
कलाकार श्रीकृष्ण सिंखडाको नयाँ गीत सार्वजनिक भएको छ । ‘घाँस दाउरा पानी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत र स्वर सिंखडा स्वयंको छ । संगीत संयोजन सञ्जय खड्गीको छ ।
नेपाली ग्रामीण परिवेशलाई गीतले समेटेको छ । ‘गाउँमा बस्ने अधिकांश नेपालीको जीवन घाँस, दाउरा, पानी र हलो गर्दै बित्छ, गाउँका युवा विदेशमा छन् । गाउँ रित्तो भएको छ, यही आसपासमा रहेर गीत लेखेको हुँ,’ सिंखडाले भने ।
रित्तिएका गाउँका देउराली परिदेसिएका युवालाई पर्खिएर बसिरहेको वास्तविकता गीतले उठान गरेको छ । गीतले समाजको वास्तविकतालाई उजागर गरेको भनाई सिंखडाको छ ।
सिंखडाको केही अघि मात्रै ‘हारेर हेर जिन्दगीमा’ बोलको गीता सार्वजनिक भएको थियो । यो गीत समग्र मानवको स्वभाव र त्यसले सिर्जना गरेको परिस्थितिमा केन्द्रित रहेको भनाइ सिंखडाको छ ।
‘अहिले हरेक मानिस आफू जित्न चाहन्छन् । जित्ने दौडमा रहेको मानिस हार्न चाहँदैन । तर, एउटाले नहारी अर्कोले जित्दैन,' सिंखडा भन्छन्, ‘समाजको यो लडाइँलाई गीतले समेटेको छ ।’
सिंखडा पछिल्लो समय कविता वाचनमा पनि केन्द्रित छन् । विद्यालयमा पुगेर उनले कविता वाचन गर्दै आएका छन् ।
बाल मनोविज्ञानमा कविताप्रति सकारात्मक छाप छोड्न विद्यालयमा गएर कविता वाचन गर्ने गरेको उनी बताउँछन् ।