१४ असार २०८३, आइतबार
क्रुर हत्याकाण्ड

बालकोट घटनाको नयाँ रहस्य– बुवा र भाइको स्केच बनाएर पहिल्यै लगाएका थिए ‘क्रस’

पुस १०, २०८१
काठमाडौं
बालकोट घटनाको नयाँ रहस्य– बुवा र भाइको स्केच बनाएर पहिल्यै लगाएका थिए ‘क्रस’

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटमा घटेको घटनाको अनुसन्धान गर्दा नयाँ तथ्य फेला परेको छ ।

बाबु कुलप्रसाद आचार्य र भाइ प्रवीणको हत्यामा संलग्न मिलन (कुलप्रसादका जेठा छोरा)को मोबाइलमा एउटा ‘स्केच’ भेटिएको छ ।

मिलन आफैंले बाबु र भाइको आकृति झल्किने स्केच बनाएर ‘क्रस’ चिह्न लगाएका छन् । यस्तो कार्य सुरक्षा निकायले अपराधीको ‘सफाया’ गर्दा होस् वा ‘ग्याङस्टार’ ले आफ्ना प्रतिद्वन्द्वीको सफाया गर्दा प्रयोगमा ल्याउने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । केही फिल्ममा पनि यस्तो दृश्य देखाइन्छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीका अनुसार प्रहरीले मिलनलाई किन यस्तो स्केच बनाएको भनेर सोधेको थियो । जवाफमा मिलनले जिन्दगीमा केही गर्न नसकेकाले बाबु र भाइलाई मारेर आफू पनि मर्ने योजना अनुसार स्केच बनाएको उल्लेख गरेका थिए । 

स्केच बनाएर क्रस गर्न फिल्म हेरेर सिकेको र आफूले पूर्वयोजना अनुरूप स्केच बनाएको जवाफ उनले प्रहरीलाई दिएका छन् । 

प्रहरी हिरासतमा रहेका मिलनमा अहिले पनि कुनै पश्चाताप देखिँदैन । 

‘परिवारका सबै सदस्यको हत्या गरेर आफू पनि मर्ने योजना बनाएको थिएँ,’ मिलनले प्रहरीमा दिएको बयान उद्धृत गर्दै एसपी बुढाथोकीले लोकान्तरसँग भने, ‘आमा गाउँमा राजनीति गर्ने भएकाले उहाँले जसोतसो परिवार चलाउन सक्ने देखेर हत्या गर्न मन लागेन ।’ 

खोटाङमा मिलनका वृद्ध हजुरआमा र हजुरबुवा पनि छन् । बयान सुन्दा उनमा धेरै अघिदेखि नै निराशाको भाव पलाएको देखिन्छ ।

एसपी बुढाथोकीले भने, ‘धेरै आपराधिक घटनाको अनुसन्धान गरियो, तर यो घटना जहिल्यै मानसपटलमा रहिरहने देखियो । जन्म दिने बाबु र आफ्नो बालसखा भाइको निर्मम हत्या गर्दा पनि दाजुमा कुनै पश्चाताप नदेखिनु आश्चर्यको कुरा छ ।’ 

परिवार र छिमेकमा समेत अब मिलनप्रति कुनै आत्मीय भाव नदेखिने प्रस्ट हुँदा पनि उनले आफूलाई अपराधीको रूपमा चित्रित गरेका छैनन् । 

आत्महत्या गर्न कोठाबाट हिँडेका मिलन पहिलो प्रयास असफल भएपछि प्रहरी वृत्त महाराजगञ्जमा आत्मसमर्पण गर्न पुगेका थिए । 

‘मैले आत्महत्या गर्न खोजेको थिएँ, पूरा भएन । पत्रपत्रिका हेर्दा मैले नै हत्या गरेको आशंका गरेको देखियो,’ मिलनको बयान उद्धृत गर्दैै एक प्रहरी अधिकृतले भने, ‘एक दिन त प्रहरीले भेट्छ नै, कति दिन कहाँ गएर लुक्ने भनेर पहिल्यै आएको हुँ ।’

मिलन डिप्रेशनमा जानुको मूल कारणमध्ये ६ पटकको प्रयासमा पनि लोकसेवा पास नहुनु एउटा थियो भने अर्को भनेको आर्थिक समस्याले परिवारभित्र सिर्जना भएको कलह थियो ।

मनोविद् गोपाल ढकालका अनुसार मिलनको चरित्र र उनले घटाएको घटना हेर्दा मानसिक समस्या रहेको पुष्टि हुन्छ ।

‘विश्व स्वास्थ्य संगठनले पनि हरेक ४ जनामध्ये एक जनामा मानसिक समस्या देखिने कुरा प्रतिवेदनमा उल्लेख गरेको छ,’ ढकालले भने, ‘कमजोर आर्थिक अवस्था, बढी महत्त्वकांक्षा, बेरोजगारी र तीव्र प्रतिस्पर्धाका कारणले पनि मानसिक स्वास्थ्य कमजोर हुने देखिन्छ । मिलनमा पनि यिनै कुराले मानसिक भ्रम पलाएको पुष्टि गर्छ ।’ 

मानसिक स्वास्थ्य समस्याको बेलैमा उपचार गर्नुपर्ने ढकाल बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्