३० जेठ २०८३, शनिबार
पर्यटकीय शहरको कुरूप दृश्य

माइक्रोप्लाष्टिकले फेवाताल प्रदूषित, फोहोर व्यवस्थापनमा महानगरको आलटाल

मंसिर ८, २०८१
पाेखरा
माइक्रोप्लाष्टिकले फेवाताल प्रदूषित, फोहोर व्यवस्थापनमा महानगरको आलटाल
तस्वीर : आशिष पुरी।

सात वर्ष अगाडि तामझामका साथ तत्कालीन पोखरा उपमहानगरपालिकाले प्लाष्टिकका झोला र गिलास निषेधित क्षेत्र घोषणा गर्‍यो । २४ कात्तिक ०७३ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सभागृहमा आयोजित कार्यक्रममा पोखरालाई प्लाष्टिक निषेधित नगर घोषणा गरे । 

तर, यो निर्णय कार्यान्वयनमा आउन सकेन । उपमहानगरबाट महानगरमा परिणत भएसँगै २०७४ मा आएका जनप्रतिनिधिले यो निर्णयलाई लत्याए । प्लाष्टिक प्रतिबन्ध गरेर वातावरणीय प्रदूषण न्यूनीकरणको अर्को असफल प्रयास २०७९ सालमा फेरि गरियो । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रतिबन्ध लगाइएको सूचना महानगरले निकाल्यो । तर, त्यो पनि सफल हुन सकेन । 

महनगरको यो असफल प्रयासले सिमसार क्षेत्रलाई बढी प्रभावित बनाएको छ । जथाभावी फ्याँकिने फोहोर र प्लाष्टिक पोखराको बीचमै बग्ने फिर्के खोला हुँदै फेवाताल पुग्छ । पर्यटकीय गन्तव्य रहेको फेवातालको दृश्य बेलाबेला प्लाष्टिकले कुरूप देखाउँछ । विशेषगरी ड्यामसाइड क्षेत्रको त्यो दृश्य सामाजिक सञ्जालमा समय-समयमा छाइरहन्छ ।

प्रमुख पर्यटकीय गन्तव्य पोखरामा विभिन्न सामाजिक संघसंस्थाले सरसफाइ अभियान चलाउँछन् । फेवातालमा थुप्रिएका प्लाष्टिकका फोहोर र बोत्तल उठाउँछन् । तर, केही समयमै समस्या यथावत रहन्छ । जसको दीगो व्यवस्थापन छैन । 

फेवाताल प्रदूषणमा फिर्के खोला मुख्य स्रोत 
फेवातालमा जम्मा हुने फोहोरको स्रोत फिर्के खोला रहेको महानगरका प्रमुख धनराज आचार्य बताउँछन् । शुक्रबार यूएनडीपीको एक कार्यक्रममा बोल्दै आचार्यले फोहोर व्यवस्थापनकाका लागि खोला छेऊका बस्तीमा काम गर्न नसकेको स्वीकारे । 

‘फिर्के खोलाको दायाँबायाँ बस्ती छ । त्यहाँ काम गर्न सकेका छैनौं । गाईघाट क्षेत्रमा अरु समस्या पनि छ’, आचार्यले भने । 

तस्वीर : आशिष पुरी ।

प्रमुख आचार्यले औंल्याएको विषयलाई २०२२ अक्टोबरमा प्रकाशित भएको एक अनुसन्धान रिपोर्टले पनि पुष्टि गर्छ । फिर्के खोला भएर तालमा मिसिने स्थानमा सबैभन्दा बढी माइक्रोप्लाष्टिक भेटिएको छ । फेवाताल क्षेत्रमा गरिएको माइक्रोप्लाष्टिक सम्बन्धी सो अध्ययनले तालका सबै किनार दूषित भएको देखाउँछ । 

फिर्के खोला पछि पर्यटकको चहलपहल हुने पूर्वी क्षेत्रमा माइक्रोप्लाष्टिकको प्रदूषण बढी भेटिएको अनुसन्धान क्रममा भेटिएको छ । मानव क्रियाकलाप हुने स्थान, रेष्टुरेन्ट र ढलबाट पनि फेवाताल प्रदूषित भएको अध्ययनले देखाउँछ । बर्खाको समयमा शहरी क्षेत्रबाट फिर्के खोलाको माध्यमबाट आउने ढलको पानीले थप प्रदूषित हुने गरेको छ ।

