
आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरे ।
वार्ताका क्रममा दिसानायकेले भारतको सुरक्षासँग जोडिएका महत्त्वपूर्ण विषयहरूमा प्रतिबद्धता व्यक्त गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यसअघि चिनियाँ ऋणको पासोमा परेको भनिएको श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिसानायकेले आफ्नो भू-भागलाई भारतको हितविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने आश्वासन दिनु महत्त्वपूर्ण विषय रहेको बताइएको छ ।
दिसानायके आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत आएका हुन् । हैदरावाद हाउसमा सम्पन्न वार्तापछि प्रधानमन्त्री मोदीले भने, 'हामी दुवै देशबीचको सुरक्षा चासो एकअर्कासँग जोडिएको छ। यसलाई ध्यानमा राख्दै चाँडै रक्षा सहयोग सम्झौतालाई अन्तिम रूप दिने निर्णय गरेका छौं ।'
वार्ताका क्रममा मोदीले सुरक्षित र खुला हिन्द महासागर क्षेत्रको महत्त्वलाई पनि जोड दिएको द इन्डियन एक्सप्रेसले जनाएको छ । वार्ताका क्रममा दुवै पक्षले समुद्री सुरक्षा, साइबर सुरक्षा र प्रतिआतंकवादका विषयमा सहकार्य गर्न सहमति जनाएका छन् ।
वार्तापछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, 'भारत र श्रीलंकाको साझा सुरक्षा चासोलाई ध्यानमा राख्दै, नियमित संवाद र पारस्परिक विश्वासलाई प्रगाढ बनाइनेछ ।'
श्रीलंकाले भारतको सुरक्षालाई खलल पुर्याउने कुनै पनि गतिविधि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यससँगै, हिन्द महासागर क्षेत्रमा चीनको बढ्दो उपस्थिति र श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा चिनियाँ जहाजहरूको आगमनले भारतको सुरक्षामा गम्भीर चासो पैदा गरेको विषय वार्तामा उठेको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले श्रीलंकाको समुद्री सुरक्षामा भारतले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।
वार्तामा श्रीलंकामा बढिरहेको चिनियाँ प्रभाव कम गर्नेबारे भारतले चासो दिएको बताइएको छ ।
कतिपय भारतीय सञ्चारमाध्यमले श्रीलंकामा चिनियाँ प्रभाव कम गर्न भारत-श्रीलंकाबीच महत्त्वपूर्ण सहमति भएको दाबीसमेत गरेका छन् । प्रधानमन्त्री मोदीले श्रीलंकामा तमिल अल्पसंख्यकको अधिकारको रक्षा गर्न श्रीलंकाली सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले श्रीलंकाले आफ्नो संविधानको पूर्ण कार्यान्वयन गर्ने र प्रान्तीय परिषद्को निर्वाचन गराउने आशा व्यक्त गरे ।
भारत र श्रीलंकाले ऊर्जा क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सहमति गरेका छन् । बिजुली ग्रिड जडान र पेट्रोलियम पाइपलाइनको विकासका साथै श्रीलंकाका पावर प्लान्टमा तरल प्राकृतिक ग्यासको आपूर्ति गर्ने विषयमा दुवै पक्षबीच महत्त्वपूर्ण सहमति भएको छ ।
साथै, सौर्य ऊर्जा परियोजनालाई अघि बढाउने र किफायती ऊर्जा आपूर्तिका लागि भारत, श्रीलंका र यूएईबीचको सम्भाव्य सहकार्यलाई पनि अध्ययन गरिने दुवै पक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति दिसानायकेले भारतले गर्ने आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै श्रीलंकाको आर्थिक पुनरुत्थानमा भारतको सहयोग महत्त्वपूर्ण रहेको बताए । भारतले आर्थिक संकटको समयमा करिब ५ अर्ब अमेरिकी डलरको सहायता उपलब्ध गराएको थियो ।
