
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग फरक–फरक ४ जिल्लामा बयान लिइएको छ ।
गत कात्तिक २ गते काठमाडौंको वनस्थलीबाट पक्राउ परेका रविलाई रातारात जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । कास्कीमा उनलाई २५ दिन हिरासतमा राखेर कात्तिक २७ गते रुपन्देही लगियो ।
कास्कीको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । रुपन्देहीस्थित सुप्रिम सहकारीको रकम पनि गोरखा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
रुपन्देही प्रहरीको हिरासतमा ३ रात बिताएका रविसँग त्यहाँस्थित सरकारी वकिल कार्यालयमा २३ घण्टा बयान लिइयो । ७४ वटा प्रश्न सोधिएकोमा उनले इन्कारी बयान दिए ।
सबै दोष गोरखा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईमाथि थोपरे । आफ्नै हस्ताक्षरको चेकलाई समेत उनले ड्रयरमा हस्ताक्षर गरेर राखेको चेक कसैले भरेर बुझाएको होला भन्ने जवाफ दिन भ्याए ।
रुपन्देहीस्थित सरकारी वकिल कार्यालयमा बयान सकिएपछि कात्तिक ३० गते पुनः कास्की लगियो । कास्कीमा रविविरुद्ध ठगी, संगठित अपराध तथा सजाय ऐन, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दामा अनुसन्धान भइरहेको छ ।
कास्कीमा पुनः १२ दिन राखेपछि मंसिर १३ मा रविलाई काठमाडौं ल्याइयो । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।
त्यतिमात्रै होइन, रवि र जीबीको संयुक्त नाममा २ वटा गाडी समेत खरिद गरिएको प्रमाण प्रहरीले भेटेको छ । गाडी खरिद गर्दा स्वर्णलक्ष्मीबाट लिइएको ऋण अझै चुक्ता भएको छैन ।
काठमाडौं प्रहरीको हिरासतमा ४ रात बिताएका रविसँग झण्डै ३० घण्टा बयान लिएर ७५ वटा प्रश्न सोधिएको थियो । काठमाडौंबाट रविलाई कास्की लगिने भनिए पनि मंसिर १८ मा चितवन पुर्याइयो ।
चितवनस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको १० करोड ८० लाख १८ हजार १५१ गोरखा मिडियामा गएको भेटिएको छ । त्यस्तै, रविका पार्टनर जीबीका अन्य कम्पनीमा समेत गरी सहाराको ४३ करोड रुपैयाँ अपचलन भएको देखिन्छ ।
चितवनमा रविको निर्वाचन क्षेत्र भएकाले उनलाई सरकारी वकिल कार्यालयमा लैजान प्रहरीलाई हम्मेहम्मे पर्यो । प्रहरी र रविका समर्थकबीच घम्साघम्सी चल्यो । ढुंगामुडामा प्रहरीसँगै सर्वसाधारण पनि घाइते भए ।
चितवनस्थित सरकारी वकिल कार्यालयमा रविसँग १८ घण्टा बयान लिइयो । उनले ४० वटा प्रश्नको सामना गर्नुपर्यो । रविले बयानमा आफूमाथि सरकारले प्रतिशोध साँध्न चितवन ल्याएको भन्दै प्रश्न गरे ।
चितवनको बयान सकिएपछि रविलाई बिहीबार बिहान ३ बजेतिर स्थल मार्ग हुँदै कास्की लगिएको छ । कास्कीमा चारवटा अभियोगमा रविलाई फरक–फरक प्रश्न सोधिएको छ । स्रोतका अनुसार रविलाई चारवटा अभियोगमा डेढ सयभन्दा बढी प्रश्न सोधिएका छन् ।
रविविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । पर्सास्थित सानोपाइला सहकारी संस्थामा जम्मा भएको ८ करोडभन्दा बढी रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले कास्की प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार अब एकपटक म्याद थप गरेर पर्सामा बयान दिन पठाएपछि सरकारी वकिल कार्यालयमार्फत मुद्दाको मिसिल बुझाउने तयारी छ ।
पाँचवटा सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडियामा अपचलन गरेको आरोप रवि, जीबी राई, छविलाल जोशी बञ्जाडे, कुमार रम्तेल लगायतमाथि छ ।