०१ असार २०८३, सोमबार
‘ब्रिगेड कमान्डर’को कृषि फर्म

माटोसँग लडिरहेका माओवादी

पुस १३, २०८१
सुर्खेत
माटोसँग लडिरहेका माओवादी

सुर्खेतको वीरेन्द्रनगरमा तरकारी खेत गरिरहेका गोविन्द तिमिल्सेना तत्कालीन सशस्त्र युद्धका घाइते हुन् । २०५५ साउनमा तत्कालीन माओवादी पार्टीमा भूमिगत भएका उनको खुट्टामा अझै रड राखिएको छ । युद्धमा गोली खाएर बाँचेका तत्कालीन माओवादी कमान्डर अहिले भने कृषि कर्ममा तल्लीन छ ।

सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला गोविन्द भूमिगत भएका थिए । ‘जनमुक्ति सेना’को ‘ब्रिगेड कमान्डर’सम्म बनेका उनी कृषक परिवारबाटै भूमिगत बनेका थिए । २०५७ चैत २४ गते दैलेखको नौमूलेमा भएको आक्रमणमा उनी पहिलोपटक सहभागी भएका थिए । गोविन्दले सात वर्षे भूमिगत जीवनमा तत्कालीन शाही नेपाली सेनादेखि प्रहरीका ब्यारेकमा झण्डै तीन दर्जन बढी आक्रमणमा सहभागिता जनाए ।

२०६१ जेठ २३ गते कैलालीको आमखैयामा भएको लडाइँमा उनको खुट्टामा गोली लागेको थियो । शल्यक्रिया गरेर राखिएको रड अझै निकालिएको छैन । 

उनी कैलालीको लडाइँमा मात्रै होइन म्याग्दी र रुकुमको खारामा पनि घाइते भएका थिए, तर त्योभन्दा ठूलो घटना आमखैयामा भएको थियो । उनको खुट्टामा लागेको गोली एमसिक्सिटिन बन्दुकको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी लडाकुका शिविरमा पुगेका थिए । समायोजन प्रक्रिया शुरू हुँदा आफू नेपाली सेनामा नपर्ने निष्कर्ष उनले निकाले । कारण त्यही खुट्टामा राखिएको रड थियो । उनले राजनीतिक मोर्चा रोजे । केही वर्ष दैलेखमा बसेर पार्टी संगठनको काममा लागे, हाल उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य छन् । 

दैलेखको चामुण्डा विन्द्रासैनी–२ घर भएका गोविन्द हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ मा बस्दै आइरहेका छन् । माओवादीका तत्कालीन बिग्रेड कमान्डर गोविन्दले विरेन्द्रनगरको वडा नम्बर १२ स्थित ढकाल चोकमा तरकारी खेती गरिरहेका छन् ।

प्रतिभा कृषि तथा पशुपन्छी फर्म नामबाट उनले लोभलाग्दो तरकारी खेती गरिरहेका छन् । उनले २०६६ सालमा कृषि कर्म शुरू गरेका थिए । प्रदेशको सबैभन्दा ठूलो शहर वीरेन्द्रनगरमा उत्पादित तरकारी बजार पुर्याउन सहज हुने र राम्रो आम्दानी गर्न सकिने ठानेर उनले फर्म दर्ता गरेर काम शुरू गरेका थिए । उनका अनुसार शुरूमा ६ कट्ठा जमिन भाडामा लिएर तरकारी खेती खेती थालेका उनले हाल १४ कट्ठामा गर्दै आएका छन् ।

