२९ जेठ २०८३, शुक्रबार
ट्रम्प मिसन

ट्रम्पको 'म्यानिफेस्ट डेस्टिनी'– ग्रीनल्यान्ड, पनामा र क्यानडालाई अमेरिकामा गाभ्ने महत्त्वाकांक्षा

पुस ९, २०८१
काठमाडौं
ट्रम्पको 'म्यानिफेस्ट डेस्टिनी'– ग्रीनल्यान्ड, पनामा र क्यानडालाई अमेरिकामा गाभ्ने महत्त्वाकांक्षा

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा अमेरिकाको भौगोलिक सीमाना बिस्तार गर्ने महत्त्वाकांक्षा देखाएका छन् ।

उनले चुनावी अभियान र चुनाव जितेपछि दिएको सार्वजनिक अभिव्यक्तिमा क्यानडा, पानामा नहर, डेनमार्क प्रशासित ग्रीनल्यान्ड जस्ता देश र भू-भाग अमेरिकाले प्राप्ति गर्ने वा हस्तक्षेप गर्ने जस्ता निरन्तर विवादित विषय उल्लेख हुने गरेका छन् ।

उनले लुइसियाना र अलास्कालाई उदाहरण दिने गरेका छन्, जसलाई अमेरिकाले खरिद गरेर प्राप्त गरेको थियो ।

यसलाई ट्रम्पको आधुनिक 'म्यानिफेस्ट डेस्टिनी' भनी अमेरिकी सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् । म्यानिफेस्ट डेस्टिनी भन्ने अवधारणा १९ औं शताब्दीको मध्यतिर अमेरिकामा विकसित भएको थियो ।

यो सिद्धान्तले अमेरिकालाई आफ्नो भौगोलिक सीमाना उत्तर र पश्चिमतर्फ विस्तार गर्न ईश्वरीय अधिकार प्राप्त भएको विश्वास व्यक्त गर्छ ।

यो अवधारणाअनुसार अमेरिकाको विस्तारलाई धर्म, प्रगति र सभ्यताको प्रचारसँग जोडिएको छ ।

यसले अमेरिकाको भूभाग विस्तारलाई मात्र होइन, नयाँ भूभागमा अमेरिकी संस्कृति, शासन र अर्थतन्त्रको स्थापना गर्न आवश्यक मान्दछ ।

यो अवधारणामार्फत अमेरिकाले टेक्सास, क्यालिफोर्निया र मेक्सिकोसँगको युद्धपछि ठूलो भूभाग आफ्नो कब्जामा ल्याएको थियो ।

यो अवधारणा जोन एल ओसुलिभान नामका पत्रकारले सन् १८४५ मा आफ्नो लेखमार्फत प्रस्ताव गरेका थिए ।

अमेरिकाले आफ्नो पश्चिमतिरको भू–भाग ओगट्नुपर्ने र प्रशान्त महासागरसम्म आफ्नो प्रभाव क्षेत्र विस्तार गर्नुपर्ने ती पत्रकारको तर्क थियो ।

अहिले यो अवधारणालाई ऐतिहासिक र आलोचनात्मक दुवै दृष्टिले हेरिन्छ । ट्रम्प र रिपब्लिकन पार्टीका अन्य नेताहरूले यसलाई 'म्यानिफेस्ट डेस्टिनीको आधुनिक रूप' भनेर व्याख्या गर्ने प्रयास गरेका छन् ।

क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने प्रस्ताव

आगामी जनवरी २० देखि राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सम्हाल्ने तयारी गरेका ट्रम्पले केही साताअघि क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने प्रस्ताव गरे ।

उनले यसलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरे पनि यसले राजनीतिक र सामाजिक रूपमा संसारको ध्यान खिचेको छ ।

उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग फ्लोरिडास्थित एक बीच रिसोर्ट 'मार--लागो'मा भेटघाट गरेपछि यो विचार सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, 'क्यानडालाई अमेरिकामा समाहित गर्नु ठूलो कुरा हो । यसले अमेरिकाको शक्ति र एकतालाई थप मजबुत बनाउँछ ।'

विशेष गरी ट्रम्पले क्यानडा र अमेरिकाबीचको व्यापार विवाद तथा सीमा मुद्दालाई लिएर निरन्तर विचार व्यक्त गर्दै आएको सन्दर्भमा उनको यस्तो भनाइ बाहिर आएको हो ।

उनले क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाउने धम्की पनि दिएका थिए ।

यो विषयलाई लिएर क्यानडाले औपचारिकरूपमा कुनै प्रतिक्रिया दिएको छैन, तर क्यानेडाली जनताले सामाजिक सञ्जालमा क्यानडाको स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा आवाज उठाउँदै यसको विरोध गरेका छन् ।

पनामा नहर कब्जा गर्ने धम्की

ट्रम्पले पनामा नहर पुनः अमेरिकाको नियन्त्रणमा आउनुपर्ने आवश्यकता दोहोर्‍याएका छन् । नहरमा अमेरिकी जहाजहरूको शुल्क घटाउन चेतावनी दिँदै उनले त्यसो नभए अमेरिकाले हस्तक्षेप गर्ने बताएका हुन् ।

