२९ जेठ २०८३, शुक्रबार

रोकियो लमजुङ दरबारको पुनर्निर्माण

मंसिर २, २०८१
लमजुङ
रोकियो लमजुङ दरबारको पुनर्निर्माण

बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माण कार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनर्निर्माण थालेकामा गत साउनयता निर्माण कार्य ठप्प छ ।    

बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा लमजुङवासी चिन्तित बनेका छन् । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि कार्य सम्पन्न हुन सकेन । तेस्रो वर्ष लाग्यो तर काम भएको छैन । 

'हामीले निर्माणकार्य नभएपछि गत दशैंपछि काठमाडौं पुगेर पुरातत्व विभाग र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवलाई भेटेर आवश्यक बजेटको व्यवस्थापनका लागि आग्रह गरेका थियौँ तर पनि काम शुरू हुनसकेको छैन', उनले भने, 'यहाँ दरबारसँगै मन्दिर पनि निर्माण भइरहेको छ, समयमा सकिएन, मान्छेको आस्था घट्यो, काममा ढिलाइ हुँदा स्थानीय बेखुसी छन् ।'

स्थानीय सुरेश श्रेष्ठले धार्मिक तथा एतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताए।

वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माण कार्य ढिलाइ भइरहेको र हालसम्म काम शुरू नभएको दुखेसो पोखे । 

'दरबार निर्माण कार्य शुरू गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौँ । यसअघि गरेको काम पनि सो बेलाको ठेकेदारले गुणस्तरीय काम नगरेको गुनासो छ । यस विषयमा गुनासो गरे पनि विभागले ध्यान दिएको छैन', उनले भने । 

पुरातत्व विभागका अनुसार दरबार पुनर्निर्माणमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ ।  विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार अघिल्लो आवमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरू गरिएकामा गत आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्याएको थियो ।

पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपीएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएस/विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको थियो । इन्जिनियर अधिकारीले चालु आवका लागि ५५ लाखमात्र बजेट रहेको बताए । बजेट अभावका कारण निर्माणकार्य लम्बिरहेको र यस वर्षको बजेटले पनि निर्माण सम्पन्न नहुने उनको भनाइ छ । 

पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ ।

दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा संघ, प्रदेश सरकार र स्थानीय तहले बजेट उपलब्ध गराएर चाँडो निर्माण सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्