२९ जेठ २०८३, शुक्रबार
जीवनदर्शन

सुख पाउने कि दुःख ?

पुस १३, २०८१
काठमाडौं
सुख पाउने कि दुःख ?

‘सत्यं ब्रुयात् प्रियं ब्रुयात् अप्रियं सत्यमबु्रयात् ।’ अर्थात् नीतिशास्त्र भन्छ– सत्य बोल, प्रिय बोल, सत्य कुरा पनि अप्रिय नबोल । अप्रिय बोली र वचन भनेको समस्याको जडमात्र होइन पापको मूल पनि हो । जहाँ अप्रिय बोली र वचन भएको हुन्छ पापको उत्पत्ति त्यहीँबाट हुन पुग्छ ।

भागवतमा व्यासजीले पापलाई अधर्म भनेका छन् । उसको श्रीमतीको नाम मृषादेवी हो भने छोराको नाम दम्भ र नातिको नाम लोभ र पनातिको नाम क्रोध हो । अनि क्रोधको पुत्रीलाई दुरुक्ति भनिन्छ । मृषादेवी भनेको झुट हो । दम्भ भनेको अहङ्कार हो । लोभ र क्रोध त यसै पनि भई नै हाल्यो । दुरुक्ति भनेको कर्कशा वाणी हो ।

जहाँ अधर्मदेवले मृषादेवीसित विवाह गर्छ त्यहाँ दम्भ उत्पत्ति हुन्छ । दम्भ भएपछि स्वतः लोभको उत्पत्ति हुन्छ । लोभ भएपछि क्रोध हुने नै भयो, क्रोध भएपछि दुरुक्ति अर्थात् कर्कशा वाणी जन्मन किन बेर लाग्थ्यो र । यी नानी यति बढी शक्तिशाली छिन् कि रावण जन्माउन पनि सक्छिन्, महाभारत मच्चाउन पनि सक्छिन् ।

बोली र वचन भनेको जीवनको शक्ति हो, ऊर्जा हो, सौन्दर्य हो, आभूषण हो । एउटै बोलीले रोकिएको युद्धलाई ब्युँताउन पनि सक्छ भइरहेको युद्ध रोकाउन पनि सक्छ । झगडाको शुरूवात हुने भनेकै बोलीवचनबाट हो । पतिपत्नीमा झगडा पनि यसैले गराउँछ, बाबुछोरा तथा आमाछोरीमा र दाजुभाइमा झगडा पनि यसैले गराउँछ । समग्रमा भन्नुपर्दा घरघरमा झगडा, टोलमा झगडा, छिमेकमा झगडा, राष्ट्रमा झगडा, परराष्ट्रमा झगडाको मूल कारण यही हो । जब झगडा बढ्दै जान्छ तब युद्ध तथा मारकाट शुरू हुन बेर लाग्दैन । बम र बन्दुक र बारुदको खेल शुरू हुने भनेकै झगडाको रङ्गमञ्चमा हो । त्यसैले नीतिशास्त्रले सत्य बोल, प्रिय बोल, सत्य कुरा पनि अप्रिय नबोल भनेको हो ।

प्रायः हामीलाई लाग्छ दुःख अर्काले दिएको छ, अर्काको कारणले हुन्छ तर, वास्तविकता त्यस्तो हुँदैन, होइन । अपितु यसको कारण त आफैं हो, आफ्नै कारणले हुन्छ । यहाँ अर्को त निमित्त मात्र हुन आउने हो । यसको बीऊ आफैंसित छ, आफैंले रोपेको हुन्छ । अनि आफैंले त्यसलाई मलजल गर्ने काम गरेको हुन्छ । आफू भला जगत् भला भन्ने त उखानै छ ।

राम्रो मुखले भने बिग्रन लागेको काम पनि बन्न सक्छ । नमीठो बोलीवचन गरे बन्न लागेको काम पनि बिग्रन सक्छ । हर्षमान र वर्षमान सहोदर दाजुभाइ हुन् तर, दाजु हर्षमानको बोलीवचन  रुखो र अप्रिय थियो भाइ वर्षमानको रसिलो र मीठो थियो । एकपटक उनीहरू धन कमाउने उद्देश्यले परदेश हिँडेका थिए । दिनभर हिँडेपछि साँझ कतै बास्न बस्नुपर्ने भयो तर, दाजु वर्षमानको बोलीको कारण कतै पनि बास पाएनन् । अन्त्यमा भाइ वर्र्षमान आफैं अघि सरेर बासको प्रबन्ध गर्‍यो ।

शायद उसको बोलीवचन मन परेर होला घर मालिकले बासको साथमा गाँसको पनि व्यवस्था मिलाइदिएका थिए तर, संयोग के परेछ भने त्यसै दिन घरपेटी आमैले दालमा नून हाल्न बिर्सिछन् । त्यत्तिकै निहुँमा दाजु दाजु हर्षमानले घरपेटीलाई भन्नु नभन्नु भन्यो । फलतः घरपेटीले तत्कालै दुवै भाइलाई घरबाट निकालिदिए । बिचराहरूले पूरा रात भोकभोकै चिसो छिँडीमा बिताउनुपर्‍यो । यो एउटा दृष्टान्त हो । जहाँ पनि नमीठो बोलीवचनको नतीजा यस्तै हुन्छ ।

कोइलीको बोली मीठो हुन्छ । सबैले प्रशंसा गर्छन्, कागको रुखो हुन्छ कसैले पनि मन पराउँदैनन् । बोली सुन्नेवित्तिकै शुभ बोल भन्दै धपाउन बेर लाग्दैन । एकपटक कागले कोइलीसँग भनेछ– ‘मित्र ! तिमीलाई सबैले माया गर्छन्, प्रशंसा गर्छन् तर, मलाई भने जहाँ गए पनि देख्नासाथ धपाउने गर्छन् किन होला ?’ कागको प्रश्न सुनेर कोइलीले भनेछ– ‘यसको कारण तिमी नै हौ मित्र ! तिमी स्थान त परिवर्तन गर्छौं तर, आफ्नो रुखो बोलिवचन परिवर्तन गर्दैनौं । अनि कसरी हुन्छ ? जबसम्म आफ्नो बानीमा परिवर्तन गर्दैनौं त्यतिबेलासम्म हुने यस्तै हो ।’ यो पनि अर्को दृष्टान्त हो ।

मानिसको मूलभूत सौन्दर्य भनेकै उसको बोलीवचन हो । शारीरिक सौन्दर्य जति नै भए पनि बोलीवचन राम्रो भएन भने त्यसको अर्थ छैन । रूप जस्तो भए पनि चल्छ बोलीवचन चल्दैन । यसै पनि रूप र लावण्य भन्ने कुरा कसैले चाहेर हुने कुरा होइन ।

कसैले बनाउँछु भनेर बन्ने कुरा पनि होइन । प्रकृतिले बनाउने कुरा हो, जस्तो बनायो, बनायो तर, बोली र वचन भने आफ्नो हातमा हुन्छ । आफूले चाहे अनुसारको बनाउन सकिन्छ । त्यसैले त सबैले पहिले रूप र लावण्यभन्दा उसको बोली र वचनतर्फ नै ध्यान दिएका हुन्छन् । 

यसको अर्थ हो जसको बोलीवचन राम्रो छ उसले जहाँ गए पनि सुख पाउँछ, जसको राम्रो छैन उसले भने जहाँ गए पनि दुःखबाहेक केही पाउँदैन । जहाँसम्म बोलीवचन सुधारेर सुख पाउने कि बिगारेर दुःख पाउने भन्ने कुरा छ त्यो भने आफ्नै हातमा छ ।

salt training

कमेन्ट गर्नुहोस्