
अवकाश हुन ८ दिन बाँकी छँदा सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी)हरू पदावधि लम्ब्याउन दौडधूपमा लागेका छन् ।
डीआईजीहरू क्रमशः गणेश ठाडा मगर, कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ पदावधि लम्ब्याउने कसरतमा लागेका हुन् । चारैजना पुस २३ गते अनिवार्य अवकाशमा जाँदै छन् ।
ठाडामगर बागमती प्रदेशको बाहिनीपति, गिरी सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रमुख, सुवेदी कोशीको बाहिनीपति र नेम्वाङ गण्डकी प्रदेशको बाहिनीपति छन् ।
पछिल्लो साता चारैजना डीआईजीहरू कार्यक्षेत्र छाडेर पदावधि लम्ब्याउन राजनीतिक लबिङमा लागेका छन् । यसको सुईंको पाएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई राजनीतिक दौडधूप नगर्न चेतावनी दिएको उच्च स्रोत बताउँछ ।
सशस्त्र प्रहरी ऐनको विधेयक संसद् खुल्नेवित्तिकै दर्ता गर्ने तयारी छ । म्याद लम्ब्याउन सकेमा ऐनअनुसार उनीहरूमध्येबाटै एआईजी र आईजीपी बन्ने ढोका खुल्ने भएपछि दौडधूपमा लागेको स्रोत बताउँछ ।
सशस्त्र प्रहरी मुख्यालयका एक उच्च अधिकृतका अनुसार म्याद थप्न दबाब दिने डीआईजीहरूको पृष्ठभूमि कसैको पनि राम्रो छैन । डीआईजीहरू गिरी, नेम्वाङ र सुवेदी रेकर्डमा जनिने गरी विभागीय कारबाही भोगेका अधिकृत हुन् । ठाडा मगर भने पटक–पटक स्पष्टीकरण भोगेका अधिकृत हुन् । सशस्त्रको नियमावली– २०७२ अनुसार डीआईजीको पादवधि ४ वर्षको हुन्छ ।
सरकारले चाहेको अवस्थामा एक वर्ष थप्न मिल्ने व्यवस्था नियमावलीले गरेको छ । त्यही व्यवस्थालाई टेकेर डीआईजीहरू पदावधि लम्ब्याउने होडबाजीमा लागेका हुन् ।
चारैजना डीआईजीहरूले नेपाली कांग्रेस र एमालेका शीर्ष नेतालाई भेटेर पदावधि लम्ब्याउन दबाब दिएको सूचना सशस्त्र प्रहरी नेतृत्वमा पुगिसकेको छ ।
त्यसो त यसअघि २०८० माघ १० गते डीआईजी किशोर प्रधानको पदावधि एक वर्ष थपिएको थियो । उनी थपिएकै पदावधिको अवधि सकिएपछि आगामी माघ १० गते अवकाशमा जाँदैछन् । उनी हाल उपत्यकास्थित नम्बर– ९ पशुपति बाहिनीमा कार्यरत छन् ।
पदावधि लम्ब्याउन दौडधूप गरिरहेका डीआईजीहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका अधिकृत हुन् ।
‘चारैजना डीआईजीहरू प्रहरीबाट सशस्त्रमा आएका हुन्, उनीहरूको पदावधि लम्ब्याइयो भने सशस्त्र प्रहरी सेवाबाट माथि पुगेका र बढुवाको लाइनमा रहेका एसएसपीहरूलाई अन्याय हुन्छ,’ एक एसएसपीले लोकान्तरसँग भने, ‘यस्तो विषयमा नेतृत्व र सरकारले ध्यान दिनुपर्ने हो ।’
त्यसो त सशस्त्रमा गत भदौ १६ देखि २ डीआईजीको दरबन्दी रिक्त छ । उक्त पदमा हालसम्म बढुवा प्रस्ताव गएको छैन । ३० वर्षे सेवा अवधि पूरा गरेर डीआईजीहरू दुर्गाप्रसाद भट्टराई र अभिकुमार खत्री अवकाशमा गएपछि दुईवटा दरबन्दी खाली भएको थियो ।
खाली रहेकोमध्ये एक दरबन्दीमा एसएसपी दीपेन्द्र कुँवरलाई सिफारिस गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई चर्को राजनीतिक दबाब छ । तर, अर्यालले कुँवरलाई कुनै पनि हालतमा सिफारिस नगर्ने जनाउ गृह मन्त्रालयलाई दिइसकेका छन् ।
स्रोतका अनुसार कुँवरले आफ्नो सिफारिश नहुने भएपछि राजनीतिक दबाब दिएर बढुवा समितिको बैठक बस्न दिएका छैनन् । सिसम– २ का कुँवरले आफूभन्दा सिनियर ब्याचका र स्टाफ कलेज उत्तीर्ण अधिकृतलाई पछि पार्दै आफू बढुवा सिफारिस हुनुपर्ने भन्दै शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका हुन् ।
एसएसपी कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनी ज्वाइँ पर्छन् । यसअघि कुँवरलाई एसएसपीमा बढुवा गर्दा सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो ।
सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीमा ४ वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुन सक्ने प्रावधान थियो । तर, कुँवरलाई बढुवा गर्न सो प्रावधान संशोधन गरिएको मुख्यालयका एक अधिकृतले बताए ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुमार न्यौपानेले खाली भएको २ डीआईजीको दरबन्दीमा बढुवा सिफारिश चाँडै नै हुने बताए ।
उनले भने, ‘गएको भदौदेखि नै खाली भएको हो, छिट्टै बढुवा समितिको बैठक बसेर सिफारिस हुन्छ ।’
चारजना डीआईजीले पदावधि लम्ब्याउन दौडधूप गरिरहेका छन् नि भन्ने प्रश्नमा न्यौपानेले भने, ‘यस विषयमा नबोलौं होला ।’