
एकपछि अर्को चलचित्रमा सफलता हात पारिरहेकी अभिनेत्री अञ्जना बराइली चलचित्र ‘डोरी’मा अनुबन्ध भएकी छन् ।
मंसिर दोस्रो साताबाट छायांकन थालिने चलचित्रमा अञ्जनालाई अनुबन्ध गरिएको निर्देशक अरुण लामाले बताए । लामाका अनुसार यो चलचित्रमा अञ्जनाको प्रमुख भूमिका रहनेछ ।
अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । जी सेभेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर वाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा अनुबन्ध भइसकेका छन् ।
चलचित्र ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशक लामाले बताए । उनका अनुसार चलचित्रमा हाँसो, त्रास र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।
चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् ।
अहिले हलमा अञ्जनाले अभिनय गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले तेस्रो हप्तामा पनि दर्शकको भरपुर साथ पाइरहेको छ । यसले सबैभन्दा धेरै कमाउने, एक दिनमा सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने र एकै दिन सबैभन्दा बढी हलमा प्रदर्शन हुने रेकर्ड बनाइसकेको छ ।
यो चलचित्रमा अञ्जना पूर्णबहादुरको श्रीमती, बाटुलीको भूमिका छन् । पूर्णबहादुरको भूमिकामा विजय बराल छन् ।
चलचित्र ‘महापुरुष’बाट अभिनय थालेकी अञ्जनाले ‘पुजार सार्की’ पनि प्रमुख भूमिका निभाएकी थिइन् ।