उनीसँग दैलेखमा पनि जग्गा छ । तर, हिँड्न गाह्रो भएपछि विरेन्द्रनगरमै खेती शुरू गरेको उनले बताए । आफ्नो र छोरीको उपचारका लागि उनी सुर्खेत बस्न थालेका थिए । उपचार गर्दागर्दै आर्थिक अभाव भएपछि तरकारी खेती शुरू गरेको उनले बताए । ‘जिवीकोपार्जन गर्न कुनै न कुनै काम गर्नै पथ्र्याे । आफूले जानेको काम कृषि नै थियो,’ उनले भने, ‘राजनीतिक नेता/कार्यकर्ताले व्यवसायीक बन्नैपर्छ भन्ने पनि महसुस गरियो । अनि शुरू गरियो ।’

null

तरकारी खेती शुरू गर्दा उनलाई आर्थिक समस्या थियो । ऋण खोज्न थाले । साढे तीन लाख रुपैंया ऋण खोजेर टनेल निर्माण थालेको उनी स्मरण गर्छन् । ६ कट्ठाबाट तरकारी लगाउन शुरू गरेका उनले साढे दुई वर्षअघि अर्को ठाउँमा १४ कट्ठा जमिन भाडामा लिएर विस्तार गरेका छन् । 

कृषि कर्ममा उनलाई परिवारकै सदस्यहरू सघाएका छन् । उनकी श्रीमती गीता अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश सचिव हुन् । गीता पनि नियमित कृषि कर्ममा हुन्छिन् । 

२०६० वैशाखमा भूमिगत रहेकै बेला उनीहरूको बिहे भएको थियो । दैलेखकै नौमूले घर भएकी गीता संगम सांस्कृतिक परिवारमा नृत्य र गायन क्षेत्रमा सक्रिय थिइन् ।

‘पार्टीमा महत्वपूर्ण बैठक वा कार्यक्रम हुँदा मात्र सहभागी हुन्छौं । परिवारले नै खेती धानेका छौं,’ गोविन्दले भने, ‘कहिलेकाहीँ पार्टीको काममा धेरै समय दिनुपर्‍यो भने ज्यालादारीमा मान्छे राखेर काम गराउँछौं । हामीले राजनीतिभन्दा बढी समय खेतीमा दिएका छौं ।’

उनले हाल दुई जना पूर्णकालीन कामदार राखेका छन् । पाँच जना अल्पकालीन कामदार छन् । बाँकी कामको चापअनुसार दैनिक ज्यालादारीमा कामदार राख्ने गरेको उनले बताए । 

बारीमा गोविन्दले काँक्रा, करेला, घिरौंला, चिचिन्डो, फर्सी, लौका, क्याप्सिकम, तोरी, हरियो धनियाँ, टमाटर, साग र पालुंगो आदि लगाएका छन् । 

अहिले उनको बारीमा विभिन्न तरकारीका बेर्ना उत्पादन भइरहेको छ । उनले २५ किलो प्याजको बिउ लगाएका छन् । 

कुरिलोको बेर्ना पनि तयार गरिरहेको उनले बताए । सुर्खेतमा सायिक रूपमा कुरिलो खेती गर्न थालेको पहिलोपटक हो । अरू कसैले अहिलेसम्म व्यवाियिक कुरिलो खेती गरेका छैनन् ।

यसबाहेक अब काँक्रा, करेलो, घिरौंला, चिचिन्डो, फर्सी, लौका, क्याप्सिकम, टमाटरका बेर्ना तयार गरेर बिक्री गर्ने योजना छ । यी बेर्नाको कुनैको बीस प्रतिगोटा र कसैको तीस रुपैंयासम्म छ । 

null

अर्गानिक तरकारी उत्पादनमा ध्यान दिएको उनले बताए । तरकारी खेतीमा आफूले गोठेमल र गड्यौंला मात्रै प्रयोग गर्दै आइरहेको उनले बताए ।

‘हामी गोठेमल प्रयोग गरेर अर्गानिक उत्पादन गर्छौं । बजारको कुनै समस्या छैन,’ गोविन्दले भने, ‘धेरै त बारीबाटै बिक्री हुन्छ । तरकारी टिप्न ग्राहकलाई नै पठाउँछौं, आफैं छानेर टिप्न पाउनुहुन्छ । व्यावसायिक रूपमा खेती गरेपछि आम्दानी भएन भन्नुपरेको छैन । मेरो सामाजिक सम्बन्धका आधारमा पनि व्यवसायमा लाभ भएको छ ।’