दुवै पक्षले डिजिटल भुक्तानी प्रविधि र सरकारी सेवा वितरणलाई सुधार गर्न सहकार्यलाई तीव्र बनाउने सहमति जनाएका छन् । त्यस्तै, श्रीलंकाका विद्यार्थी र निजामती कर्मचारीको क्षमता विकासमा भारतले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

त्यस्तै, समुद्री मत्स्यपालनमा देखिएको विवादलाई हल गर्न दुई देशले दिगो समाधान खोज्ने सहमति गरेका छन् । वार्ताका क्रममा दुवै नेताले समस्यालाई संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वार्तापछि प्रधानमन्त्री मोदीले भने, 'हाम्रो सहकार्य अब भविष्यमा केन्द्रित हुनेछ । यो सहकार्यले लगानीमा वृद्धि, भौतिक, डिजिटल र ऊर्जा कनेक्टिभिटीलाई प्राथमिकता दिनेछ ।'
भारत र श्रीलंकाबीचको सम्बन्धमा उतारचढाव
भारत र श्रीलंकाबीचको सम्बन्ध ऐतिहासिकरूपमा निकट भए पनि विभिन्न समयहरूमा केही तनाव उत्पन्न भएका छन् । यी तनावहरू मुख्यरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र जातीय मुद्दावरपर केन्द्रित देखिन्छन् ।
श्रीलंकामा तमिल अल्पसंख्यकको अधिकार र स्वायत्ततासँग सम्बन्धित विवाद अहिलेसम्म पनि भारत र श्रीलंकाबीच तनावको एउटा प्रमुख कारण हो ।
सन् १९८७ मा भारतले श्रीलंकामा सैन्य हस्तक्षेप गरेको थियो । त्यसैको दबाबमा श्रीलंकाको संविधानमा १३ औं संशोधन गरिएको थियो, जसले तमिल समुदायको स्वायत्तता सुनिश्चित गर्ने दाबी गरिएको थियो ।
भारतले दिएको उक्त दबाबबारे श्रीलंकाका जनता अहिले पनि भारतसँग रुष्ट छन् । यद्यपि मोदी र दिसानायकेको पछिल्लो भेटमा उक्त संशोधनबारे कुनै कुराकानी नभएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
त्यस्तै, सन् १९८३ देखि २००९ सम्म श्रीलंकामा चलेको गृहयुद्धमा भारतले खेलेको भूमिकालाई लिएर पनि श्रीलंकामा असन्तुष्टि व्याप्त छ । हिन्द महासागर क्षेत्रमा चीनको बढ्दो उपस्थितिलाई लिएर पनि भारत र चीनबीच बेलाबेलामा असन्तुष्टि पैदा हुने गर्छ । श्रीलंकामा सञ्चालित चिनियाँ परियोजनाका कारण आफ्नो सुरक्षा चासोलाई गम्भीर बनाएको आरोप भारतले बेलाबेला लगाउने गर्छ ।
श्रीलंकाले चीनलाई आफ्नो हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि लिजमा दिएपछि पनि भारत रुष्ट देखिन्थ्यो । त्यस्तै, श्रीलंकाका बन्दरगाहमा चिनियाँ सैन्य जहाजहरूको आगमनले भारत र श्रीलंकाबीच तनाव थपिने गर्छ ।
भारत र श्रीलंकाबीच माछा मार्ने विषयलाई लिएर पनि तनाव सिर्जना हुने गर्छ । विशेष गरेर माछा मार्ने क्रममा श्रीलंकाको जल क्षेत्रमा प्रवेश गर्ने तामिलनाडुका मछुवारमाथि श्रीलंकाली नौसेनाले कडा कारबाही गरिरहन्छ ।
यस क्रममा माछा मार्ने भारतीयहरू पक्राउ पर्ने र कहिलेकाहीँ ज्यान गुमाउने घटनासमेत भएका छन् । यसबारे सहमति खोज्ने विषयमा सोमबार मोदी र दिसानायकेबीच छलफल पनि भएको थियो ।
त्यस्तै, श्रीलंकाको आर्थिक संकटका बेला भारतले ठूलो सहायता उपलब्ध गराएको भए पनि श्रीलंकाले चीनसँग लिएको ऋण र परियोजनाहरूलाई प्राथमिकता दिएको आरोप बेलाबखत भारतीय पक्षले लगाउने गर्छ ।