अध्ययनका अनुसार फेवातालको पश्चिमी क्षेत्रमा माइक्रोप्लाष्टिकको मात्रा कम पाइएको छ । यद्यपि, क्रुस्कल–वालिस एक प्रकारको सांख्यीकीय परीक्षणले तालको विभिन्न भागमा माइक्रोप्लाष्टिको मात्रामा खासै फरक नरहेको देखाउँछ । 

सफा बाटा, फोहोर नाला र ताल
पोखरा घुम्न आउने पर्यटकले विमानस्थलबाट निस्किएपछि सडकको धुलो खाएपनि बाटो सफा छन् । सडक छेउछाउ स्थानीयले बाटोमै फोहोर थुपारे पनि महानगरले सकेसम्म व्यवस्थापन गरिहाल्छ । अन्य शहरको तुलनामा पोखरा सफा छ । तर, आँगन सफा राख्न सकेको पोखराले घरभित्र सफा गर्न सकेको छैन । फोहोर व्यवस्थापनमा महानगरको कमजोरी र स्थानीयको असमझदारीले फिर्के खोला र पोखराका नाला मिनी डम्पिङ साइट बनेका छन् । फिर्के खोलाको फोहोर सिधै तालमा गएर मिसिन्छ । जसले जलीय सन्तुलनलाई समेत हानी गरिरहेको छ । 

कार्यकालको शरूआतदेखि नै मेयर आचार्यलाई फोहोर व्यवस्थापनको चुनौती थियो । विमानस्थलका कारण ल्यान्डफिल्ड साइट सार्नुपर्ने विषयले उनलाई टाउको दुखाएको थियो । त्यो झन्झटले उनलाई अझै छोडेको छैन । हाल वडा नम्बर ३२ मा अस्थायी ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन हुन्छ । त्यहाँ पनि महानगरको लापरबाही नै देखिन्छ । जसको छेउबाटै सेती नदी बग्ने गरेको छ । 

nullफोहोर व्यवस्थापनको कमजोरी ढाक्न मेयर आचार्यले प्रशोधन केन्द्रको आश्वासन दिएको वर्ष बितिसक्यो । ६ महिनामा टिकट काटेर डम्पिङ साइट देखाउँछु भनेर बोलेका उनले कामको थालनी समेत गर्न सकेका छैनन् । फोहोर व्यवस्थापनका लागि अध्ययन भ्रमणमा नाममा पैसा भने खर्चभएको छ । 

महानगर प्रमुख आचार्य भने जग्गा प्राप्ति र सरकारी औपचारिकताको झन्झटले पनि समस्या भएको बताउँछन् । उसो त ल्यान्डफिल्ड साइटका लागि महानगरले स्थान पाउन कठिनाइ भने भोगेको छ । 

‘मेरो घरको फोहोर उठाउनुपर्छ भन्ने तर मेरो वडामा फोहोर आउनुहुन्न भन्ने ! नागरिक तहबाट यस्तो व्यवहार पाएका छौं’, प्रमुख आचार्यले भने,  ‘प्रशोधन केन्द्रबारे हामीले नागरिकलाई बुझाउन सकेका छैनौं । युरोपियन टेक्नोलोजीबाट ऊर्जा निकाल्ने गरि केन्द्र बनाउँदैछौं । जसको काम अब छिटो शुरू हुन्छ ।’

समस्याकैबीच पनि पोखरामा हिमालयन लाइफ प्लाष्टिकले फरक काम गरिरहेको छ । कम्पनीका जनरल म्यानेजर प्रकाश भारतीले आफूहरूले मासिक ४० टन प्लाष्टिक रिसाइकल गरिरहेको बताउँछन् । फोहोरलाई मोहर बनाउनका लागि त्यसको वर्गीकरण आवश्यक रहेको उनको भनाइ छ । 

‘फोहोर वर्गीकरण गर्न सकिएको छैन । वर्गीकरण गर्न सकियो भने फोहोरलाई मोहर बनाउन सकिन्छ । नत्र गाह्रो छ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्