
मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइबर अपराध कसुरको अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।
कम्बोडियास्थित एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भनेर दुष्प्रचार गरेपछि उनी अनुसन्धानको दायरामा आएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईंलाई पक्राउ गरेर साइबर ब्यूरोको जिम्मा लगाएको थियो । प्रसाईंले प्रहरी र सरकारी वकिल कार्यालयमा भने फरक–फरक बयान दिएका छन् ।
प्रहरीमा उनले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भनेर आफूले सार्वजनिक गरेको कागजात गलत रहेको स्वीकारेका छन् । तर, सरकारी वकिलको कार्यालयमा भने उक्त विवरण साँचो वा झूटो के हो भन्नेबारे अनुसन्धान गर्न माग गरेका छन् ।
स्रोतका अनुसार प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी रहे/नरहेको विषयमा कसले अनुसन्धान गर्ने भनेर सरकारी वकिल कार्यालयमा प्रतिप्रश्न गरेका थिए । तर, प्रहरीसँगको बयानमा भने उनले आफ्नो दाबी झूटो रहेको स्वीकारिसकेका छन् ।
साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झूटो रहेको स्वीकारेका हुन् । उनले प्रहरीसँग भनेका छन्, ‘कागजात झूटो रहेछ, मैले अरू कसैलाई विश्वास गरेर सार्वजनिक गर्दा फसें ।’
प्रसाईंले कागजात ल्याउन आफूले एक करोडभन्दा बढी रकम तिरेको विषय पनि झुटो रहेको स्वीकारे ।
‘एक त त्यो कागज नै झुटो रहेछ, त्यस्ता कागज ल्याउन मैले किन १ करोड बुझाउनु, झूटा कुरा हुन्,’ प्रसाईंको बयान उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘एक करोड सानो पैसा होइन ।’
विवादित मेडिकल व्यवसायी प्रसाईं यसअघि पनि साइबर अपराध कसुरमा पक्राउ परेर धरौटीमा छुटेका थिए । अहिले भने प्रहरीले प्रसाईंविरुद्ध साइबर र कीर्तेसँगै आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
साइबर ब्यूरोका प्रमुख डीआईजी नबीन्द अर्यालले प्रसाईंले सामाजिक सञ्जाल दुरुपयोग गरेर प्रधानमन्त्रीविरुद्ध गलत अभिव्यक्ति दिएको प्रमाणले पुष्टि गरेको बताए । उनले लोकान्तरसँग भने, ‘प्रहरीसँगको बयानमा प्रसाईंले आफ्नो दाबी झूटो रहेको स्वीकारिसकेका छन् । हामी थप अनुसन्धान गर्दैछौं ।’
त्यसो त प्रसाईंले व्यक्ति परिचालन गरेर भारतीय आपराधिक गिरोह ‘लरेन्स विश्नोइको एजेन्ट’का नाममा नेपालका व्यापारी र राष्ट्र बैंकका उच्चपदस्थ कर्मचारीलाई धम्क्याएको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । धम्की दिने झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा प्रसाईं र फुयाँलबीच पटक–पटक फोन सम्पर्क देखिएको थियो । फुयाँलले प्रहरीसँगको बयानमा प्रसाईंकै निर्देशनमा आफूले फोन गरेर धम्की दिएको उल्लेख गरेका छन् ।
‘प्रसाईंले आफू गलत हर्कत गर्ने र त्यसको विरोध गर्नेलाई अर्कै व्यक्ति परिचालन गरेर धम्की दिने गरेको देखियो,’ सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’
साइबर ब्यूरोले चलाएको मुद्दाको अन्तिम किनारा लागेपछि प्रसाईंलाई सीआईबीले थप अनुसन्धान गर्ने जानकारी बोगटीले दिए ।