
सन् २०११ फेब्रुअरी १६ तारिखका दिन दिउँसो १४ वर्षका मुअविया स्यास्नेहले सिरियाको दारास्थित आफ्नै विद्यालयको पर्खालमा अरबी भाषामा 'अब तिम्रो पालो डाक्टर !' भनेर लेखे ।
विद्रोहीले कब्जा गरेपछि आइतबार मात्र रुस भागेका सिरियाका राष्ट्रपति बसर अल-असदलाई डाक्टर भनिन्थ्यो, किनभने उनी आँखाका डाक्टर थिए ।
स्यास्नेहले आफ्नो स्कूलको भित्तामा 'अब तिम्रो पालो डाक्टर' भनेर कुनै सोचविचार नगरी लेखेका थिए । त्यसअघि बन्द गरिएको फेसबूक भर्खर शुरू भएको थियो । युट्युब चलिरहेको थियो । भर्खर सामाजिक सञ्जाल चलाउन थालेका स्यास्नेहले अरब वसन्त देखेका थिए ।
उनमा अरब वसन्तको गहिरो प्रभाव पर्यो । स्यास्नेहले २०११ मा ट्युनिसिया र इजिप्टमा भएका जनआन्दोलनहरू देखेका थिए, जहाँ दशकौंदेखि सत्तामा रहेका अधिनायकवादी नेताहरूलाई जनताले सत्ता छाड्न बाध्य पारेका थिए ।
त्यसपछि उनले कुनै सोचविचार नगरी आफ्नो स्कूलको भित्तामा राष्ट्रपति असदलाई लक्षित गर्दै 'अब तिम्रो पालो डाक्टर !' भनेर लेखे ।
त्यसको भोलिपल्ट बिहान स्यास्नेह र उनका साथीहरूलाई प्रहरी आएर पक्राउ गर्यो । उनलाई ४५ दिनसम्म हिरासतमा राखियो । हिरासतमा उनी र उनका साथीहरूलाई कठोर यातना दिइयो ।
उनले भित्तामा लेखेको ४ शब्दले सिरियामा गृहयुद्ध निम्त्यायो ।

असद थप तानाशाही बन्दै गए । युद्धका कारण स्यास्नेहको जीवनमा ठूलो परिवर्तन आयो । उनले आफ्नै बुबासहित धेरै नजिकका साथी र अन्य परिवारका सदस्यहरू गुमाए ।
केही वर्षअघि अलजजिराले उनीबारे बनाएको डकुमेन्ट्रीमा उनले त्यो पर्खालमा लेख्दा यति ठूलो संकट आउला भन्ने कल्पनासम्म नगरेको बताएका थिए ।
उनको जन्मस्थल दारा अहिले पूर्णरूपमा ध्वस्त भएको छ । उनी विभिन्न मोर्चाहरूमा असदविरुद्ध संघर्ष गर्दै आएका छन् । युद्धको प्रत्यक्ष प्रभावले गर्दा उनी एक साधारण किशोरबाट युद्धको एक सिपाहीमा परिवर्तन भएका छन् ।
पछिल्लो समय उनीबारे त्यति धेरै सार्वजनिक जानकारी नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
संविधान संशोधन गरेर ३४ वर्षमै राष्ट्रपति बनेका थिए असद
सन् २००० को जुलाई १७ मा आफ्नो पिताको मृत्यु भएपछि असद ३४ वर्षकै उमेरमा सिरियाको राष्ट्रपति बन्न सफल भएका थिए ।
उनका पिता हाफिज अल-असदको मृत्यु भएपछि सिरियाली संसदले तत्काल संविधान संशोधन गर्दै असदलाई राष्ट्रपति बनाउने प्रयोजनका निम्ति उमेरको न्यूनतम सीमा ४० वर्षबाट घटाएर ३४ वर्ष बनाएको थियो ।
उनका पिता हाफेजले १९७० मा सिरियाको सत्ता कब्जा गरेका थिए । उनले सिरियाको बाथ पार्टीलाई सुदृढ बनाउँदै अल्पसंख्यक 'अलवाइत' समुदायलाई सत्ताको केन्द्रमा पुर्याएका थिए । सन् १९९४ देखि बाथ पार्टीको राजनीतिमा सक्रिय असद २००० मा सिरियाको राष्ट्रपति बनेका हुन् ।
असदले शुरुआतमा केही सुधारका सन्देशहरू दिएका थिए । २०११ सम्म आफ्ना जनतालाई केही थामथुम पारेर सहज ढंगबाट सत्ता चलाइरहेका असद अरबमा फैलिएको आन्दोलनको चपेटामा परे ।
आफूविरुद्ध पनि आन्दोलन हुने संकेत पाएका उनले पनि शुरूआतमै आफ्ना विरोधीका रूपमा चिनिने हजारौंको सफाया गर्न आदेश दिएका थिए ।
उनको यस्तो दमनले सशस्त्र विद्रोहलाई जन्म दियो, जसले गृहयुद्धको रूप लियो ।
उनीमाथि मानव अधिकार उल्लंघनका धेरै आरोप लाग्यो । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताले २०१३ मा राजधानी दमास्कसमा 'नर्भ' ग्यास प्रयोग गरिएको पुष्टि गरेका थिए ।
