२७ जेठ २०८३, बुधबार
विचारधारामा घम्साघम्सी

वैद्य पार्टीको एकता महाधिवेशन– क्रान्तिको बाटो खोज्न १० दिन चलेको बहस

एमाले र माओवादी दक्षिणपन्थी अवसरवाद उन्मुख, जनयुद्धको विरोधमा बाहिर बोल्न नपाइने
मंसिर २५, २०८१
काठमाडौं
वैद्य पार्टीको एकता महाधिवेशन– क्रान्तिको बाटो खोज्न १० दिन चलेको बहस

बाहिरी बजारमा त्यति हल्लीखल्ली नभएको मात्र हो, निरन्तर १० दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक बहस चल्यो ।

राज्यसत्ताका राजकीय पद पाउने, गुट–उपगुट, नेतृत्व कब्जा गर्नेतिर बहस केन्द्रित थिएन । एउटा ‘निस्वार्थ’ बहस थियो– ‘क्रान्तिको बाटो निर्धारण गर्ने’ ! नेपाली कम्युनिस्ट आन्दोलनभित्र दार्शनिक मानिने मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन मंसिर १३ गते शुरू भएर २३ गते सम्पन्न भयो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाकक्षमा महाधिवेशनको बन्दशत्र चलिरह्यो । करिब ५ सय ५० देशभरका प्रतिनिधि/पर्यवेक्षकबीच बहस चल्यो । त्यो दश दिनमा कीर्तिपुर नगरपालिकामा उप–चुनावको माहोल आयो र सकियो । क्रिकेट मैदानमा एनपील शुरू भयो । तर, छेउमै चलिरहेको बन्दशत्र प्रभावित भएन । २३ गते वैद्यकै नेतृत्वमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकमध्येका ५० प्रतिशत केन्द्रीय समितिमा परेर फर्किए ।

नेपाली कम्युनिस्ट आन्दोलनको विभिन्न धारमध्ये वैद्य नेकपा (चौथो महाधिवेशन)बाट उदाएका नेता हुन् । २०४० सालदेखि टुटफुट हुँदै २०५२ फागुन १ गतेदेखि ‘सशस्त्र जनयुद्ध’का संस्थापक हुन्, वैद्य । मूल पार्टी नेकपा (माओवादी)बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टिएर सानो झुण्डमा ‘जनयुद्धकालीन’ नेता/कार्यकर्ता वैद्यको साथमा छन् । एउटा ऐतिहासिक संयोग कस्तो जुर्‍यो भने नेकपा (मसाल)का पूर्व नेताहरूसहित चौथो महाधिवेशन आयोजक समितिका केही सदस्य र पाँचौं महाधिवेशनका प्रतिनिधिहरू झण्डै ४० वर्षपछि एकै ठाउँमा थिए ।

तीमध्ये वैद्य, रामसिंह श्रिस, सीपी गजुरेल चौथो महाधिवेशनमै केन्द्रीय नेता थिए । त्यसमध्ये पाँचौ महाधिवेशनमा प्रतिनिधि बन्नेहरू सन्तबहादुर नेपाली, हरिभक्त कँडेल, कृष्ण पौडेल, गोविन्दसिंह थापा (मामा), चन्द्रहरि सुवेदीसहित । पुराना सहकर्मीहरूबीच एकता हुने क्रमले एकता महाधिवेशनको आयोजना भएको थियो । महाधिवेशनमा नयाँ विषयभन्दा पनि पुरानै विषयमा जिल्ला तहसम्म तीन महिनादेखि फोरम (बहस) चलाइएको थियो । जिल्लाबाट चुनिएर आएका प्रतिनिधिहरूले फेरि १६ वटा समूह बनाएर १० दिनसम्म बहस गरे ।

प्रतिवेदन १६ वटा थियो । त्यसमा कतिपय पूरक र फरक मत पनि थिए । राजनीतिक, नीति तथा कार्यक्रम, विधान, धर्म/संस्कृति, आर्थिक, जातीय, मुस्लिम, महिला, पर्यावरण र संघर्षसम्बन्धी समसामयिक प्रस्तावहरूमाथि छलफल भएको थियो । तीन महिनादेखि फोरम चलाएर पनि महाधिवेशनसम्म आइपुग्दा तीनवटा विषयमा बहस चल्यो । ती बहसका तीन विषयहरू थिए–

