
सिड्डीखोला सिँचाइ आयोजनामा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन गरेको छ ।
विशेषले प्रतिवादीहरूलाई सफाइ दिएपछि उक्त फैसलाविरुद्ध बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
अख्तियारले आरसीसी कुलो निर्माणमा भ्रष्टाचारको आरोपमा देवीप्रसाद पाण्डे, महेश सिंह, भीमबहादुर रोकाया, सर्जन शाही, दीपादेवी शाहीसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । आरोपअनुसार, सम्झौताविपरीत सामग्री प्रयोग गर्दै झुटा विवरण पेश गरेर १४ लाख रुपैयाँभन्दा बढी सरकारी रकम हिनामिना गरिएको थियो ।
विशेष अदालतले प्रतिवादीहरूको इन्कारी बयान, आयोजनाको सफल सञ्चालन रहेको प्रतिवेदन र प्राकृतिक प्रकोपका कारण संरचना बिग्रिनु स्वाभाविक रहेको ठहर गर्दै सफाइ दिएको थियो ।
तर, अख्तियारले अदालतमा पेश भएका मिसिल, स्थलगत प्रतिवेदन र साक्षीहरूको बयानले प्रतिवादीहरू दोषी रहेको पुष्टि भएको जिकिरसहित पुनरावेदन गरेको छ ।
अख्तियारका अनुसार, कुलोमा सम्झौताअनुसार सामग्री प्रयोग नगरी, नापी किताब र कार्य सम्पन्न प्रतिवेदनसमेत गलत बनाइएको थियो ।
आयोगले विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै उक्त फैसला बदर गरी दोषीहरूमाथि कारबाहीको माग गरेको छ ।