भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् ।
यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताए ।
उनले भने, “मैले नेपाली गीत धेरै गए पनि नेपालमा कन्सर्ट भने गरेको छैन । अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म उक्त दिनको प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन ।”
आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताए ।
उक्त कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउने छन् ।