
मंसिर ७ गते नेकपा एमालेको जागरण सभामा नेपाली कांग्रेससँगको सत्ता समीकरण २०८४ को चुनावसम्मै जाने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले १३ दिनमै फेरि यही कुरा दोहोर्याएका छन् ।
सबैभन्दा ठूलो दल कांग्रेसको साथ पाउँदा झण्डै दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने अवसर ओलीलाई छ । कांग्रेसले संस्थागत निर्णय गरेरै आलोपालो सहमतिमा भरोसा गर्न ओलीलाई आश्वस्त पारेको छ । तर, प्रधानमन्त्री ओली पटक–पटक कांग्रेसलाई आश्वस्त पार्ने प्रयासमा देखिन्छन् ।
सत्ता तलमाथि हुँदैन भन्ने सन्देश दिनकै लागि मंसिर ७ गते एमालेले काठमाडौंमा जागरण सभा गरेको थियो । सभामा ओलीले ‘सबैले कान खोलेर सुने हुन्छ, समीकरण २०८४ सम्मै जान्छ’ भनेका थिए ।
‘सरकार बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदैन भन्थे, पायो । एक महिना, दशैंतिहार, कात्तिक महिना कट्दैन भन्थे, कट्यो,’ ओलीले भनेका थिए, ‘अब फरवरी (फागुन)को कुरा गर्लान् । म भन्न चाहन्छु, २०८४ मंसिरको चुनावसम्म अहिलेको समीकरण रहन्छ, सबैले कान खोलेर सुने हुन्छ ।’
ओली यत्तिमै सीमित भएनन् । कांग्रेस सभापति देउवा र आफूबीच अबको १८/१८ महिना सत्ता साझेदारी हुने समेत प्रस्ट्याएका थिए । ‘२०८३ असारसम्म म प्रधानमन्त्री रहन्छु । मैले प्रधानमन्त्री छाडेर देउवाजीलाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु, त्यसपछि देउवाजीले १८ महिना चलाउनुहुन्छ,’ ओलीले भनेका थिए ।
१८ महिना चलाउँछु भनेका ओलीले १८ दिन नबित्दै फेरि उही सत्ता साझेदारीको कुरा दोहोर्याएका छन् । चीनको ४ दिने भ्रमणबाट फर्किँदा बिहीबार ओलीले अबको १८ महिनामा देउवालाई सत्ता बुझाउने बताए ।
‘मैले कतिपटक यही प्रश्नको जवाफ दिने ? अब करिब–करिब १८ महिना मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीले भने, ‘उहाँले डेढ वर्ष चलाएर चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको सहमति यही हो ।’

कांग्रेस नेता डा. प्रकाशशरण महत आफू नहुँदा केही भयो कि भन्ने आशंकाले प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएको हुनसक्ने बताए ।
‘म चीन गएका बेला केही भयो कि भन्ने आशंकामा उहाँले बोल्नुभएको हो । हामीसँग भएको सहमतिको सवालमा प्रतिबद्धता व्यक्त गर्नुभएको होला,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लोकान्तरसँग भने, ‘तर, हामीसँगको सत्ता सहयात्रा र समीकरणमा प्रधानमन्त्रीजी आत्तिनुपर्दैन, हामी गरेको प्रतिबद्धतामा इमान्दार हुन्छौं ।’
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम समीकरणमा खटपट आउँदैछ भन्ने भाष्य निर्माण गर्न खोजिएकाले टिप्पणी गर्नुपरेको बताउँछन् । ‘दुवै दलले सहमति व्यवहारमा कार्यान्वयन हुन्छ भनेर पटक–पटक भनेका छौंं,’ गौतमले लोकान्तरसँग भने, ‘तर, मिडियामा अनेक आशंकाका कुरा उठाउन थालिएपछि प्रधानमन्त्रीले बोल्नुभएको हो । कांग्रेससँग असमझदारी नभए पनि भएकोजस्तो देखाउन खोजिएकाले कहिलेकाहीँ टिप्पणी गर्नु र प्रस्ट्याउनु अस्वाभाविक होइन ।’
राजनीतिक विश्लेषक शंकर तिवारी उत्तर र दक्षिणको हावाले सत्ता समीकरणमा केही असर गर्दैन भनेर प्रधानमन्त्रीले बोलेको बताउँछन् ।
