
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साथ छाडेपछि डा. शेखर कोइराला आफ्नो समूहलाई बलियो बनाउने अभियानमा लागेका छन् । १४ औं महाधिवेशनमा आफ्नै टीमबाट महामन्त्री भएका थापा गुटबन्दीबाट माथि उठ्नुपर्ने अडानमा बसेका छन् । तर, शेखर अन्य नेतालाई बटुलेर समूहलाई थप बलियो बनाउने रणनीतिमा जुटेका छन् ।
यस क्रममा शेखरले संस्थापनलाई दबाब बढाउने कार्यक्रम गर्ने, दोस्रो तहका नेतालाई आफ्नै वरिपरि राख्ने र युवा नेतालाई समेट्ने कार्यक्रम बनाइरहेका छन् । अहिलेको पार्टीका सबै तहका कार्यसमितिको म्याद २०८२ मंसिरमा सकिँदैछ । अर्थात्, विधानतः चार वर्षे कार्यकाल सकिनुपूर्व अबको एक वर्षमा १५ औं महाधिवेशन गर्नैपर्छ ।
तर, महाधिवेशनको प्रारम्भिक तयारीको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम शुरू भएकै छैन । यसैले शेखर पक्ष पार्टीका अलमल, कमजोर क्रियाशीलता, सरकारको कमजोरीजस्ता विषयलाई उठाउँदै दबाब बढाउने रणनीतिमा लागेको हो ।
सभापतिका एउटा दाबेदार थापा आफ्नो समूहमा नरहेपछि शेखरले आफ्नै हिसाबले महाधिवेशनमा अगाडि बढ्ने रणनीति अख्तियार गरेका छन् । यसैले १५औं महाधिवेशनमा सभापतिमा उठ्ने सार्वजनिक गर्दै शेखरले तयारीलाई अगाडि बढाएका हुन् ।
‘म सभापतिमा उठ्ने क्लियर छ । गगनजी के गर्नुहुन्छ, उहाँको कुरा हो,’ शेखरले केही दिनअगाडि चितवन पुगेर सञ्चारकर्मीसँग भनेका, ‘उहाँले के गर्नुहुन्छ, उहाँसँग सोध्नुस् । हामीबीच खटपट छैन । केही कुरा भए बसेर मिलाउन सकिन्छ ।’
शेखर १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । विधानतः अब देउवाको दाबेदारी नहुने भएपछि शेखरले सभापति जित्न सबै प्रयत्न लगाउने तयारी गरेका छन् ।
शेखरले खटपट छैन भने पनि गगनले आफू पार्टीमा गुटबन्दीको पक्षमा नभएको पटक–पटक सार्वजनिक रूपमा नै बताउँदै आएका छन् । केही दिनअगाडि मात्रै गगनले कांग्रेसलाई पार लगाउन अब गुटबन्दीको पुरानो रागबाट माथि उठ्नुपर्ने बताएका थिए । देउवाको दाबेदारी नहुने भएपछि गगनले पनि १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरिरहेका छन् ।
यतिमात्रै होइन, पार्टीको औपचारिक निर्णयविपरीत मोरङको विराटनगरमा शेखरले कोशी प्रदेशस्तरीय सभापतिको भेला गरेपछि गगनले आलोचना नै गरेका थिए । यसले पनि शेखर र गगन टाढिएको प्रस्ट संकेत मिल्ने एक नेता बताउँछन् ।
‘१४ औं महाधिवेशनमा एकै समूहमा भए पनि दुवै नेता टाढिँदै गएको र समूहका नाममा सँगै नरहेका उहाँहरूका पछिल्ला बोली र व्यवहारले प्रस्ट्याउँछन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘के गरी सभापतिमा आफ्नो दाबेदारी बढाउन सकिन्छ, त्यसैमा ध्यान केन्द्रित गर्ने तयारी दुवैको देखिएको छ ।’
आफ्नो शक्ति र सबै सामर्थ्य अब १५औं महाधिवेशनमा सभापति जित्नेगरी लगाउने तयारीमा शेखर लागेको नेताहरू बताउँछन् । शेखरनिकट भएर काम गरिरहेका पुरञ्जन आचार्य १५ औं महाधिवेशनमा दाबेदारी गर्ने नेताले सबै तयारीलाई अगाडि बढाउन ढिलाइ गर्न नहुने बताए ।