(क) पार्टीको पथ प्रदर्शक सिद्धान्त माओवाद वा माओ विचारधारा ।

(ख) नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धको समीक्षा/मूल्यांकन ।

(ग) संघीयतासम्बन्धी ।

दश दिने बहसले टुङ्ग्याएको विषयः क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको पथ प्रदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद । माओको योगदानलाई आत्मसात नगरेसम्म कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन भन्ने सहमति भयो । र, पूर्व मसाल समूहले अघि सारेको माओ विचारधारालाई खुला बहसमा लाने विषयमा सहमति भएको छ । माओवाद र माओ विचारधाराको सैद्धान्तिक आरोप–प्रत्यारोप पुरानै खालको थियो ।

null

माओ विचारधारा मान्नेहरूले ‘माओवाद’लाई पथप्रदर्शक मान्दा आत्मकेन्द्रित, अराजकतावादी, मनोवाद र अतिवादी हुने सैद्धान्तिक आरोप खेपे । माओवाद मान्नेहरूले ‘माओ विचारधारा’ नमान्नेहरूलाई माओको योगदानलाई बोक्न नसक्ने नसक्ने भनेर आरोप लगाए । यो कुरा पहिले एकता केन्द्र गठन हुँदा, माओवादीले २०५२ मा ‘जनयुद्ध’ थालनी गर्दा र पछि नारायणकाजी श्रेष्ठ माओवादीसँग गाभिएर हेटौंडा महाधिवेशन हुँदासम्म कायम थियो ।

दोस्रो विषय थियो, पूर्व मसाल समूहले ‘जनयुद्ध’ गलत भनेको कुरा । वैद्य समूहले त्यसलाई पूरै अस्वीकार गरेको थियो । महाधिवेशनबाट ‘जनयुद्ध’को योगदानको कदर, कतिपय कमीकमजोरीसहित स्वीकार्ने सहमति भयो । जनयुद्ध गलत थियो भनेर फरक मत राख्नेहरूले पार्टी फोरममा मत राख्न पाउने, तर बाहिर बहसमा जनयुद्ध गलत थियो भन्न नपाउने गरी बहसलाई व्यवस्थापन गरिएको छ । 

माओवादीले जनयुद्ध शुरू गरेदेखि जोडतोडले उठाएको विषय थियो ‘जातीय आत्मनिर्णयको अधिकार’ । यो विषय संघीयताबारे सम्बन्धित थियो ।

वैद्य समूहका पवनमान श्रेष्ठले जातीय आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्ताव पेश गरेका थिए । मसाल समूहले आत्मनिर्णयको अधिकार छुट्टिन पाउने अधिकारसहितको हुँदा त्यो अवधारणा असफल भएको तर्क गरेको थियो । पछि सहमतिमा आउँदा पहिचान र आत्मनिर्णयको अधिकारसहितको संघीयता मान्ने सहमति भएको छ । तर, आत्मनिर्णयको अधिकारबारे बाहिर बहस गर्न पाउने गरी समस्या हल गरिएको छ । 

त्यसैगरी, कम्युनिस्ट आन्दोलनको इतिहाससम्बन्धी मूल्यांकन गर्दा चारवटा धार प्रस्ट्याइएको छ । केशरजंग रायमाझी, पुष्पलाल श्रेष्ठ, झापाली समूह र चौथो महाधिवेशनबाट आएको धार । त्यसको मूल्यांकनमा रायमाझीले कम्युनिस्ट आन्दोलन राजालाई बुझाएर समाप्त पारिसकेको, पुष्पलालको केही अवशेष झापाली समूह माले हुँदै अहिलेको एमाले र चौथो महाधिवेशन धार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा रहेको भनी मूल्यांकन गरिएको छ । 

