
बाहिरी बजारमा त्यति हल्लीखल्ली नभएको मात्र हो, निरन्तर १० दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक बहस चल्यो ।
राज्यसत्ताका राजकीय पद पाउने, गुट–उपगुट, नेतृत्व कब्जा गर्नेतिर बहस केन्द्रित थिएन । एउटा ‘निस्वार्थ’ बहस थियो– ‘क्रान्तिको बाटो निर्धारण गर्ने’ ! नेपाली कम्युनिस्ट आन्दोलनभित्र दार्शनिक मानिने मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन मंसिर १३ गते शुरू भएर २३ गते सम्पन्न भयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाकक्षमा महाधिवेशनको बन्दशत्र चलिरह्यो । करिब ५ सय ५० देशभरका प्रतिनिधि/पर्यवेक्षकबीच बहस चल्यो । त्यो दश दिनमा कीर्तिपुर नगरपालिकामा उप–चुनावको माहोल आयो र सकियो । क्रिकेट मैदानमा एनपील शुरू भयो । तर, छेउमै चलिरहेको बन्दशत्र प्रभावित भएन । २३ गते वैद्यकै नेतृत्वमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकमध्येका ५० प्रतिशत केन्द्रीय समितिमा परेर फर्किए ।
नेपाली कम्युनिस्ट आन्दोलनको विभिन्न धारमध्ये वैद्य नेकपा (चौथो महाधिवेशन)बाट उदाएका नेता हुन् । २०४० सालदेखि टुटफुट हुँदै २०५२ फागुन १ गतेदेखि ‘सशस्त्र जनयुद्ध’का संस्थापक हुन्, वैद्य । मूल पार्टी नेकपा (माओवादी)बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टिएर सानो झुण्डमा ‘जनयुद्धकालीन’ नेता/कार्यकर्ता वैद्यको साथमा छन् । एउटा ऐतिहासिक संयोग कस्तो जुर्यो भने नेकपा (मसाल)का पूर्व नेताहरूसहित चौथो महाधिवेशन आयोजक समितिका केही सदस्य र पाँचौं महाधिवेशनका प्रतिनिधिहरू झण्डै ४० वर्षपछि एकै ठाउँमा थिए ।
तीमध्ये वैद्य, रामसिंह श्रिस, सीपी गजुरेल चौथो महाधिवेशनमै केन्द्रीय नेता थिए । त्यसमध्ये पाँचौ महाधिवेशनमा प्रतिनिधि बन्नेहरू सन्तबहादुर नेपाली, हरिभक्त कँडेल, कृष्ण पौडेल, गोविन्दसिंह थापा (मामा), चन्द्रहरि सुवेदीसहित । पुराना सहकर्मीहरूबीच एकता हुने क्रमले एकता महाधिवेशनको आयोजना भएको थियो । महाधिवेशनमा नयाँ विषयभन्दा पनि पुरानै विषयमा जिल्ला तहसम्म तीन महिनादेखि फोरम (बहस) चलाइएको थियो । जिल्लाबाट चुनिएर आएका प्रतिनिधिहरूले फेरि १६ वटा समूह बनाएर १० दिनसम्म बहस गरे ।
प्रतिवेदन १६ वटा थियो । त्यसमा कतिपय पूरक र फरक मत पनि थिए । राजनीतिक, नीति तथा कार्यक्रम, विधान, धर्म/संस्कृति, आर्थिक, जातीय, मुस्लिम, महिला, पर्यावरण र संघर्षसम्बन्धी समसामयिक प्रस्तावहरूमाथि छलफल भएको थियो । तीन महिनादेखि फोरम चलाएर पनि महाधिवेशनसम्म आइपुग्दा तीनवटा विषयमा बहस चल्यो । ती बहसका तीन विषयहरू थिए–
(क) पार्टीको पथ प्रदर्शक सिद्धान्त माओवाद वा माओ विचारधारा ।
(ख) नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धको समीक्षा/मूल्यांकन ।
