०३ असार २०८३, बुधबार
प्रहरीको जागिरमा घट्दो उत्साह

घट्न थाल्यो प्रहरीमा भर्ती हुने आकर्षण, आवेदकको संख्यामा उल्लेख्य कमी

पुस ११, २०८१
काठमाडौं
घट्न थाल्यो प्रहरीमा भर्ती हुने आकर्षण, आवेदकको संख्यामा उल्लेख्य कमी

प्रहरी प्रधान कार्यालयले गत मंसिर २७ गते ११ सय ६५ प्रहरी जवानका लागि आवेदन खुलायो ।

त्यसमा पुस १० गतेसम्म आइपुग्दा ११ हजार १ सय ३० जनाले आवेदन भरेका छन् । आवेदन दिने अन्तिम समय माघ ७ गतेसम्म तोकिएको छ । 

यसअघि मुख्यालयले १८ सय ५६ जवानका लागि आवेदन खुला गर्दा ४७ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए । यो संख्यासँग तुलना गर्दा आवेदन दिने संख्यामा उल्लेख्य कमी आउने देखिन्छ । 

त्यसो त प्रहरी सहायक निरीक्षक (असई) को आवेदन संख्या पनि घट्दो क्रममा छ । प्रहरी मुख्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार गत भदौ २८ मा २६५ जना असईका लागि दरखास्त आह्वान गर्दा १७ हजार ७ सय ७५ जनाले आवेदन भरेका थिए । 

यसअघि २०८० कात्तिक ३ गते ३६५ जना असईको दरखास्त आह्वान गर्दा १९ हजार ९ सय ३२ जनाले आवेदन भरेका थिए । यो तथ्यांकले प्रहरी जागिरमा युवाको आकर्षण क्रमशः घट्दै गएको पुष्टि हुन्छ । 

प्रहरी मुख्यालयले २०७७ मा ५ हजार २ सय २७ जना प्रहरी जवान माग गर्दा ९३ हजार १ सय ४५ जनाले आवेदन भरेका थिए । 

२०७८ मा २ हजार ४ सय ७४ जना माग भएकोमा ६३ हजार ४ सय ७९ जनाले आवेदन भरेका थिए । तथ्यांक विश्लेषण गर्दा प्रहरीमा क्रमशः आकर्षण घट्दै गएको देखिन्छ । 

प्रहरी मुख्यालयले ४ वर्षअघि प्रहरी सेवामा आकर्षण घटेको विषयमा अध्ययन समेत गरेको थियो । त्यतिबेला अध्ययनमा सहभागी युवाले न्यून सेवा–सुविधा मुख्य कारण रहेको जवाफ दिएका थिए । 

योसँगै अन्य क्षेत्रमा धेरै अवसर र सहज काम भएकाले पनि प्रहरी सेवा नरोजिएको जवाफ आएको थियो ।

प्रहरीमा आकर्षण घट्नुको अर्को कारण भनेको नयाँ पुस्ताका युवाहरू विदेश जाने ‘ट्रेन्ड’ पनि रहेको प्रहरी मुख्यालयको बुझाइ छ ।

विगतमा प्रहरीबाट संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा जाने संख्या ठूलो हुन्थ्यो । अहिले ज्यादै न्यून मात्र शान्ति मिसनको कोटा छ । यस कारणले प्रहरीमै सेवा गरिरहेका अधिकृतहरूले आफ्ना सन्ततिलाई पनि प्रहरीमा जागिरका लागि प्रोत्साहन गर्दैनन् ।

‘नयाँ पुस्ताका युवा विदेशमा शिक्षा हासिल गर्न जाने ट्रेन्ड बढेको छ । अन्य अवसरका विकल्प पनि भएकाले प्रहरीमा आवेदन दिनेको संख्यामा कमी आएको हो,’ एसएसपी अधिकारीले लोकान्तरसँग भने, ‘हामीले मागेकोभन्दा कम आवेदन परेको हो भने सोच्नुपर्ने हुन्छ, आवेदन मागे भन्दा बढी नै परेको छ ।’ 

प्रहरीमा राजनीतिक हस्तक्षेप, सेवा सुविधा समयानुकूल नहुनु र प्रहरीप्रति जनआक्रोश बढ्दै जानुले पनि प्रहरी सेवामा युवाहरूको आकर्षण कम हुन थालेको पूर्व सुरक्षा अधिकारीहरूको भनाइ छ । 

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्र सिंह भण्डारीका अनुसार प्रहरीभित्र हुने गरेका राजनीतिक हस्तक्षेपका सूचना बाहिर छरपस्ट भएकाले पनि युवाहरू प्रहरीमा प्रवेश गर्नबाट पछि हटेका हुन् । 

‘आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने सरुवा–बढुवामा समेत प्रहरी अधिकारीले राजनीतिक दलका नेताहरूको ढोका ढक्ढक्याउनुपर्ने अवस्था छ,’ भण्डारीले भने, ‘अर्को कुरा भनेको प्रहरीको ड्युटी आवर हुँदैन भन्ने तर सेवासुविधा अन्य मुलुकको तुलनामा ज्यादै कम दिने कारणले पनि विकर्षण बढेको हो ।’ 

अर्कातर्फ सेवाबाट राजीनामा दिनेको संख्या समेत बढ्दै गएको छ । प्रहरी मुख्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७९२ जनाले सेवाअवधि नसकिँदै राजीनामा दिएका थिए । यो आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५ सय ९ जनाले राजीनामा दिइसकेका छन् । 

राजीनामा दिने अधिकांश जवान, हवल्दार र असई छन् ।

‘राजीनामा दिनेहरू अधिकांश पेन्सन भएपछिका हुन्, केहीले भने पेन्सन अवधि नपुग्दै राजीनामा दिएको देखिन्छ,’ एसएसपी अधिकारीले भने, ‘प्रहरीमा पाउने सेवासुविधा र बाहिर पाउने सेवासुविधामा अन्तर भएपछि राजीनामा दिएका हुन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्