पार्टीले संघर्षको स्वरूप अघि सारेको छ । संघर्षको पहिलो स्वरूप जनसंघर्ष अर्थात वर्ग संघर्ष । जन संघर्षबाट प्रतिरोध संघर्ष । प्रतिरोध संघर्षबाट सशस्त्र शहरी जनविद्रोहमा जाने कार्यक्रम अघि सारिएको छ । त्यसका लागि मिल्दो शब्द भनेर ‘नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्ने उद्देश्य’लाई मूल राजनीतिक कार्यदिशा मानिएको छ ।

पार्टीलाई एकपदीय बनाउनका लागि महाधिवेशनबाट वैद्य पुनः महासचिव बनेका छन् । अन्य शीर्ष नेताहरूको मर्यादा कसरी मिलाउने भन्ने विषयमा छलफल भएको छैन । यसअघि गजुरेललाई वरिष्ठ नेता भनेर मर्यादाक्रम मिलाइएको थियो । आगामी माघमा केन्द्रीय समितिको पूर्ण बैठकबाट सबै जिम्मेवारी बाँडफाँड गर्ने तयारी भएको छ । वैकल्पिकसहित २ सय २५ जनाको केन्द्रीय समिति गठन भएको छ । 

चौथो महाधिवेशनताकाका बाहुल्य परम्परावादी माओवाद विचारधारा मान्नेहरूको एउटा संयोजनकै रूपमा महाधिवेशन सक्किएको छ । वैचारिक, सैद्धान्तिक बहस, छलफलबाट निस्किएका निष्कर्षले नेपाली मूलधारको राजनीतिमा त्यस्तो हस्तक्षेपकारी भूमिका खेल्ने केही देखिन्न । पुराना, बासी बहसमा सहभागी बनेर महाधिवेशन सम्पन्न भएको छ ।

मूलतः चौथो महाधिवेशनको चार दशकसम्म रहेको अघिल्लो पुस्ताको यो एउटा अन्तिम अवशेष हो । चौथो महाधिवेशनको बाहुल्य र अन्य समूहबाट आएका एकाध व्यक्तिहरू पार्टीमा सहभागी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको चार धारमध्ये ‘सशस्त्र जनयुद्ध’को तयारी भनेर बाघे ओडारको कथा सुनाएर ‘क्रान्तिकारिता’ देखाउने मोहनविक्रम सिहंबाट भड्किएका । 

चौथो महाधिवेशन धारबाटै १० वर्षे सशस्त्र संघर्ष गरेर प्रचण्डबाट उछिट्टिएकाहरूको लामो संघर्षको एउटा संगालो हो, वैद्य नेतृत्वको पार्टी । चार दशकदेखि ‘क्रान्तिको बहस’मा पुनरावृत्ति हुनु चौथो महाधिवेशनसँगै माओवादी/विचारधाराको ‘अन्तिम भोज’सरह हो । 

वामपन्थी आन्दोलनभित्र कम्तीमा एक दर्जनपटक सैद्धान्तिक बहस, विभाजन भोगेर अनुभव संगालेको अघिल्लो पुस्ताको एउटा जमात क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समावेश छ ।

महाधिवेशनले एमाले र माओवादीलाई दक्षिणपन्थी अवसरवादतिर उन्मुख पार्टी भनेर चित्रित गरेको छ । तर, एमाले र माओवादीभित्र अझै पनि सच्चा वामपन्थी तथा क्रान्तिकारी व्यक्तिहरू समेत रहेको भनेर सम्बन्धको आशा जोगाइराखेको छ । 

जति सैद्धान्तिक बहस गरे पनि नेपाली मूलधार राजनीतिमा हस्तक्षेपकारी भूमिका यो पार्टीबाट हुने देखिन्न । न त जनाधार छ, न त्यस्तो खालको लोकप्रिय कार्यक्रमसहितको संघर्ष र उत्पादनसँग जोडिएका कार्यक्रमहरू छन् । बरु नेपाली वामपन्थी आन्दोलनको यो चार दशकको यात्राका पात्रहरूको एउटा ‘जीवन्त लाइब्रेरी’का रूपमा यो पार्टीलाई लिन सकिन्छ ।

जुन लाइब्रेरी भावी पुस्ताका लागि वामपन्थी आन्दोलनको उतारचढावसम्बन्धी ज्ञान लिने एउटा ठूलो भण्डार बन्न सक्छ ।

salt training

कमेन्ट गर्नुहोस्