(ग) संघीयतासम्बन्धी ।
दश दिने बहसले टुङ्ग्याएको विषयः क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको पथ प्रदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद । माओको योगदानलाई आत्मसात नगरेसम्म कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन भन्ने सहमति भयो । र, पूर्व मसाल समूहले अघि सारेको माओ विचारधारालाई खुला बहसमा लाने विषयमा सहमति भएको छ । माओवाद र माओ विचारधाराको सैद्धान्तिक आरोप–प्रत्यारोप पुरानै खालको थियो ।

माओ विचारधारा मान्नेहरूले ‘माओवाद’लाई पथप्रदर्शक मान्दा आत्मकेन्द्रित, अराजकतावादी, मनोवाद र अतिवादी हुने सैद्धान्तिक आरोप खेपे । माओवाद मान्नेहरूले ‘माओ विचारधारा’ नमान्नेहरूलाई माओको योगदानलाई बोक्न नसक्ने नसक्ने भनेर आरोप लगाए । यो कुरा पहिले एकता केन्द्र गठन हुँदा, माओवादीले २०५२ मा ‘जनयुद्ध’ थालनी गर्दा र पछि नारायणकाजी श्रेष्ठ माओवादीसँग गाभिएर हेटौंडा महाधिवेशन हुँदासम्म कायम थियो ।
दोस्रो विषय थियो, पूर्व मसाल समूहले ‘जनयुद्ध’ गलत भनेको कुरा । वैद्य समूहले त्यसलाई पूरै अस्वीकार गरेको थियो । महाधिवेशनबाट ‘जनयुद्ध’को योगदानको कदर, कतिपय कमीकमजोरीसहित स्वीकार्ने सहमति भयो । जनयुद्ध गलत थियो भनेर फरक मत राख्नेहरूले पार्टी फोरममा मत राख्न पाउने, तर बाहिर बहसमा जनयुद्ध गलत थियो भन्न नपाउने गरी बहसलाई व्यवस्थापन गरिएको छ ।
माओवादीले जनयुद्ध शुरू गरेदेखि जोडतोडले उठाएको विषय थियो ‘जातीय आत्मनिर्णयको अधिकार’ । यो विषय संघीयताबारे सम्बन्धित थियो ।
वैद्य समूहका पवनमान श्रेष्ठले जातीय आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्ताव पेश गरेका थिए । मसाल समूहले आत्मनिर्णयको अधिकार छुट्टिन पाउने अधिकारसहितको हुँदा त्यो अवधारणा असफल भएको तर्क गरेको थियो । पछि सहमतिमा आउँदा पहिचान र आत्मनिर्णयको अधिकारसहितको संघीयता मान्ने सहमति भएको छ । तर, आत्मनिर्णयको अधिकारबारे बाहिर बहस गर्न पाउने गरी समस्या हल गरिएको छ ।
त्यसैगरी, कम्युनिस्ट आन्दोलनको इतिहाससम्बन्धी मूल्यांकन गर्दा चारवटा धार प्रस्ट्याइएको छ । केशरजंग रायमाझी, पुष्पलाल श्रेष्ठ, झापाली समूह र चौथो महाधिवेशनबाट आएको धार । त्यसको मूल्यांकनमा रायमाझीले कम्युनिस्ट आन्दोलन राजालाई बुझाएर समाप्त पारिसकेको, पुष्पलालको केही अवशेष झापाली समूह माले हुँदै अहिलेको एमाले र चौथो महाधिवेशन धार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा रहेको भनी मूल्यांकन गरिएको छ ।