रासायनिक हतियार प्रयोग गरेर दमास्कसमा १४ सयभन्दा बढीको ज्यान लिएको आरोप उनीमाथि छ ।
त्यसपछि पश्चिमा राष्ट्रहरूले असदलाई पद त्याग्न आह्वान गरे । यद्यपि रुस र इरानको सहयोगले उनको शासन थप मजबुत बनेको थियो ।
विद्रोही र असद समर्थक सेनाबीचको संघर्षले देश थप छिन्नभिन्न भयो । सन् २०१५ मा इस्लामिक स्टेटजस्ता कट्टरपन्थी समूहहरूको उदयले द्वन्द्वलाई थप जटिल बनायो ।
असदले बारम्बार आफू बहुमतद्वारा निर्वाचित राष्ट्रपति भएको दाबी गर्थे, तर अन्तर्राष्ट्रिय समुदायले ती निर्वाचनहरूलाई 'नक्कली' भनेका छन् । २०२१ को निर्वाचनलाई अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले लोकतान्त्रिक मान्यता दिन अस्वीकार गरेका थिए ।
उनको शासनकालमा केही मिति स्मरणयोग्य छन् । सन् २०१३ मा दमास्कसमा रासायनिक हतियारबाट आक्रमण भयो भने त्यसको एक वर्षपछि आईएसआईएसले उनीविरुद्ध सैन्य अभियान चलायो । अमेरिकालगायतका पश्चिमा देशहरूले असदलाई तत्काल पद त्याग्न चेतावनी दिएका थिए, तर उनी थप दमनमा उत्रिए ।
सन् २०१५ मा रुस असदको पक्ष लिँदै प्रत्यक्ष युद्धमा होमियो जसले असदको शासनलाई थप बलियो बनायो । इरान समर्थक हिजबुल्लाह र अन्य समूहहरूले असदलाई पहिल्यैदेखि सहयोग गरिरहेका थिए ।
गत २७ नोभेम्बरमा हयात तहरीर अल-शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले उत्तर-पश्चिमी सिरियाबाट ठूलो आक्रमण शुरू गर्यो । केही दिनमै उक्त समूहले सिरियाको दोस्रो ठूलो शहर अलेप्पो कब्जा गर्यो र दक्षिणतर्फ दमास्कससम्मको राजमार्ग हुँदै तीव्ररूपमा अगाडि बढ्यो ।
विद्रोहीहरूले यस क्रममा हमास, होम्स, डेयराअ र स्वेइदाजस्ता प्रमुख शहरहरू पनि नियन्त्रणमा लिएका छन् । आइतबार बिहान उनीहरू दमास्कस प्रवेश गरेपछि देशको सबैभन्दा ठूलो सैन्य जेल सैदनायामा थुनिएका हजारौं कैदीहरूलाई मुक्त गरेका थिए । विद्रोही दमास्कस प्रवेश गर्नुभन्दा अगाडि नै असदले देश छाडेका थिए ।
२ वर्षका बालक आलन कुर्दीको मृत्युमा जब संसार स्तब्ध बन्यो
सिरियाली कुर्द जातिका दुई वर्षका बालक आलन कुर्दीको २०१५ को २ सेप्टेम्बर मा भूमध्य सागरमा डुबेर मृत्यु भएको समाचारले संसार स्तब्ध भयो ।

आलन उनकी आमा र ५ वर्षका भाइ गालिब सिरिया छाडेर टर्की हुँदै ग्रीस गएर शरण लिने प्रयास गरिरहेका बेला जब उनीहरूको सानो डुङ्गा पल्टियो र सबैको मृत्यु भयो ।
उनको शव ११ दिनपछि समुद्रको किनारमा पल्टिरहेको अवस्थामा भेटियो र यो संसारभरि फैलियो । उनको तस्वीर शरणार्थी संकटको प्रतीक बन्यो । यसले शरणार्थीहरूको जीवन संकटको बारेमा विश्वभर चासो र जागरुकता बढायो ।
आलनको परिवारले शरणार्थीका रूपमा क्यानडामा आवेदन दिएको थियो तर अस्वीकृत भएको थियो । यस घटनाले क्यानाडालगायतका धेरै देशहरूमाथि शरणार्थी नीतिमा सुधार ल्याउन दबाब सिर्जना भएको थियो ।
यो सिरियाली युद्ध र शरणार्थी संकटको भयंकर वास्तविकतासँग जोडिएको एक दुखद घटना थियो ।
१३ वर्ष लामो गृहयुद्धका कारण सिरियामा लाखौंको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल ७० लाखभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित छन् भने ६० लाखभन्दा बढी अन्तर्राष्ट्रिय शरणार्थी बनेका छन् ।