
विराटनगरका जगतप्रसाद अर्यालले साइकलमा पम्पलेट टाँसेर प्रतिव्यक्ति पाँच रूपैयाँ उठाउन थालेको २३ वर्ष भयो । साइकलको अगाडि राखिएको टिनको बक्सामा उनले एक जनाबाट पाँच रूपैयाँ मात्रै उठाउने गरेका छन् ।
त्यही पैसाले उनले असहायहरूलाई गाँस, बास र कपासको व्यवस्था गर्ने गरेका छन् । विराटनगर–८ मा उनले विराटेश्वर वृद्ध आश्रम चलाइरहेका छन् । आश्रममा ७१ जना वृद्धवृद्धा छन् ।
उमेरले ८४ (८३ वर्ष) पुग्नै लागेका अर्याल अहिले पनि समाजको ऋण तिर्न भन्दै घामपानी नभनी कुदिरहेका छन् । ‘समाजले मलाई ऋण लगाएको छ । म हुर्किन र बढ्न पनि समाजले लगानी गरेको छ । त्यही ऋण तिर्न लागिपरेको छु,’ उनी भन्छन् ।
उनी आश्रमका संस्थापक हुन् । तर, आश्रम आफूले नभई समुदाय र समाजले चलाएको उनी बताउँछन् । विराटनगर विराट राजाको दरबार भएको शहर हो । त्यसैलाई आधार मानेर विराटेश्वर नाम जुराएको उनले सुनाए ।
आश्रमलाई साउथ इष्ट एसियामा नमूना बनाउने उनको लक्ष्य बताए । एक हजार वृद्धवृद्धालाई एउटै आश्रममा राख्ने उनको योजना छ । झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरलाई आधार क्षेत्र तोकेर काम गर्दा समाजले स्वीकार गरेको उनले बताए ।
यो क्षेत्रमा तराई, पहाड र हिमालका मान्छे बस्छन् । थारू, राजवंशी, मुसहर र क्षेत्री बाहुन सबैको बसोबास छ । उनले आश्रम बनाउन दुई वर्ष पूरै नेपाल पैदल यात्रा गर्न योजना बनाए । पाँच लाख मानिससँग ५ रूपैयाँ उठाउने लक्ष्य थियो । जग्गा किन्न २०५८ सालमा योजना बनाए र ०६० मा संस्था दर्ता गरे ।
उनी पूर्वशिक्षक पनि हुन् । पूर्वाञ्चलको शैक्षिक सेमिनार घोषणा गरेर उनले अभियान थालेका थिए । तर, तत्कालीन राजा वीरेन्द्रको हत्या र द्वन्द्वका कारण उनले पैदल यात्रा गर्न पाएनन् ।
त्यतिबेला जिल्ला प्रशासन कार्यालय र अञ्चलाधीशले खतरा हुने भन्दै जान रोकेका थिए । त्यसपछि गाउँ-गाउँ गएर प्रतिव्यक्ति ५ रूपैयाँ उठाएको उनले बताए । विवाह, व्रतबन्ध, सेमिनार गोष्ठीजस्ता कार्यक्रममा गएर उनले आफ्ना योजनासहित पैसा माग्ने गर्थे । उनलाई धेरैले मगन्ते भनेर गाली गर्थे ।
‘यो बौलायो पनि भने । कतिले हप्काएर गेटबाट पनि निकालिदिए । कतिले गाली गरे । पूर्वशिक्षक भएकाले सहने बानी परिसकेको थिएँ,’ अर्याल भन्छन् ।
८ वर्ष लगाएर ४ लाख ९२ हजार ३९२ रूपैयाँ उठाएको उनले बताए । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, कांग्रेस नेता शेखर कोइरालालगायतसँग पनि ५ रूपैयाँ मात्रै उठाएको उनले बताए । उनीहरूले आफूले मागेभन्दा बढी दिन खोज्दा पनि नलिएको अर्याल बताउँछन् ।
