२५ असार २०८३, बिहीबार
असहायका अभिभावक

साइकलमा पाँच रूपैयाँ उठाएर आश्रम चलाउने अर्याल

पुस ६, २०८१
विराटनगर
साइकलमा पाँच रूपैयाँ उठाएर आश्रम चलाउने अर्याल

विराटनगरका जगतप्रसाद अर्यालले साइकलमा पम्पलेट टाँसेर प्रतिव्यक्ति पाँच रूपैयाँ उठाउन थालेको २३ वर्ष भयो । साइकलको अगाडि राखिएको टिनको बक्सामा उनले एक जनाबाट पाँच रूपैयाँ मात्रै उठाउने गरेका छन् ।

त्यही पैसाले उनले असहायहरूलाई गाँस, बास र कपासको व्यवस्था गर्ने गरेका छन् । विराटनगर–८ मा उनले विराटेश्वर वृद्ध आश्रम चलाइरहेका छन् । आश्रममा ७१ जना वृद्धवृद्धा छन् ।

उमेरले ८४ (८३ वर्ष) पुग्नै लागेका अर्याल अहिले पनि समाजको ऋण तिर्न भन्दै घामपानी नभनी कुदिरहेका छन् । ‘समाजले मलाई ऋण लगाएको छ ।  म हुर्किन र बढ्न पनि समाजले लगानी गरेको छ । त्यही ऋण तिर्न लागिपरेको छु,’ उनी भन्छन् । 

उनी आश्रमका संस्थापक हुन् । तर, आश्रम आफूले नभई समुदाय र समाजले चलाएको उनी बताउँछन् । विराटनगर विराट राजाको दरबार भएको शहर हो । त्यसैलाई आधार मानेर विराटेश्वर नाम जुराएको उनले सुनाए । 

आश्रमलाई साउथ इष्ट एसियामा नमूना बनाउने उनको लक्ष्य बताए ।  एक हजार वृद्धवृद्धालाई एउटै आश्रममा राख्ने उनको योजना छ । झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरलाई आधार क्षेत्र तोकेर काम गर्दा समाजले स्वीकार गरेको उनले बताए ।
 
यो क्षेत्रमा तराई, पहाड र हिमालका मान्छे बस्छन् । थारू, राजवंशी, मुसहर र क्षेत्री बाहुन सबैको बसोबास छ । उनले आश्रम बनाउन दुई वर्ष पूरै नेपाल पैदल यात्रा गर्न योजना बनाए । पाँच लाख मानिससँग ५ रूपैयाँ उठाउने लक्ष्य थियो । जग्गा किन्न २०५८ सालमा योजना बनाए र ०६० मा संस्था दर्ता गरे ।
 
उनी पूर्वशिक्षक पनि हुन् । पूर्वाञ्चलको शैक्षिक सेमिनार घोषणा गरेर उनले अभियान थालेका थिए । तर, तत्कालीन राजा वीरेन्द्रको हत्या र द्वन्द्वका कारण उनले पैदल यात्रा गर्न पाएनन् । 

त्यतिबेला जिल्ला प्रशासन कार्यालय र अञ्चलाधीशले खतरा हुने भन्दै जान रोकेका थिए । त्यसपछि गाउँ-गाउँ गएर प्रतिव्यक्ति ५ रूपैयाँ उठाएको उनले बताए ।  विवाह, व्रतबन्ध, सेमिनार गोष्ठीजस्ता कार्यक्रममा गएर उनले आफ्ना योजनासहित पैसा माग्ने गर्थे । उनलाई धेरैले मगन्ते भनेर गाली गर्थे । 

‘यो बौलायो पनि भने । कतिले हप्काएर गेटबाट पनि निकालिदिए । कतिले गाली गरे । पूर्वशिक्षक भएकाले सहने बानी परिसकेको थिएँ,’ अर्याल भन्छन् । 

८ वर्ष लगाएर ४ लाख ९२ हजार ३९२ रूपैयाँ उठाएको उनले बताए । निवर्तमान राष्ट्रपति विद्यादेवी  भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, कांग्रेस नेता शेखर कोइरालालगायतसँग पनि ५ रूपैयाँ मात्रै उठाएको उनले बताए । उनीहरूले आफूले मागेभन्दा बढी दिन खोज्दा पनि नलिएको अर्याल बताउँछन् । 