‘पार्टीमा विधिविहीनता भयो, यसलाई ट्र्याकमा ल्याउँछु भन्ने नेताले महाधिवेशनको तयारी गर्ने विषय स्वाभाविक हो । यसैले नेतालाई बटुल्ने, एकताबद्ध गराउने, कार्यक्रम गर्ने, पार्टीमा विचार दिनेजस्ता अभियान र तयारी सबै अगाडि बढेको छ,’ आचार्यले भने, ‘अब महाधिवेशन नहुँदासम्म यस्ता कार्यक्रम निरन्तर अगाडि बढ्छन् । थप नयाँ कार्यक्रम पनि गरेर जाने तयारी छ ।’
आचार्यले पछिल्लो केही समययता शेखर र गगनको सम्बन्ध बिग्रेको पनि बताए । ‘पहिले एउटै समूहबाट उठ्नुभएको थियो, तर पछिल्लो समय दुईबीच सम्बन्ध बिग्रेको बुझेका छौं’ आचार्यले भने ।
संस्थापनलाई दबाबमा राख्ने
विधानतः महाधिवेशन नहुने भएपछि शेखर पक्षले संस्थापनलाई हरेक विषयमा काउन्टर दिने नीति लिएको छ । केही दिनअगाडि पार्टी सर्कुलरका बाबजुद शेखर समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला गरेरै छाड्यो ।
पार्टीको समानान्तर शैलीजस्तो हुने भन्दै कार्यक्रम रोक्न गरिएको आग्रहलाई शेखरले पूरै बेवास्ता गरेका हुन् । यतिमात्रै होइन, पार्टी निर्देशनविपरीत भेला गरेलगत्तै २२ मंसिरमा विराटनगरमा भएको कोशी प्रदेशस्तरीय सम्मेलनलाई समेत शेखरले बहिष्कार गरे । कोशीमा मात्रै नभएर यस्ता कार्यक्रम अब अन्य प्रदेशमा पनि गर्ने तयारीमा शेखर लागेको उनी निकटका नेता गुरु घिमिरे बताउँछन् ।
‘शेखर दाइले सभापतिको कार्यशैली र पार्टीका गतिविधिले पार्टी पार लाग्ने स्थिति देख्नुभएको छैन । यसैले हरेक कार्यक्रममार्फत उहाँले प्रस्ट रूपमा ध्रुवीकरणतिर लागेको देखाउनुभएको छ,’ घिमिरेले लोकान्तरसँग भने, ‘पार्टी नै चलाउँछु, राम्रो गर्छु भनेर लागेपछि पार्टीका नेतालाई संगठित पार्छु, पार्टीलाई विधि र नीतिमा चलाउँछु भन्नु अस्वाभाविक होइन ।’

शेखर निकटका अर्का केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले पनि देशभर अब शेखर समूहले कार्यक्रम निरन्तर गर्ने जानकारी दिए ।
‘कांग्रेसजस्तो पार्टीमा कसैले कार्यक्रम नगर भन्नु अलोकतान्त्रिक व्यवहार हो,’ पोखरेलले भने, ‘महाधिवेशनको तयारीमा जुट्नुपर्ने अवस्था छ । यसैले अब विराटनगरमा भएका जस्ता कार्यक्रम सातवटै प्रदेशमा गरेर माहोल सिर्जना गर्ने तयारी छ ।’
देउवाले जित्नेगरी भरोसा गर्ने पात्र चुनिसकेका छैनन् । यसैले उनलाई खुशी पारेर वा दबाब दिएर भए पनि उनको आशीर्वाद पाउने प्रयत्नबाट पनि नेताहरू पछाडि हटेका छैनन् ।
दोस्रो तहका नेतालाई समट्ने
गगनसँग सम्बन्ध बिग्रे पनि १४ औं महाधिवेशनमा साथ दिएका नेतालाई आफ्नै समूहमा राख्ने ध्याउन्नमा शेखर छन् । गत महाधिवेशनका पदाधिकारी, उम्मेदवार, केन्द्रीय सदस्य र सांसदलाई आफ्नै टीममा राख्नेगरी शेखरले नेताहरूलाई परिचालन गरिरहेका छन् ।
गगन बिच्किए पनि उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलाई आफ्नै समूहमा राखिराख्ने कोशिशमा शेखर छन् । तर, पछिल्लो समय धनराजले संस्थापन पक्षसँग पनि संवाद अगाडि बढाएका छन् ।
अघिल्लोपटक पदाधिकारीमा पराजित भएका चन्द्र भण्डारी, डा. मीनेन्द्र रिजालसहितका नेतालाई शेखरले फेरि पनि सँगै राख्ने गरी कार्यक्रममा सहभागी गराउँदैछन् ।
‘पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलिरहेका बेला दोस्रो तहका केही नेताहरूले आफ्नो राजनीतिक जीवन सकिएको ठानेका छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘तर, समूहमा पकड बनाइराख्न शेखर दाइसहितका नेताले पार्टी जीवनमा काम गरेका नेताको समय अझै सकिएको छैन भनेर भरोसा दिलाउन खोज्नुभएको छ ।’
१५ औं महाधिवेशनमा सभापतिमा आफू जिते दोस्रो तहका नेतालाई पार्टी पदाधिकारी, सरकारमा मन्त्रीजस्ता पदमा व्यवस्थापन गर्ने आश्वासन दिएको नेताहरू बताउँछन् ।
पदाधिकारी हुन नसकेका नेतालाई समेत शेखरले १५ औं महाधिवेशनमा केही न केही पदको आश्वासन दिएको नेताहरू बताउँछन् । संघीय मात्रै नभएर आफ्नो प्रदेशका सांसदलाई समेत समूहको खुलेर बचाउ गर्न निर्देशन दिएको बताइन्छ ।
१४ औं महाधिवेशनयता समूहका प्रमुख नेता रहेकाले यसको लाभ जसरी पनि उठाउने र नेतालाई आफैंसँग राख्ने गरी सबै विकल्पमा जाने तयारीमा शेखर छन् ।
युवा पंक्ति साथ रहेको सन्देश दिने
१५ औं महाधिवेशनको कार्यक्रम नै शुरू नगरिएको भन्दै शेखर समूहका ९ युवाले बिहीबार काठमाडौंमा सम्पर्क कार्यालय खोलेका छन् । शेखरनिकटका नेता गुरुराज घिमिरेसहित रञ्जित कर्ण, देवाज चालिसे, टेकराज पौडेल, गोमा केसी, भुपेन्द्रजंग शाही, मेदिनी सिटौला, केशव सिंह र हुर्मत न्यौपानेले सम्पर्क कार्यालय खोलेका हुन् ।
यसअघि शेखरनिकटकै युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्त्वमा युवा संकल्प यात्राको नाममा कार्यक्रम गरिएको थियो । यो कार्यक्रममा पूर्वपश्चिम यात्रा गरिएको थियो । यो यात्रामा शेखर निकटका युवा नेता सहभागी भएका थिए । गगनसँग सम्बन्ध बिग्रिए पनि अन्य युवा नेतालाई महत्त्व दिएको देखाउने रणनीतिमा शेखर लागेका छन् ।
अनामनगरमा युवाहरूको सम्पर्क कार्यालय खोल्न अगुवाई गरेका युवा नेता गुरुराज घिमिरे महाधिवेशनको तयारी अगाडि नबढेपछि दबाब दिनुपरेको बताउँछन् ।
‘महाधिवेशनकेन्द्रित तयारीमा लाग्नुपर्ने हो, तर पार्टी चौथो वर्षमा प्रवेश गर्दा पनि कार्यकाल लम्ब्याउनेतिर लागेको देखिन्छ । महाधिवेशनको तयारी अगाडि बढेको छैन । अग्रसरता पनि देखिएन,’ घिमिरेले लोकान्तरसँग भने, ‘विशेष परस्थिति नआए पनि म्याद थप्ने र पार्टीका सबै तहको समय बढाउने तयारी भएपछि हामी बाध्य भएर दबाब दिनुपर्ने स्थितिमा पुगेका हौं ।’
महाधिवेशनको चिन्ता गर्ने नेताहरू संगठित भएकाले आवश्यक पर्दा नेतृत्वलाई दबाब दिने पनि घिमिरेले बताए । ‘महाधिवेशनको कार्यतालिका ल्याउने र पूर्वाधार बनाउने पहलकदमी देखिएन । यसैले देशभरिका साथीको चिन्ता र चासो बढेकाले हामीले कार्यालय खोल्ने, छलफल गर्ने, सुझाव दिने र आवश्यक पर्दा पार्टीलाई दबाब बढाउने नीति लिएका छौं ।’
आफूहरूले पार्टीलाई रचनात्मक बनाउन खोजेको घिमिरे बताउँछन् ।
‘गुटलाई प्रमोट गर्नेभन्दा समग्र साथीहरूलाई समेट्ने र अगाडि बढ्ने हाम्रो उद्देश्य हो । उद्देश्य प्राप्तिको सवालमा कतिपय बेला समूहको जस्तो पनि बन्न सक्छ । पार्टीको हित र वैयक्तिक हितका लागि पनि बन्न सक्छ,’ घिमिरेले भने, ‘तर, हामी गुटमात्रै भन्दैनौं, समूहको अन्तर्विरोधलाई व्यवस्थापन गर्न पनि अग्रसर हुन्छौं ।’
अर्का एक नेता यो समूहलाई डा. शेखर कोइरालाको राम्रो ब्याकिङ रहेको बताउँछन् ।
‘नेताहरूले भन्न गाह्रो मान्नुभएको छ । तर, काठमाडौंको अनामनगरमा कार्यालय खोलेर महाधिवेशनका लागि दबाब बढाउने काम पार्टी संस्थापनले पक्कै गर्दैन,’ ती नेताले भने, ‘यसमा शेखर कोइरालाकै राम्रो ब्याकिङ छ ।’