११ साउन २०८३, सोमबार

१८औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकको ​विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

पुस १४, २०८१
काठमाडौं
१८औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आईएमई बैंकको ​विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।​

१८औं वार्षिकोत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ्ग सेवा, डिजिटल/नवीनतम् बैंकिङ सेवाहरू, बैंकिङ विवरण सुरक्षित राख्ने उपायलगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।​

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ ।

बैंकले अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्