको बेल्टारसम्म हात्तीको बासस्थान र विचरण क्षेत्र पहिचान गरी जंगलभित्र आहार हुने बोटबिरुवा रोप्न थालेको थियो । तर, हाल उक्त अभियानले निरन्तरता पाएको छैन ।  

जंगलभित्र पेटभरि खान पाउने हो भने जंगली हात्ती गाउँ नपस्ने खरेल बताउँछन् । जंगल फँडानी र जंगलभित्र पर्यटकीय पूर्वाधारका नाममा भएका गतिविधिले हात्तीलाई जंगलमा शान्तले बस्ने वातावरण नभएको उन विश्लेषण छ ।    

वन डिभिजन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार विगत १५ वर्षमा झापामा मानव–हात्ती द्वन्द्वका कारण ६७ जनाको मृत्यु भइसकेको छ भने २१ वटा हात्ती मारिएका छन् । 

पुरातन सोच र अभ्यासबाट मानव–हात्ती द्वन्द्वको अन्त्य नहुने ठोकुवा गर्दै मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्की अब सहअस्तित्व र हात्तीमैत्री सोचबाट अघि बढ्न आवश्यक रहेको बताउँछन् । 

'हात्ती त जनावर भइगयो, मानिसले चाहिँ आफ्नो प्रवृत्ति र सोचमा परिवर्तन ल्याउनुपर्छ', हात्तीमैत्री अवधारणालाई आफ्नो वडामा व्यावहारिक रुपमा लागू गर्दै आएका कार्की भन्छन्, 'हात्तीसँग झडपमा उत्रने पुरातन तरिका बन्द गर्नुपर्छ । आधुनिक प्रविधिको प्रयोग गर्दै बाली बिमा लागू गरेर क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्नुपर्छ ।'  
 

कमेन्ट गर्नुहोस्