०२ असार २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

सीआईबीसँगको बयानमा भावविह्वल बने धनराज– मुख देखाउनै नसक्ने अवस्था आयो !

कात्तिक २९, २०८१
काठमाडौं
सीआईबीसँगको बयानमा भावविह्वल बने धनराज– मुख देखाउनै नसक्ने अवस्था आयो !

मितेरी सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभ ठगी प्रकरणमा बयानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुगेका धनराज गुरुङ भावविह्वल बनेका छन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद गुरुङले बयानका क्रममा सहकारीका कारण आफू सार्वजनिक जीवन र पार्टीमा समेत मुख देखाउन नमिल्ने अवस्थामा पुगेको बताएका हुन् । 

बुधबार सीआईबीमा पुगेका गुरुङलाई प्रहरीले ५ घण्टा लामो बयान लिएको थियो । 

‘सहकारीका कारण न श्रीमती रहिन्, न घर रह्यो । पार्टीमा समेत मुख देखाउन नमिल्ने बनाइदियो,’ उनको बयान उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने, ‘म अहिले दुईवटा कोठा भाडामा लिएर बस्छु । सहकारीले ९१ लाख तिर्न लगायो ।’

बयानका क्रममा धनराज भावविह्वल भएपछि उनलाई (आँसु पुछ्न) ‘टिस्यु पेपर’समेत दिइएको एक प्रहरी अधिकृतले बताए । 

गुरुङले आफूले घर बेचेको रकमले पनि नपुगेर ऋण लिएर सहकारीलाई तिरेको बताएका छन् । बयानमा गुरुङले ज्योतिसँग बाहिर हल्ला भएजस्तो नक्कली नभएर सक्कली एवं कानूनी रूपमै डिभोर्स गरेको उल्लेख गरेका थिए ।

धनराज र ज्योतिबीच २०७६ फागुन २९ मा डिभोर्स भएको थियो ।

सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो बारेमा सत्य तथ्य नबुझी अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको दाबी गुरुङले गरेका थिए । 

‘मैले सहकारीको ऋण तिरिसकेको छु । डिभोर्स गरिएकी श्रीमतीसँग अहिले मेरो बोलचाल र फोन संवाद समेत छैन,’ गुरुङले बयानमा भने, ‘यस्तो अवस्थामा मलाई छानबिन गर्नुपर्छ भन्नु नै गलत हो, तर म अनुसन्धानमा सहयोग गर्छु भनेरै बयान दिन आएको हुँ ।’

ज्योति र धनराजमाथि प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय हेटौंडामा उजुरी परेको थियो । उक्त उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा आएको भन्दै थप अनुसन्धान गरी शीघ्र कानूनी कारबाही अघि बढाउन समितिले सिफारिश गरेको हो । 

ज्योतिविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ । २०५७ देखि उक्त सहकारीको कर्मचारी रहेकी ज्योति २०७५ मा कार्यकारी प्रमुख समेत भएकी थिइन् ।

उनको नाममा सहकारीबाट १ करोड १३ लाख रूपैयाँ ऋण प्रवाह भएको थियो । त्यसमध्ये ८४ लाख रुपैयाँ आफूले तिर्ने गरी डिभोर्स भएको धनराजको दाबी छ । सीआईबीसँगको बयानमा पनि उनले उक्त शर्तबमोजिम आफूले सहकारीको रकम तिरिदिएको उल्लेख गरेका छन् । 

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले धनराजको बयान सकिएको र उनले दिएको बयानको तुलना तथ्य र प्रमाणसँग गर्ने काम भइरहेको बताए ।

उनले लोकान्तरसँग भने, ‘उहाँले डिभोर्सका केही पेपर र सहकारीलाई तिरेको भनेर केही कागजात बुझाउनुभएको छ, हामी त्यसको पुष्ट्याईं खोज्दैछौं ।’ 

ललितपुर महानगरपालिका –५ महालक्ष्मीस्थानमा सञ्चालित मितेरीका कर्मचारी ज्योति भण्डारीविरुद्ध पनि प्रहरीले रेड नोटिस जारी गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्