छिमेकबाटै उनले मल खरिद गर्ने गरेका छन् । उनले गोठेमल एक ट्याक्टरको आठ हजारमा खरिद गर्ने गरेको बताए । उनले २५ रुपैंया प्रतिकिलो गड्यौंला मल खरिद गरेर बारीमा प्रयोग गर्ने गरेका  छन् । मल र बिउमा मात्रै वार्षिक साढे दुई लाख खर्च हुने गरेको उनले बताए । 

उनका अनुसार तरकारी खेतीबाट मासिक ७० हजार रूपैयाँ हाराहारी आम्दानी हुन्छ । हाल जमिनको वार्षिक भाडा १ लाख २० हजार छ । 

सरकारी निकायले काम गर्नेलाई प्रोत्साहन नगरेको उनको गुनासो छ । ‘मैले खेती शुरू गरेको १४ वर्षमा एकपटक सरकारी अनुदान पाएँ,’ उनी भन्छन्, ‘खेती विस्तार गर्ने क्रममा बेमौसमी खेतीका लागि चेतना महिला कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड मार्फत १९ वटा टनेल बनाउँदा कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०७९/०८० मा उक्त सहकारीलाई ५० प्रतिशत अनुदान दिएको थियो । अहिले १२ वटा टनेल (सानो टनेल) सहितमा बेमौसमी तरकारी रोपेको छु ।’

त्यसमध्ये १० वटा टनेलको ५० प्रतिशत अनुदान उनले पाएका थिए । वीरेन्द्रनगरमा एक टनेल निर्माण गर्न एक लाख २८ हजार लागत लाग्ने गरेको उनको भनाइ छ ।

सहकारीमा आवद्ध किसानलाई समेत कृषि विकास निर्देशनालयले अनुदान दिएको थियो । अनुदान रकमबाट हलोदेखि अन्य कृषि सामाग्री, बिउ विजनसमेत वितरण गरिएको उनको भनाइ छ ।

null

कृषि क्षेत्रको विकास नभएसम्म अर्थतन्त्र उकालो नलाग्ने उनको भनाइ छ । ‘कुल गार्हस्थ उत्पादन बढाउन कृषि क्षेत्रको विकास अनिवार्य छ । भारतबाट दाल, चामल, अन्य कृषिजन्य बस्तु आयात गरेर पैसा गैरहेको छ,’ उनी भन्छन्, ‘त्यसका लागि अब राज्यले कृषि कर्ममा लागेकालाई प्रोत्साहन गर्न आवश्यक छ । कृषि कर्म गर्नेलाई अनुदानभन्दा पनि सामाग्रीमा सहयोग गर्नुपर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’ किसानका लागि मल, सिचाईं, टनेल र अन्य आवश्यक कृषि औजार उपलब्ध गराउनुपर्ने उनले बताए । उनले व्यवसायीक खेती गर्न विभिन्न तीवटा सहकारीबाट साढे पाँच लाख ऋण लिएका छन् ।

उनले हालसम्म फर्ममा २० लाखभन्दा बढी लगानी गरिसकेका छन् । टनेल निर्माणमा राज्य चुकेको उनले बताए । ‘बाहिरबाटै फलाम आयात गरिन्छ र टनेल बनाइन्छ । बाँसको प्रयोग गरेर टनेल बनाएको भए राज्यको करोडौं रुपैंया यही लगानी हुन्थ्यो,’ उनी भन्छन्, ‘हाम्रोजस्तो मुलुकमा थोपा सिंचाईं नामक प्रविधिको कुनै पनि काम छैन । बालुवा भएको देश इजरायलमा त्यो प्रविधि काम लागे पनि यहाँ त्यो प्रविधिभन्दा सिंचाईंको उपलब्धता भए राम्रो हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्