
जाडो मौसममा तपाईं चिसो पानीले नुहाउनुहुन्छ कि तातो पानीले ? तपाईंलाई याद होला, वर्षौं अगाडि हिन्दी चलचित्रको एक चर्चित गीतले मानिसहरूलाई चिसो-चिसो पानीले नुहाउन सुझाव दिएको थियो।
गर्मीको मौसममा चिसो पानीले नुहाउन सामान्य लाग्न सक्छ । मानिसहरू गर्मीमा चिसो पानीले नुहाउन पाउँदा आनन्द महसुस गर्छन् । त्यसको ठीक विपरीत धेरैजसो मानिसहरू जाडोमा चिसो पानीले नुहाउन डराउने गर्छन् ।
कठ्याङ्ग्रिँदो जाडोमा चिसो पानीलाई यति महत्त्व दिनु कति उचित हो? जाडोमा तापक्रम निरन्तर घटिरहेको बेला चिसो पानीले नुहाउनु ठीक हो त?
यसको उत्तर एक अध्ययनले दिएको छ।
नेशनल लाइब्रेरी अफ मेडिसिन (जो विश्वकै ठूलो बायोमेडिकल लाइब्रेरी हो र कम्प्युटेसनल हेल्थ इन्फरमेटिक्समा अनुसन्धानमा अगाडि छ) ले २०२२ मा एक रिपोर्ट प्रकाशित गरेको थियो। यसका अनुसार चिसो पानीले नुहाउँदा हुने फाइदाहरू धेरै छन्।
यो अध्ययन स्वेच्छाले चिसो पानीमा नुहाएपछि मानिसहरूको स्वास्थ्यमा पर्ने प्रभावमाथि आधारित थियो। यो प्रतिवेदन धेरै अध्ययनपछि तयार गरिएको हो। कडाइका साथ गरिएको छानबिनपछि १०४ अध्ययनलाई सान्दर्भिक मानिएको थियो। यी अध्ययनहरूले चिसो पानीले नुहाउँदाका फाइदाहरू उल्लेख गरेका छन्।
विशेषज्ञहरूको पनि यही धारणा छ। उनीहरू भन्छन्, जाडोमा चिसो पानीले नुहाउँदा रक्तसञ्चार (ब्लड सर्कुलेशन) तीव्र हुन्छ। यसले शरीरमा पर्याप्त अक्सिजन र रगत पुर्याउन मद्दत गर्छ। जाडोमा चिसो पानीले नुहाउँदा रगतका कोषहरू खुम्चिन्छन् र फेरि फैलिन्छन्, जसले शरीरका सबै अंगमा रक्त प्रवाह पुर्याउँछ।
चिसो पानीले प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ। इम्युनिटीले शरीरलाई रोगहरूसँग लड्न सहयोग गर्छ। चिसो पानीले छालाका प्वालहरू (पोरहरू) बन्द गर्न मद्दत गर्छ। यसले छालालाई तंग (टाइट) र चम्किलो बनाउँछ। साथै, यसले कपाललाई पनि फाइदा पुर्याउँछ। कपाल नरम र चम्किलो हुन्छ।
आजकलको तनावपूर्ण जीवनबाट राहत दिलाउन पनि चिसो पानी लाभदायक छ। यो शरीरमा एन्डोर्फिन हर्मोनको स्तर बढाउँछ, जसले मानिसको मुड बिग्रन दिँदैन।
चिसो पानीले मांसपेशी सुन्निने र दुख्ने पनि कम गर्न सक्छ। तसर्थ, चिसो पानीका फाइदाहरू अनगिन्ती छन्। तर, विशेषज्ञहरूले केही सावधानी पनि अपनाउन सुझाव दिएका छन्।
मुटुरोग, उच्च रक्तचाप वा मधुमेह भएका व्यक्तिहरूले चिसो पानीमा डुबुल्की मार्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ।