०८ साउन २०८३, शुक्रबार
कांग्रेसको खस्किँदो साख

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१
काठमाडौं
राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

सन् २०१६ मा प्रथम प्रकट र अहिले दोस्रोपटक अमेरिकी राष्ट्रपति भएका ट्रम्पको पहिलो कार्यकाल त्यति सुखद भएन । अब यो कार्यकाल कस्तो रहला, समयक्रममा विश्व जनमतले मूल्यांकन गर्ने नै छ । उग्रवामपन्थीहरूले उग्र दक्षिणपन्थीको बिल्ला भिराएपनि उनले प्रजातान्त्रिक विश्वको नेतृत्व गर्दछन् । उदार प्रजातन्त्रवादीहरूसँग उनको कार्यशैलीगत मतभेद मात्र हो । उनले अमेरिकालाई महान् मात्र होइन, बलियो र शक्तिशाली समेत बनाउने घोषणा गरेका छन् । आशा गरौं, उनले अमेरिकालाई सुदृढ प्रजातान्त्रिक मुलुकको रूपमा अघि बढाउने सफलता प्राप्त गरुन् । सफल कार्यकालका लागि राष्ट्रपति ट्रम्पलाई शुभकामना छ र विजयका लागि धेरै–धेरै बधाई !!

यता नेपालमा बेला–बेलामा आयोजना हुने गरेका छलफल, अन्तरक्रिया वा भेलामा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– यहाँ राजनीतिक स्थायित्व र विकास किन भएन वा हुन सकेन ? यसको प्रमुख कारण के हो ? दोषी को हो र अब के हुन्छ ? समाजमा शान्ति र अमनचयन किन देखिएन ? ठूलो संख्यामा भइरहेको युवा पलायनलाई रोक्ने कार्यक्रम किन आएन ? अहिले देशका जल्दाबल्दा समस्या के–के हुन् ? देश चलाउने अवसर बारम्बार क-कसले पाए ? यसै सन्दर्भ र विषयमा केही दिनअघि मोफसलमा केही कांग्रेसजनको एउटा सानो अन्तरक्रिया सम्पन्न भयो, जहाँ निकै गम्भीर सवालजवाफ भयो । सहभागी अधिकांशले समसामयिक विषयमा आ-आफ्ना विचार राखे । त्यसमध्येको  केही महत्त्वपूर्ण अंश प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ।

राष्ट्रिय तथा अन्तर्रास्ट्रिय अनुसन्धाताहरू भन्छन्, 'नेपालको समुन्नति र राजनीतिक स्थायित्व नहुनुका केही खास कारणहरू छन् । मूलतः २००७ यताको सत्ताको चरित्र र प्रकृति, विकासको प्रक्रिया तथा राजनीतिक कार्यशैलीमा देखिएको जडता र एकरूपता नै वर्तमान अवस्थाको कारक हो । यसमा समयसापेक्ष गतिशीलता र परिष्कार नल्याउनाले राजनीतिले युगानुकुल सक्रियता प्रदर्शन गर्न सकेन अर्थात् समयको भारी बोक्न सकेन । यसबीचमा निर्बाध रूपमा लोकतान्त्रिक शासन प्रणालीले काम गर्न पनि पाएन । यसको संस्थागत विकास हुनै नपाई लामो समयसम्म पञ्चायती राजतन्त्र चल्यो । अर्को कुरा २०४६ सालपश्चात् विभिन्न राजनीतिक दलभित्र प्रवेश गरेको नवधनाढ्य, भुइँफुट्टा र अवसरवादी प्रवृत्ति निर्णायक हुँदै गयो ।

