
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा बयान लिन जिल्ला सरकारी वकिलको कार्यालय चितवन लगिएको छ ।
चितवनस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा भएको बचतकर्ताको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको हो ।
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका रविमाथि सरकारी वकिल कार्यालयमा बयान लिन शुरू भएको जानकारी चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले दिए ।
सहारा सहकारीको ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गोरखा मिडिया प्रालि र जीबी राई समूहका विभिन्न कम्पनीमा लगेर अपचलन गरेको हालसम्मको प्रहरी अनुसन्धानले देखाएको छ ।
शुरूमा गोरखा मिडियाका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध जाहेरी लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पछि पूरक जाहेरीमा रवि, गोरखा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सहाराका बचतकर्ताको रकम ठगी भएको मुद्दा यसअघि नै अदालतमा गइसकेको र अब गोरखा मिडियामा गएको रकमबारे अनुसन्धान भइरहेको जानकारी एसपी मिश्रले दिए । चितवन प्रहरीले छविलाई यसअघि नै बयानका लागि चितवनस्थित सरकारी वकिलको कार्यालयमा लगिसकेको छ ।
सहाराबाट ग्लोबल आईएमई बैंकमा रहेको गोरखा मिडियाको खातामा ४७ करोड रुपैयाँ जम्मा भएको देखिन्छ । यो तथ्य प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा समेत समेटेको छ ।
चितवन प्रहरीका अनुसार सहाराका बचतकर्ताले दिएको जाहेरीमा सहाराबाट गोरखा मिडियामा १० करोड रुपैयाँ गएको भनी उल्लेख गरेका छन् ।
सहाराका बचतकर्ताले रवि र छविसँगै जीबी ग्रुप अफ कम्पनीका शेयरधनीहरू क्रमशः सिन्धुलीको दुधौली नगरपालिका– २ का विशाल तामाङ, अर्का शेयरधनी नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ, रामबहादुर खनालविरुद्ध उजुरी दिएका थिए ।
सहाराबाट रविका नाममा कुनै कर्जा गएको देखिन्न । तर, सहाराको रकम गोरखा मिडियामा गएर अपचलन भएको र गोरखामै रवि प्रबन्ध निर्देशकका हैसियतमा काम गरेका कारण अपचलनमा उनको भूमिमाथि अनुसन्धान हुने जानकारी एसपी मिश्रले दिए ।
त्यसो त एमाले नेता एवं सांसद सूर्य थापा संयोजकत्वको सहकारी वचत अपचलन संसदीय छानबिन विशेष समितिले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको निष्कर्ष निकालेको थियो, त्यसमध्ये ६५ करोड रुपैयाँभन्दा बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याई अपचलन भएको समितिको निष्कर्ष थियो ।
सहारा चितवनबाट गोरखा मिडियाका नाममा १० करोड ८० लाख १८ हजार १५१ गएको भेटिएको छ ।
बचतकर्ताको ९ करोड ७३ लाख ८१ हजार ८९७ रुपैयाँ जीबीकै अर्को कम्पनी नेचर हब इन्टरनेसनल प्रालिमा लगिएको भेटिएको छ ।
जीबीकै जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ गएको देखिन्छ ।
प्रहरी अनुसन्धानका क्रममा कास्की कारागारमा रहेका कुमार रम्तेलको व्यक्तिगत खातामा ९७ लाख रुपैयाँ गएको भेटिएको छ । यसलाई रम्तेलले बयानमा स्वीकारेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार रम्तेलको एभरेस्ट र प्राइम बैंकको खातामा मात्रै ९७ लाख ५५ हजार रुपैयाँ जम्मा गरेको प्रमाण फेला परेको छ ।
उक्त रकम भने त्यहाँबाट निकालेर जीबी आफैंले खर्च गरेको बयान रम्तेलले दिएका थिए ।
चितवन प्रहरीले शुरूमा सहाराका बचतकर्ताको ३७ करोड ठगी भएको भन्दै चितवन अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अहिले पनि विचाराधीन नै छ । त्यतिबेला १७ जनालाई प्रतिवादी बनाइएको थियो ।
सहारा चितवनका तत्कालीन संस्थापक अध्यक्ष जीबी राई, केमन्त राई, सागर केसी, भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, दीपा न्यौपाने, मनोज गुरुङ, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर गरी १७ जनालाई प्रतिवादी बनाउँदै प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।
‘शुरूको अनुसन्धानमा ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो,’ चितवनका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘पूरक जाहेरी लिएर पुनः दोस्रो चरणको अनुसन्धान शुरू गरेका हौं ।’