पार्टीले संघर्षको स्वरूप अघि सारेको छ । संघर्षको पहिलो स्वरूप जनसंघर्ष अर्थात वर्ग संघर्ष । जन संघर्षबाट प्रतिरोध संघर्ष । प्रतिरोध संघर्षबाट सशस्त्र शहरी जनविद्रोहमा जाने कार्यक्रम अघि सारिएको छ । त्यसका लागि मिल्दो शब्द भनेर ‘नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्ने उद्देश्य’लाई मूल राजनीतिक कार्यदिशा मानिएको छ ।
पार्टीलाई एकपदीय बनाउनका लागि महाधिवेशनबाट वैद्य पुनः महासचिव बनेका छन् । अन्य शीर्ष नेताहरूको मर्यादा कसरी मिलाउने भन्ने विषयमा छलफल भएको छैन । यसअघि गजुरेललाई वरिष्ठ नेता भनेर मर्यादाक्रम मिलाइएको थियो । आगामी माघमा केन्द्रीय समितिको पूर्ण बैठकबाट सबै जिम्मेवारी बाँडफाँड गर्ने तयारी भएको छ । वैकल्पिकसहित २ सय २५ जनाको केन्द्रीय समिति गठन भएको छ ।
चौथो महाधिवेशनताकाका बाहुल्य परम्परावादी माओवाद विचारधारा मान्नेहरूको एउटा संयोजनकै रूपमा महाधिवेशन सक्किएको छ । वैचारिक, सैद्धान्तिक बहस, छलफलबाट निस्किएका निष्कर्षले नेपाली मूलधारको राजनीतिमा त्यस्तो हस्तक्षेपकारी भूमिका खेल्ने केही देखिन्न । पुराना, बासी बहसमा सहभागी बनेर महाधिवेशन सम्पन्न भएको छ ।
मूलतः चौथो महाधिवेशनको चार दशकसम्म रहेको अघिल्लो पुस्ताको यो एउटा अन्तिम अवशेष हो । चौथो महाधिवेशनको बाहुल्य र अन्य समूहबाट आएका एकाध व्यक्तिहरू पार्टीमा सहभागी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको चार धारमध्ये ‘सशस्त्र जनयुद्ध’को तयारी भनेर बाघे ओडारको कथा सुनाएर ‘क्रान्तिकारिता’ देखाउने मोहनविक्रम सिहंबाट भड्किएका ।
चौथो महाधिवेशन धारबाटै १० वर्षे सशस्त्र संघर्ष गरेर प्रचण्डबाट उछिट्टिएकाहरूको लामो संघर्षको एउटा संगालो हो, वैद्य नेतृत्वको पार्टी । चार दशकदेखि ‘क्रान्तिको बहस’मा पुनरावृत्ति हुनु चौथो महाधिवेशनसँगै माओवादी/विचारधाराको ‘अन्तिम भोज’सरह हो ।
वामपन्थी आन्दोलनभित्र कम्तीमा एक दर्जनपटक सैद्धान्तिक बहस, विभाजन भोगेर अनुभव संगालेको अघिल्लो पुस्ताको एउटा जमात क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समावेश छ ।
महाधिवेशनले एमाले र माओवादीलाई दक्षिणपन्थी अवसरवादतिर उन्मुख पार्टी भनेर चित्रित गरेको छ । तर, एमाले र माओवादीभित्र अझै पनि सच्चा वामपन्थी तथा क्रान्तिकारी व्यक्तिहरू समेत रहेको भनेर सम्बन्धको आशा जोगाइराखेको छ ।
जति सैद्धान्तिक बहस गरे पनि नेपाली मूलधार राजनीतिमा हस्तक्षेपकारी भूमिका यो पार्टीबाट हुने देखिन्न । न त जनाधार छ, न त्यस्तो खालको लोकप्रिय कार्यक्रमसहितको संघर्ष र उत्पादनसँग जोडिएका कार्यक्रमहरू छन् । बरु नेपाली वामपन्थी आन्दोलनको यो चार दशकको यात्राका पात्रहरूको एउटा ‘जीवन्त लाइब्रेरी’का रूपमा यो पार्टीलाई लिन सकिन्छ ।
जुन लाइब्रेरी भावी पुस्ताका लागि वामपन्थी आन्दोलनको उतारचढावसम्बन्धी ज्ञान लिने एउटा ठूलो भण्डार बन्न सक्छ ।