यस्ता तत्त्वले दलको मूल नेतृत्व वरिपरि डेरा जमाउने र आफ्नो स्वार्थमा हिँडाउने प्रयास गर्‍यो । दलका सदस्यहरू र सर्वसाधारण जनताको प्रमुख नेतासम्म पहुँच नै भएन र विधिले पनि काम गरेन, जबकि लोकतन्त्र भनेको विधिको शासन हो । यसो भएपछि राज्यको कार्यकारी प्रमुखले जनभावनालाई आत्मसात गर्न सकेन । र, ऊ सीमित स्वार्थी तत्त्वको कठपुतली बन्न पुग्यो । त्यस्तै राज्यको प्रमुख भूमिकामा रहेको नेता वा कार्यकारी व्यक्ति विवेकशील नहुनु पनि आजको प्रमुख समस्या हो ।' छलफलमा यस्तै धारणा आए र अधिकांशले सहमति पनि जनाए । सहभागी सबैले खुलेर कुरा राखेका थिए ।

इतिहासको दोबाटोमा निरीह बनेर उभिएको देशलाई यस बिन्दु र मोडबाट सही दिशामा तीव्र गतिमा अघि बढाउनु आजको प्रमुख आवश्यकता हो । त्यस छलफलले नेता विशेषका वैयक्तिक कमजोरी र अयोग्यताका विषयमा समेत प्रश्न उठाएको थियो । तथापि, त्यस कुराको चर्चा गर्नु आजको उद्देश्य होइन र उपयुक्त पनि छैन ।

त्यसैगरी, नेपालमा केही समय प्राध्यापन गरेका र लामो समयदेखि अमेरिका बसिरहेका एकजना वयोवृद्ध बौद्धिक व्यक्तिको कथन थियो, 'म ट्रम्पसँग सहमत छु । अमेरिका विश्व नेता राष्ट्र हो । कतिपय कुरामा उनीसँग मेरो आंशिक असहमति होला, तर अमेरिकी राष्ट्रपति दह्रो हुनैपर्छ । मेरो लागि भने यो अन्तिम नेपाल भ्रमण हुनसक्छ । ८४ पुगें । हिँडडुल गर्न गाह्रो हुँदै गएको छ । एउटा कुरा भन्दिन्छु, २०४६ सालअघिको कुरा छाडौं, तत्पश्चातचाहिँ के हुनुपर्थ्यो के भयो भने वृहत् छलफल गर्नैपर्छ । राजनीतिक दलहरू खासगरी कांग्रेसले परिवर्तनको औचित्यलाई सिद्ध गर्न सक्यो कि सकेन ? हामीलाई जनअधिकारसहित आर्थिक समुन्नति चाहिएको थियो । त्यस्तै समाजमा शान्ति, देशको भौतिक विकास र राष्ट्रिय सुरक्षा प्रमुख कुरा थियो । आखिर के–के भयो त ? केबल राजनीतिक अधिकारले मात्र त प्रजातन्त्र समृद्ध हुँदैनथ्यो नि ! देशको संविधान, कानून, राजनीतिक दलहरू, आवधिक चुनाव र विभिन्न तहका सरकारको स्थापना मात्रले प्रजातन्त्रलाई पूर्णता दिँदैन नि ! यो त संरचनात्मक कुरा मात्र भयो र राजनीतिक/सैद्धान्तिक जग वा आधारशिला मात्रै भयो । यी सबै प्राविधिक विषय मात्र हुन् । यसलाई जीवन्त बनाउने त हाम्रा गतिविधि, क्रियाकलाप र व्यवहारले हो । यस दिशामा के–के भयो त भन्दा स्थिति झन् बिग्रिएको र निराशाजनक देखिन्छ । अनि देश कसरी अगाडि बढ्छ त ? हामी कहाँ जाँदैछौं ? पुग्ने ठाउँ कहाँ हो ? बाबुहरूका कुरा सुन्दा त उदेक लाग्छ ।'

उनले थपे भने, 'लोकतान्त्रिक सत्ता कर्कस र कठोर हुनुहुँदैन । यसमा विनयशीलता र अधिकतम लचिलोपन चाहिन्छ । र, बेलाबेलामा सरकार र नागरिकबीच संवाद भइरहनुपर्छ । नेपालको लोकतन्त्रले विनम्रता सिकेन र सिक्न पनि चाहेन । राणाकालीन चिन्तन, पञ्चायती चरित्र र बहुदलीय अहङ्कार हाम्रा विशेषता बने । अनि कसरी लोकतन्त्रले काम गर्छ ? यो तरिकाले देश कहिले विकसित बन्छ ? देशले आर्थिक प्रगति नगरिकन लोकतान्त्रिक प्रणाली सुदृढ हुनै सक्तैन । र, लोकतन्त्र स्थापनाको औचित्य समेत सिद्ध हुँदैन । अमेरिका समृद्ध नबनेको भए त्यहाँको लोकतन्त्र पनि अर्थहीन हुन्थ्यो ।'