विराटेश्वरमा असहायलाई मात्रै राख्ने गरिएको छ । ‘श्रीमान् मरेपछि सासूससुराले हेला गर्छन् । बाल विधुवा महिलाहरू बुबाआमा हुँदासम्म  माइतमा आएर बस्छन् । आमाबाबु बितेपछि परिवारका अन्य सदस्यले पनि हेला गर्छन्,’ उनले भने, ‘बुढेसकाल लागेपछि ती महिलाको बिजोग देखेको छु  । हली राखेर बुढेसकाल लागेपछि घरबाट निकालिदिएका घटना देखेपछि आश्रम खोल्ने सोच पलायो ।’

६३ लाखमा १२ कट्ठा जग्गा किनेर संरचना बनाउन थालेको उनले बताए ।  आश्रममै उनले अस्पताल पनि बनाइरहेका छन् । अस्पताल बनाउन भने एक जना डाक्टरले ५ लाख दिएको उनको भनाइ छ । आश्रममै बसेर सेवा गर्छु भनेपछि एउटा कोठा बनाइदिने सर्तमा पैसा लिएको उनले बताए । 

‘बुबाआमा र छोराबुहारी भएको एउटा सानो परिवारमा म पैसा माग्दै पुगेको थिएँ । उहाहरूले चिया दिएर स्वागत गर्नुभयो । ४० रूपैयाँ पैसा लिएर त्यहाँबाट फर्कें,’ उनले भने, ‘५/६ महिनापछि मैले एउटा कार्यक्रममा बोलेको त्यो परिवारकी आमाले टीभीमा देख्नुभएछ । आमाले छोराबुहारीलाई पैसा दिन भन्नुभएछ । छोराबुहारी आएर दिएर गए ।’उनी आश्रम चलाउन पहिला-पहिला ट्युसनसमेत पढाउँथे । 

शुरूमा उनलाई पैसा उठाएर भाग्छ भनेर पनि आरोप लगाए । तत्कालीन सञ्चालक समितिका पदाधिकारीले आश्रम नखोले समितिमै नबस्ने समेत बताए । त्यसपछि मासिक २ हजार भाडा तिरेर आश्रम खोलिएको उनले बताए । शुरूमा भने २ जनालाई मात्रै राखिएको थियो । 

पछि लाइन्स क्लबले एक करोड २५ लाखमा ५० बेडको संरचना बनाइदिएको थियो । अहिले ५६ बेड पुर्‍याएको छ । ढुङ्गा, गिट्टी, इट्टा र बालुवा माग्दै भवन बनाएको उनले बताए । एटेच ट्वाइलेट बाथरूमसहितका कोठा बनाइएको छ ।

राज्यको मुख ताकेर आश्रम नखोलिएको उनको भनाइ छ । उनले पार्कसमेत बनाइरहेका छन् । तीनपुस्ते नेसनल लिभरटी नाम दिएर उनले पार्क बनाएका हुन् । ‘हाम्रा सबै पुस्ता बाहिरिए । छोरा पुस्ता बाहिरिए । पारिवारिक हिसाबले हजुरबुबा, बुबा र नाति हो ।  प्राकृतिक हिसाबले चाहिँ हिमाल, पहाड, तराई हो,’ उनले भने । 

विदेशमा बसेका नेपालीले पनि याद गरुन् भनेर थर्ड जेनेरेसन पार्क बनाइरहेको उनले बताए । १ करोड ६ लाखमा एक बिघा जमिनमा पार्क बनाइने उनले बताए ।

अमेरिका र क्यानडामा रहेका नेपालीसँग भने उनले आश्रम सञ्चालन गर्न ५ डलर लिएका थिए । १ हजार ७ सय ३३ जनासँग ५ डलर उठाएको उनले बताए । उनका छोरा प्रशान्त अर्याल र बुहारी सुदा आचार्य अमेरिकामै बस्छन् ।

salt training

कमेन्ट गर्नुहोस्