
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिले शुक्रबारदेखि बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी गर्ने भएको छ । पछिल्लो समय पितृदोष र त्रिपिण्डी श्राद्धबारे चर्चा हुन थालेसँगै यसको कारण र वास्तविकता जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको समितिले जनाएको छ ।
शुक्रबार र शनिबार दुई दिन चल्ने वृहत गोष्ठीमा धर्मशास्त्र, वास्तु तथा ज्योतिषसँग सम्बन्धित विभिन्न विषयमा देखापरेका विषयमा त्यसैसँग सम्बन्धित विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिका सभापति ज्यो. जनार्दन न्यौपानेले जानकारी दिए ।
सो अवसरमा त्रिपिण्डी श्राद्धको औचित्य र विधिको बारेमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागकाअध्यक्ष प्रा.डा. देवमणि भट्टराई, व्रतबन्ध मुहूर्तका विषयमा हिमाल पञ्चाङ्गका पञ्चाङ्गकार प्रा.डा.विश्वनाथ त्रिपाठी, जन्म कुण्डलीमा पितृदोष समस्या र समाधानका विषयमा त्रिभुवन विश्वविद्यालयका सहप्रा.ज्यो.दीनानाथ पण्डित, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वास्तु विभागका प्रमुख ई.लक्ष्मीप्रसाद सोतले वास्तु सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यक्रमको उद्घाटन एवं आशीर्वचन सन्त शिरोमणि लोकानन्द महाराजबाट हुनेछ भने उक्त कार्यक्रम रुपन्देहीको स्वामीनारायण मुक्तिनाथ धाम नयाँ गाउँमा हुने ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष सुन्दर भण्डारीले बताए ।
उक्त कार्यक्रममा प्रवेश निःशुल्क रहेकोले सबै पण्डित, ज्योतिष तथा धार्मिक क्षेत्रका अगुवाहरूलाई कार्यक्रममा सहभागी हुन महासचिव कमल पौडेलले आह्वान गरेका छन् ।