अहिले युक्रेनको हालत हेरौं, उसले बलियो छिमेकी रसिया र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूलाई विश्वास र सन्तुलनमा राख्न नसक्दा देश नै तहसनहस भएको हामीले देखेका छौं । राजनीतिमा कुनै साइनो सरोकार नभएका हास्य कलाकार एवं हालका राष्ट्रपति जेलेन्स्कीको सनक र बहुलठ्ठीपनका कारण देश खण्डहरमा परिणत हुँदैछ । यसमा रसियन दादागिरी र मिचाहापन पनि कारणको रूपमा छ । तथापि देश जोगाउने त्यहाँको नेतृत्वले नै हो । दक्षिण एसियाका श्रीलंका, बंगलादेश, मालदिभ्सको हालत खराब छ । यसको कारण त्यहाँको राजनीतिक नेतृत्व हो । अफगानिस्तान त्यहाँको लामो आन्तरिक हिंसात्मक द्वन्द र गृहयुद्धको परिणाम भोग्दैछ । पाकिस्तानको राम्रो अवस्था छैन । नेपालको अवस्था चिन्ताजनक छ ।

यसको हेक्का हामीलाई छ कि छैन ? हामीले विश्वका दुई ठूला महाशक्ति राष्ट्र भारत र चीनसँग सुमधुर सम्बन्ध राख्न सकेको खै ? यी दुवै देश हाम्रा स्थायी छिमेकी हुन् । यीनलाई हामीले हाम्रो समुन्नतिका कारक र भाग्यविधाता बनाउन नेतृत्व कुशलता देखाउन सक्नुपर्छ कि पर्दैन ? नेपालमा दुवै छिमेकीको अहितमा कुनै गतिविधि हुन दिनुहुँदैन र उनीहरूको राष्ट्रिय स्वार्थमा ठेस पुग्ने कार्य गर्नुपनि हुँदैन । हाम्रो आन्तरिक मामिलामा उनीहरूलाई खेल्ने ठाउँ पनि दिनुहुँदैन । राजनीतिक दल र नेताले आफ्नो निजी र दलगत स्वार्थमा केन्द्रित भएर फगत सत्ताका लागि एकअर्कालाई उपयोग गर्नु हुँदैन । आफ्नो राष्ट्रिय हितविरुद्ध कसैसँग सम्झौता पनि गर्नुहुँदैन । राष्ट्रिय स्वार्थभन्दा माथि अरू स्वार्थ हुन सक्तैन । नेपालको स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानमा आँच पुग्ने कार्य गर्नु हुँदैन । यसैगरी विश्वको सर्वाधिक  शक्तिशाली राष्ट्र अमेरिकाको सहयोग हामीलाई सधैं चाहिन्छ भन्ने सदैव ख्याल राख्नुपर्छ।' बुढा बोल्दै गए । बोलि मधुरो भएपनि कुरा जायज र मनासिव थिए । सहभागीलाई प्रतिवाद गर्नु थिएन, गर्ने ठाउँ पनि थिएन।