विराटेश्वरमा असहायलाई मात्रै राख्ने गरिएको छ । ‘श्रीमान् मरेपछि सासूससुराले हेला गर्छन् । बाल विधुवा महिलाहरू बुबाआमा हुँदासम्म माइतमा आएर बस्छन् । आमाबाबु बितेपछि परिवारका अन्य सदस्यले पनि हेला गर्छन्,’ उनले भने, ‘बुढेसकाल लागेपछि ती महिलाको बिजोग देखेको छु । हली राखेर बुढेसकाल लागेपछि घरबाट निकालिदिएका घटना देखेपछि आश्रम खोल्ने सोच पलायो ।’
६३ लाखमा १२ कट्ठा जग्गा किनेर संरचना बनाउन थालेको उनले बताए । आश्रममै उनले अस्पताल पनि बनाइरहेका छन् । अस्पताल बनाउन भने एक जना डाक्टरले ५ लाख दिएको उनको भनाइ छ । आश्रममै बसेर सेवा गर्छु भनेपछि एउटा कोठा बनाइदिने सर्तमा पैसा लिएको उनले बताए ।
‘बुबाआमा र छोराबुहारी भएको एउटा सानो परिवारमा म पैसा माग्दै पुगेको थिएँ । उहाहरूले चिया दिएर स्वागत गर्नुभयो । ४० रूपैयाँ पैसा लिएर त्यहाँबाट फर्कें,’ उनले भने, ‘५/६ महिनापछि मैले एउटा कार्यक्रममा बोलेको त्यो परिवारकी आमाले टीभीमा देख्नुभएछ । आमाले छोराबुहारीलाई पैसा दिन भन्नुभएछ । छोराबुहारी आएर दिएर गए ।’उनी आश्रम चलाउन पहिला-पहिला ट्युसनसमेत पढाउँथे ।
शुरूमा उनलाई पैसा उठाएर भाग्छ भनेर पनि आरोप लगाए । तत्कालीन सञ्चालक समितिका पदाधिकारीले आश्रम नखोले समितिमै नबस्ने समेत बताए । त्यसपछि मासिक २ हजार भाडा तिरेर आश्रम खोलिएको उनले बताए । शुरूमा भने २ जनालाई मात्रै राखिएको थियो ।
पछि लाइन्स क्लबले एक करोड २५ लाखमा ५० बेडको संरचना बनाइदिएको थियो । अहिले ५६ बेड पुर्याएको छ । ढुङ्गा, गिट्टी, इट्टा र बालुवा माग्दै भवन बनाएको उनले बताए । एटेच ट्वाइलेट बाथरूमसहितका कोठा बनाइएको छ ।
राज्यको मुख ताकेर आश्रम नखोलिएको उनको भनाइ छ । उनले पार्कसमेत बनाइरहेका छन् । तीनपुस्ते नेसनल लिभरटी नाम दिएर उनले पार्क बनाएका हुन् । ‘हाम्रा सबै पुस्ता बाहिरिए । छोरा पुस्ता बाहिरिए । पारिवारिक हिसाबले हजुरबुबा, बुबा र नाति हो । प्राकृतिक हिसाबले चाहिँ हिमाल, पहाड, तराई हो,’ उनले भने ।
विदेशमा बसेका नेपालीले पनि याद गरुन् भनेर थर्ड जेनेरेसन पार्क बनाइरहेको उनले बताए । १ करोड ६ लाखमा एक बिघा जमिनमा पार्क बनाइने उनले बताए ।
अमेरिका र क्यानडामा रहेका नेपालीसँग भने उनले आश्रम सञ्चालन गर्न ५ डलर लिएका थिए । १ हजार ७ सय ३३ जनासँग ५ डलर उठाएको उनले बताए । उनका छोरा प्रशान्त अर्याल र बुहारी सुदा आचार्य अमेरिकामै बस्छन् ।