‘अस्थिरता मच्चाउन चाहनेले सरकारको आयुलाई लिएर अझै पनि अनेक टिप्पणी गर्न छाडेका छैनन् । यसैले उत्तर–दक्षिणको हावाले केही असर गर्दैन भनेर प्रधानमन्त्रीले पत्रकारले उठाएको प्रश्नको जवाफ दिएको देखिन्छ,’ तिवारीले भने, ‘शंका केही नगरौं, म विगतको प्रतिबद्धताप्रति इमान्दार छु भनेर प्रस्ट पार्नुभएको हो ।’
छिमेकीबीच सन्तुलन मिलाउने संकेत पनि ओलीले बिहीबार एयरपोर्टबाटै गरेका थिए । ओलीले ‘अब भारत भ्रमणको पनि प्रबन्ध गर्नुपर्छ’ भनेर बोलेका थिए ।
कांग्रेससँग ७ बुँदे सहमति भएपछि गत असार ३० गते ओली प्रधानमन्त्री भएका थिए ।
प्रधानमन्त्री भएलगत्तै साउन ६ गते विश्वासको मत लिँदा ओलीले ७ बुँदे सहमति सार्वजनिक गरेका थिए, जसमा कांग्रेससँग सरकारमा आलोपालो गर्ने सहमतिको बुँदा समेत थियो ।
यसअघि सत्ता बाँडफाँडका लागि कुनै लिखित सहमति र संसद्बाटै यस्तो जानकारी गराउने प्रचलन थिएन । तर, ओलीले पब्लिक अडिट हुने गरी सत्ता हस्तान्तरणमा प्रतिबद्ध रहेको बताएका थिए ।
फेरि केही दिनमै ओलीले सचिवहरूलाई निर्देशन दिँदै आफ्नो दुई वर्ष पुग्नु एकसाता अगाडि नै राजीनामा दिने बताएका थिए । यतिमात्रै होइन, ओलीले एमालेको पोलिटब्युरो बैठकमा समेत सत्ता सहयात्रामा कुनै तनाव नआउने बताएका थिए ।
देउवाको पनि प्रतिबद्धता
ओलीले मात्रै होइन, कांग्रेसले संस्थागतरूपमा र सभापति शेरबहादुर देउवाले पनि सार्वजनिक भाषणका क्रममा पटक–पटक एमालेसँगको सत्ता सहयात्रा सहजै अगाडि बढ्ने बताएका छन् ।
भदौ १६ गते कांग्रेस केन्द्रीय समितिको बैठकले एमालेसँग गरिएको ७ बुँदे सहमतिप्रति प्रतिबद्ध रहने निर्णय गरेको थियो । प्रतिस्पर्धी पार्टी भए पनि राजनीतिक स्थायित्वका लागि मिलेर अगाडि बढ्ने देउवाले बताएका थिए ।
सरकारको सय दिनको समीक्षा गर्दै देउवाले कात्तिक ९ गते पनि ओलीको प्रशंसा गर्न बाँकी राखेका थिएनन् । ‘मलाई त सरकार धेरै कुराले गर्दा राम्रो लागेको छ । सय दिनलाई मैले राम्रो मानेको छु,’ देउवाले भनेका थिए, ‘एक सय दिन सरकारको हनिमुन डेज हुन् । सय दिनमा ओलीजीले राम्रो काम गर्नुभएको छ ।’

गत कात्तिक १७ गते पनि देउवाले ओलीले राम्रो काम गरेको दाबी गरे ।
‘हामी सरकारमा भएको कारणले मात्रै होइन, केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ,’ देउवाले भनेका थिए, ‘प्रधानमन्त्री ओलीले साँच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रो काम गर्दै जानुहुनेछ ।’
देउवाले पनि ओलीकै शैलीमा आलोपालो सरकार चलाउने पटक–पटक बताउँदै आएका छन् ।
‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो,’ देउवाले भने, ‘कसले भन्यो कांग्रेस असन्तुष्ट छ भनेर ? सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो, त्यस्तो केही छैन,’ केही समयअगाडि देउवाले भनेका थिए ।
आलोपालोको सहमतिकाबीच सरकार सञ्चालनमा समस्या नआओस् भनेर दुई दलले शीर्ष ८ नेता सम्मिलित संयन्त्र पनि बनाएका छन्, जसमा ओली र देउवाका विश्वासपात्रहरू छन् ।
संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल संयन्त्रको सदस्य छन् ।