उनका धेरै कुरामध्ये एउटा कुरा निकै गम्भीर थियो । उनले भने- 'म पनि कांग्रेस थिएँ । अहिले डेमोक्रेट मात्रै छु । वि.सं. २००३ मा यसको स्थापनापछि २०४६ सम्म नेपाली राजनीतिको मियो थियो कांग्रेस । त्यसपछि खस्कँदै गयो र अहिले कहाँ छ, कहिले सोचेका छौं ? यसको कारण के ? किन यसको ऐतिहासिक प्रतिष्ठामा ह्रास आयो र यसका लागि जिम्मेवार को ? जनता बेखुश, कार्यकर्ता बेखुश, छिमेकी बेखुश, अनि टिक्छ कसरी ? कांग्रेसको सैद्धान्तिक धरातल, मौलिक पहिचान, चम्किलो छवि र अपार जनविश्वास जोगिएको छ त आज ? यसमा तलमाथि कसरी भयो ? जनता सचेत भइसकेका छन् । सरकार र राजनीतिक दलका हरेक गतिविधिको सुक्ष्म मूल्यांकन गरिरहेका छन् । अहिले पनि सरकारको चाल उही छ । दलका गतिविधि उस्तै छन् । हामीले परबाट हेर्दा छर्लङ्ग देखिन्छ ।

मूलतः कांग्रेसले नेपालका अहिलेका राजनीतिक गतिविधिका बारेमा गम्भीर समीक्षा गर्नुपर्छ र स्वयं गम्भीर हुनुपर्छ । आफ्नो आत्मसमीक्षा समेत गरेर आफूलाई समयानुकूल सान्दर्भिक बनाउनु पर्छ, नत्र हेर्दाहेर्दै सबै कुरा डुब्छ । अनि सबै बिग्रेपछि थाप्लोमा हात राखेर के हुन्छ ? मलाई अझै पनि कांग्रेसको माया लाग्छ र यति कुरा गरेको हुँ, नत्र किन भन्थें ? म त अहिले नेपाली नागरिक पनि होइन । बाबुहरूले चाणक्य नीति कति पढेका छौ, मलाई थाहा छैन । तर, त्यतिबेलाको सन्दर्भमा उनले भनेका कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन्।

जस्तो,

प्रजा सुखे सुखं राज्ञः प्रजानामं तु हिते हितम्,

नात्मप्रियं हितं राज्ञः प्रजानां तु प्रियं हितम् ।

शासकले आफ्नो हितलाई कदापि प्राथमिकतामा राख्नुहुँदैन । जनताको हित र सुखलाई नै आफ्नो सुख ठान्नुपर्छ । के अहिले यसरी सोच्ने र काम गर्ने दल र नेता छन् त ? सोच !

त्यहाँ अर्को प्रश्न पनि उठ्यो । सहभागीहरूको निचोड थियो, राजनीतिक दल एउटा वृहत् परिवार हो । यहाँ जोडिने हरेक सदस्यले आफ्नो परिवारको भलो चिताउँछ र सकेको योगदान पुर्‍याउँछ । सबैको योगदानले राजनीतिक दल उभिन्छ, हिँड्छ र दौडन्छ । अरू दलसँग प्रतिस्पर्धा गर्छ र राज्य सञ्चालनको भूमिकामा पुग्छ । त्यतिबेला दल र नेताको परीक्षा शुरू हुन्छ । उसले खेल्ने भूमिका र गर्ने व्यवहारका आधारमा दलको छवि निर्माण हुन्छ । र, ठूलो संख्यामा प्राप्त जनसमर्थनले दल प्रतिष्ठित हुँदै जान्छ र अन्ततः स्थापित हुन्छ । कांग्रेसको विगत यही हो । तर, आज यो दल के गर्दैछ र यसको प्राथमिकता के छ ? सरकारमा पुगेपछि यसले के गर्छ र आफ्नो दलीय परिवारका सदस्यहरूलाई कस्तो व्यवहार गरेको छ ? जनताको सुखदुःख बुझेको छ कि छैन ?

