०६ असार २०८३, शनिबार
बढुवाअघि दरबन्दी थप्ने कसरत

गृहमन्त्रीले दरबन्दी थप्न प्रस्ताव मागेपछि रोकियो डीआईजी बढुवा

मंसिर २, २०८१
काठमाडौं
गृहमन्त्रीले दरबन्दी थप्न प्रस्ताव मागेपछि रोकियो डीआईजी बढुवा

गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवा प्रक्रिया रोकेर दरबन्दी थप्ने प्रस्ताव ल्याउन प्रहरी महानिरीक्षक (आईजीपी)लाई दबाब दिएको तथ्य खुलेको छ । 

लेखकको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले डीआईजीको ३ दरबन्दी थप्ने प्रस्ताव गृहमा पठाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यका ट्राफिक प्रहरी कार्यालय र भरतपुर तालिम केन्द्रमा डीआईजी राख्नुपर्ने देखिएको भन्दै प्रहरी मुख्यालयले दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको हो । 

यी कार्यालयमा यसअघि पनि डीआईजीकै दरबन्दी थियो । पछि आवश्यक नभएको भन्दै एसएसपीको दरबन्दी कायम गरिएको थियो ।

अहिले फेरि यिनै कार्यालयमा डीआईजी चाहिएको प्रस्टीकरणसहित मुख्यालयले दरबन्दी थपको प्रस्ताव गरेको जानकारी गृहका एक उच्च अधिकृतले लोकान्तरलाई दिए ।

प्राविधिक कार्यालय विधिविज्ञान प्रयोगशालामा डीआईजीको दरबन्दी थप्न यसअघि नै मुख्यालयले गृहमा प्रस्ताव गरे पनि अहिलेसम्म निर्णय भएको छैन । अर्थले स्वीकृति नदिएपछि त्यो प्रक्रिया रोकिएको हो । 

हाल डीआईजीको ८ वटा दरबन्दी खाली छ । प्रतिस्पर्धी २५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छन् । गृह स्रोतका अनुसार हाल ८ वटा खाली र तीनवटा दरबन्दी थप गर्दा ११ जना डीआईजीको दरबन्दी खाली देखाएर बढुवा गर्ने तयारी छ । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्ना ब्याचीलाई छुटाउन नमानेपछि गृहमन्त्री लेखकले आफूनिकटका एसएसपीलाई बढुवा गर्न दरबन्दी थपको प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् । 

हाल बढुवा रेसमा रहेका एसएसपीहरू क्रमशः सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुणकुमार पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव दास शर्मा र शारदप्रसाद चौधरी २०५३/०५४ मा इन्स्पेक्टरमा भर्ना भएको टोलीका हुन् । 

यसैगरी, एसएसपीहरू ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द प्रहरी महानिरीक्षक (आईजीपी) कुँवरका ब्याची हुन् ।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिमा अध्यक्ष गृह सचिव, सदस्य आईजीपी र सदस्य सचिव मानवस्रोत विकास विभागका एआईजी रहने व्यवस्था छ । तर, गृहसचिव दुवाडीले कासमूलाई आधार मानेर बढुवा गर्दा ब्याचसँग मतलब नहुने जवाफ कुँवरलाई दिएको स्रोत बताउँछ ।

प्रारम्भिक बढुवा सूचीअनुसार कासमुका आधारमा एसएसपीहरू राठौर, शाह, चतुर्वेदी, आचार्य, चन्द, राना, रावल र राउतलाई अटाइएको छ । तर, अब तीनवटा दरबन्दी थपिने निश्चित भएसँगै सूची फेरबदल हुने गृह स्रोत बताउँछ । 

गृहका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘८ वटा दरबन्दी खाली हुँदा बढुवा सूची निकालेको भए हुन्थ्यो, तर फेरि तीनवटा दरबन्दी थप्ने प्रस्ताव आएकाले प्रक्रिया लम्बिने देखिन्छ । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले आवश्यकताका आधारमा ट्राफिक कार्यालय, विमानस्थल र तालिम केन्द्रमा गरी डीआईजीको तीन दरबन्दी थप्न प्रस्ताव गरिएको बताए ।

उनले लोकान्तरसँग भने, ‘सुरक्षाका दृष्टिकोणले विमानस्थल आफैंमा पनि अति संवेदनशील क्षेत्र हो । प्रहरीले धेरै एयरलाइन्स एजेन्सीसँग समन्वय गर्नुपर्ने हुन्छ । त्यही भएर डीआईजी चाहिएको हो ।’ 

ट्राफिक कार्यालयको प्रमुखले महानगरपालिका, स्वास्थ्य मन्त्रालय, सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गर्नुपर्ने र त्यसका लागि विभिन्न आन्तरिक नीतिनिर्णय गर्नुपर्ने भएकाले डीआईजी चाहिएको जानकारी डीआईजी कार्कीले दिए ।

भरतपुर तालिम केन्द्र प्रहरीको एउटा अभिन्न अंग भएको र त्यहाँ प्रहरीको वृत्तिविकास लगायतका तालिम दिनुपर्ने र यो सँगै प्रमुखले केन्द्रसँग समेत समन्वय गर्नुपर्ने देखिएकाले डीआईजी आवश्यक रहेको कार्की बताउँछन् । 

‘तततत् कार्यालयमा पहिला डीआईजीकै दरबन्दी थियो, आवश्यकता देखिएन भनेर हटाइएको थियो होला,’ कार्कीले भने, ‘अहिले पुनः आवश्यकता देखियो, त्यही भएर दरबन्दी थपका लागि प्रस्ताव लगेका हौं ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्