०९ असार २०८३, मंगलबार

इन्ड्राइभ आईसीटी अवार्डमा विभिन्न १५ विधामा अवार्ड वितरण

पुस ५, २०८१
काठमाडौं
इन्ड्राइभ आईसीटी अवार्डमा विभिन्न १५ विधामा अवार्ड वितरण

लिभिङ विथ आईसीटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ मा १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘रिकग्निसन’ प्रदान गरिएको  छ । एक हजार बढी विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको समारोहबीच आईसीटी अवार्ड वितरण भएको थियो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी शुब्बा गुरुङ, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, योजना आयोगका उपध्यक्ष प्रा.डा शिवराज अधिकारी लगायतले विजेतालाई अवार्ड प्रदान गरे । 

यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौं विश्वविद्यालयका सस्थापाक प्रा.डा सुरेश राज शर्माले प्राप्त गरे । एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन् । 

यसैगरी, प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आईसीटी अवार्ड नामीका सस्थापक डा. विशेष खनालले प्राप्त गरे । आन्टरप्रेनर्स आईसीटी अवार्ड फुडमान्डुका संस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आईसीटी अवार्ड न्युरल कम्पनिका सह-सस्थापक नामी बरालले प्राप्त गरिन्।

यस वर्षको इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिम्सन टेक कम्पनीले जित्न सफल भयो भने द एसिया फाउन्डेसन सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४ जियोकृषिले प्राप्त गरेको छ । यस वर्षको प्रडक्ट आईसीटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्‍यो भने राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड स्पिकअपले जित्न सफल भएको छ । 

त्यसैगरी, सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रो पे पब्लिक च्वाइस आईसीटी अवार्ड ज्याप सर्भिसेसले प्रात गर्‍यो । सातै देशहरूका स्टार्टअपहरू लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आईसीटी अवार्ड २०२४ भरतको हाइफन एससिएसले जितेको छ । अवार्डमा उत्कृष्ट ५ मा पर्न सफल अन्य देशका स्टार्टअपलाई पनि सम्मान गरिएको छ ।

यसैगरी, संस्थागत अवार्ड विधाहरूमा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आईएमई पे ले जित्न सफल भएको छ । डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक र प्राइभेट सेक्टरमा क्रमश: सुकुना मावि मोरङ र एलआरआई कलंकीले प्राप्त गरेका छन् ।

यसबाहेक सातै प्रदेशका सात सर्वोत्कृष्ट स्टार्टअपलाई समेत प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मान गरेको छ । यसवर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेश अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन् ।

अवार्ड समारोहमा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुतिले अवार्डलाई थप विशेष बनाएको थियो । अवार्ड समारोहमा सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरूङले सूचना प्रविधिको विकासमा सरकारले जति गर्नुपर्ने हो, त्यति काम गर्न नसकेको स्वीकार गरे । 

‘आईटी दशक भनेर घोषणा गर्छौं । तर, त्यसको कार्यान्वयनका लागि बजेट छुट्याएका छैनौं,’ उनले भने, ‘नेपालसँग एउटा पनि आईटी पार्क छैन । पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’

त्यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतामा निराशा र कुण्ठा पैदा भइरहेको समयमा आईसीटी अवार्डले विकास र निर्माणमा सकारात्मक सन्देश दिएको बताए ।

आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले सन् २०१६ देखि डिजिटल इकोसिस्टम विकास र प्रवर्द्धनमा क्रियाशील यो कार्यक्रम नेपालमा मात्रै नभएर विदेशमा समेत विस्तार भएको बताए । सूचना प्रविधिको विकासमा निजी क्षेत्र अग्रणी भूमिकामा जानकारी दिँदै उनले सरकारले नीतिगत सुधार गर्दै अझै सहयोगी हात बढाउनु पर्नेमा जोड दिए ।

यस्तै, प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्ष अम्बर बहादुर थापाले प्रविधिले संसारलाई जोडेको जानकारी दिँदै नेपालमा भने अझैपनि आईटीमा सोचेजस्तो विकास हुन नसकेको बताए ।
  
यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले देशका कुनाकाप्चामा रहेको प्रतिभालाई आईसीटी अवार्डले खोजेर ल्याउने गरेको जानकारी दिँदै सरकारले पनि आईटी र स्टार्टअपलाई प्राथमिकता दिएको बताए । 

लिभिङ विथ आईसीटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । आईसीटी अवार्ड अन्तर्राष्ट्रिय अवार्डहरू डब्लुएसए अवार्ड,  अरोरा टेक अवार्ड लगायतको आधिकारिक साझेदार समेत हो ।

salt training

कमेन्ट गर्नुहोस्