प्रजातान्त्रिक वा लोकतान्त्रिक राजनीतिको धरोहर बन्न र त्यसलाई बचाउन त लर्तरो प्रयासबाट सम्भव नै छैन । आफू उदाहरणीय नबनिकन अरूलाई उपदेश दिन मिल्दैमिल्दैन । नेतृत्वको परीक्षा तब शुरू हुन्छ, जब जिम्मेवारी प्राप्त हुन्छ ।

सर्वसाधारण नेपाली जनतासँग कस्तो सम्बन्ध राखेको छ ? यस दलका बारेमा जनता के भन्दैछन् ? के केही व्यक्तिको निजी आकांक्षा र महत्त्वाकांक्षा पूरा गर्ने हतियार मात्र हो त राजनीतिक दल ? हिजोआज त्यस्तो देखिन थालेको छ । दलको प्रमुख व्यक्ति बन्न र त्यसको माध्यमबाट शासनको मुख्य ठाउँमा पुग्न मात्र तँछाडमछाड देखिएको छ । नेताहरूको दलभित्र, बाहिर र संसद्को क्रियाकलापमा जनभावना प्रतिविम्बित हुँदैन ।

आमजनतालाई नेताले मेरा लागि बोल्दैछ र काम गर्दैछ भन्ने अनुभूति नभएसम्म त्यो वास्तविक लोकतन्त्र हुँदैन । अहिले  देश, समाज, लोकतन्त्र दलका मूल प्राथमिकतामा पर्न छाडेका छन् । दलहरूको समग्र प्रवृत्ति नै जनताप्रति अनुत्तरदायी देखिएको छ । यसले हामीलाई कहाँ पुर्‍याउँछ ?

सहभागीहरूको चिन्ता र मुख्य कुरा के थियो भने कांग्रेस नेपाली राजनीतिको एउटा धुरी थियो, जसमा सबैको नजर पर्थ्यो । उसको बोली जनबोली मानिन्थ्यो । तर, आज यो दल एउटा औसत राजनीतिक दलमा रुपान्तरित भयो, अरू दल जस्तै । यस्तो कसले बनायो ? अर्थात्, कांग्रेसको सुदृढ प्रजातान्त्रिक अग्लो धुरी कसले ढाल्यो ? यो विषय निकै गम्भीर थियो । जवाफ कोहीसँग थिएन । दिनरात निजी र वैयक्तिक चिन्तनमा मग्न नेताहरूसँग जवाफ हुने कुरै भएन । थोत्रा र बासी क्रियाकलापमा अभ्यस्त नेतागणलाई नयाँ पुस्ताको भविष्यसँग के सरोकार ?

सबैले युवा नेतृत्वको गतिविधि र व्यवहारको पनि आलोचना गरे । कुराले मात्र च्युरा नभिज्ने भएकाले परिणाम निकाल्ने गरी खै काम गरेको ? के–के भनियो भनेर मात्र त पुग्दैन नि ! के–के गरियो त, जवाफ दिने स्थिति छ कि छैन ? यो गुनासो स्वभाविक थियो । अझ युवा पुस्ताका अगाडि त चुनौती नै चुनौती छन् ।

प्रजातान्त्रिक वा लोकतान्त्रिक राजनीतिको धरोहर बन्न र त्यसलाई बचाउन त लर्तरो प्रयासबाट सम्भव नै छैन । आफू उदाहरणीय नबनिकन अरूलाई उपदेश दिन मिल्दैमिल्दैन । नेतृत्वको परीक्षा तब शुरू हुन्छ, जब जिम्मेवारी प्राप्त हुन्छ । युवा पुस्ताका निम्ति त झन् ठूलो परीक्षा छ । एउटा कुरा, प्रबल आत्मविश्वास, व्यवस्थित कार्ययोजना, सक्षम र इमानदार संयन्त्र, अथक प्रयत्न र निरन्तरको क्रियाशीलता नभई लक्ष्यमा पुगिँदैन र देश पनि बन्दैन । यस विषयमा कुनै छलफल देखिँदैन ।

तसर्थ इतिहासको दोबाटोमा निरीह बनेर उभिएको देशलाई यस बिन्दु र मोडबाट सही दिशामा तीव्र गतिमा अघि बढाउनु आजको प्रमुख आवश्यकता हो । त्यस छलफलले नेता विशेषका वैयक्तिक कमजोरी र अयोग्यताका विषयमा समेत प्रश्न उठाएको थियो । तथापि, त्यस कुराको चर्चा गर्नु आजको उद्देश्य होइन र उपयुक्त पनि छैन ।

salt training

कमेन्ट गर्नुहोस्