आइतवार एरिजोनामा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, 'यसअघि पनि पानामा अमेरिकाकै नियन्त्रणमा थियो । अमेरिकी जहाजको ढुवानी कर घटाइएन भने अमेरिकाले हस्तक्षेप गर्ने उपायबारे सोच्नेछ ।'

ट्रम्पले यस्तो टिप्पणी गरेपछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले पनामाको सार्वभौमसत्ता र स्वतन्त्रतामा कुनै पनि देशले हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारेका छन् ।

एक वक्तव्यमा उनले भनेका छन्, 'हामीले पनामाको प्रत्येक वर्गमिटरलाई आफ्नो देशको भूमि मान्दछौं ।'

पानामा नहरको लम्बाइ ८२ किलोमिटर छ र यो एटालान्टिक र प्रशान्त महासागर बीचको प्रमुख मार्ग हो ।

यसलाई सन् १९०० को दशकमा बनाइएको थियो । सन् १९७७ सम्म यसको नियन्त्रण अमेरिकासँग थियो । यस नहरबाट प्रति वर्ष १४ हजार पानी जहाज यात्रा गर्छन् ।

ग्रीनल्यान्ड पुनःखरिद गर्ने प्रस्ताव

ट्रम्पले डेनमार्कका लागि नयाँ राजदूत केन हाउरीलाई नियुक्त गर्ने घोषणा गर्दै डेनमार्क अधीनस्थ ग्रीनल्यान्ड अमेरिकाको राष्ट्रिय सुरक्षा र विश्वव्यापी स्वतन्त्रताका लागि अत्यावश्यक भनी टिप्पणी गरे ।

सोही कार्यक्रममा उनले ग्रीनल्यान्ड खरिद गर्ने आफ्नो पुरानो प्रस्तावलाई पुनः जीवित बनाएका छन् ।

यो प्रस्ताव पहिलोपटक उनले २०१९ मा राखेका थिए, जसमा उनले ग्रीनल्यान्डलाई रणनीतिकरूपमा महत्त्वपूर्ण भन्दै ग्रीनल्यान्डको प्राकृतिक स्रोत र सैन्य आधार अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक बताएका थिए ।

ट्रम्पको यस्तो प्रस्तावलाई डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले गैर-जिम्मेवार भन्दै अस्वीकार गरेका थिए भने ग्रीनल्यान्डका प्रधानमन्त्री मुटे एगेडेले ग्रीनल्यान्ड बिक्रीका लागि नभएको टिप्पणी गरेका थिए ।

ग्रीनल्यान्ड डेनमार्क अधीनस्थ भएपनि एक स्वायत्त राज्यका रूपमा अवस्थित भूभाग हो ।  

उल्लेखित सबै प्रस्ताव ट्रम्पको 'अमेरिका फर्स्ट' नीति र १९औं शताब्दीको 'म्यानिफेस्ट डेस्टिनी' अवधारणासँग मिल्दाजुल्दा देखिन्छन् ।

ट्रम्पले यी मात्र होइन, अमेरिकासँग जोडिएका कैयौं अन्य भूभागमा पनि अमेरिकाको दाबी रहेको वक्तव्य दिने गरेका छन् ।

कूटनीतिक असर

ट्रम्पका यस्ता विवादास्पद प्रस्तावले अमेरिकी कूटनीतिमा गहिरो असर पार्ने गरेका छन् ।

एकातर्फ, यसले अमेरिका प्रमुख रणनीतिक मुद्दाहरूमा आफ्नो चासो र प्रभाव विस्तार गर्न चाहन्छ भन्ने देखाउँछ भने अर्कातर्फ, यस्ता प्रस्तावले सम्बन्धित राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई कमजोर पार्न सक्ने खतरा पनि रहेको छ ।

ग्रीनल्यान्डको खरिद प्रस्तावले डेनमार्कसँगको सम्बन्धमा खटपट उत्पन्न भएको छ । डेनमार्कका नेताहरूले यस प्रस्तावलाई असभ्य र अस्वीकार्य भनेका छन् । यसले डेनमार्क र युरोपेली मुलुकहरूमा अमेरिकाको विश्वसनीयता कमजोर बनाएको छ ।

ट्रम्पले ग्रीनल्यान्ड र पनामा नहरजस्ता मुद्दामा चासो देखाएर अमेरिकाको रणनीतिक महत्त्व र सुरक्षाका लागि आवश्यक स्थानहरूमा ध्यान केन्द्रित गरेको स्पष्ट बताएका छन् ।

साथै, चीन र रसियाको बढ्दो गतिविधिको सामना गर्न आफूले पहल गरिरहेको ट्रम्पले देखाउन खोजेका छन् ।

तर, यस्ता प्रस्तावले अमेरिकालाई साम्राज्यवादी सोच राख्ने देशका रूपमा प्रस्तुत गरेको छ ।

ट्रम्पका यस्ता प्रस्तावले अमेरिकाको रणनीतिक चासोहरूलाई जोड दिएको भए पनि कूटनीतिक सम्बन्धलाई जोखिममा पारिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्