०७ असार २०८३, आइतबार
विद्यार्थी राजनीति

क्रान्तिकारीमा ३२ वर्षे उमेर हद : नेविसंघ र अनेरास्ववियु पनि दबाबमा

पुस १६, २०८१
काठमाडौं
क्रान्तिकारीमा ३२ वर्षे उमेर हद : नेविसंघ र अनेरास्ववियु पनि दबाबमा

नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीले भोटिङबाटै सबै तहका कमिटीमा ३२ वर्षे उमेरहद लागू गरेपछि अन्य दलका विद्यार्थी संगठन पनि दबाबमा आएका छन् । 

नामजस्तै काम पनि क्रान्तिकारी गरेपछि अब उक्त संगठनमा विद्यार्थी नेता बन्न ३२ वर्ष पार गरेकाको बाटो बन्द भएको छ । क्रान्तिकारीमा ९०० मत ३२ वर्षे उमेरहद र ८७९ मत उमेरहद लागू गर्न नहुने पक्षमा परेको थियो । 

क्रान्तिकारीको यो मतदानको निर्णयलाई कांग्रेसनिकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि सकारात्मक भनेको छ ।

‘नेविसंघमा लामो समय बहस भएपछि म आफैं पनि ३२ वर्ष मुनिबाटै नेविसंघको सभापति भएको हुँ । अब हुने महाधिवेशनमा पनि ३२ वर्षे उमेरहद लागू हुन्छ,’ नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले लोकान्तरसँग भने, ‘नेविसंघले उठाएको एजेन्डालाई क्रान्तिकारीले पनि मतदानबाट निर्णय गरेर व्यवहारमा उतार्न खोज्नु यो जेनेरेसनकै लागि सकारात्मक कुरा हो । अनेरास्ववियुले पनि यो विषयलाई बहसमा ल्याउनुपर्छ ।’

एमालेनिकटको अनेरास्ववियुका अध्यक्ष समिक बडाल क्याम्पसको पदाधिकारीका लागि २८ र केन्द्रीय कमिटीका लागि ३० वर्षको प्रावधान राखिएको बताउँछन् । 

‘क्याम्पसमा २८ वर्ष र केन्द्रीय कमिटीमा ३० वर्षसम्मकालाई ल्याउने निर्णय गरेर कार्यान्वयनमा लगिसकेका छौं,’ बडालले भने, ‘यसैले यो उठाउनुपर्ने एजेन्डा हो भन्ने लाग्दैन । आगामी अधिवेशनसम्म पुग्दा अनेरास्ववियुमा ३० वर्षमुनिको नेतृत्व आउँछ ।’

तर, अनेरास्ववियुमा केन्द्रीय तहको पदाधिकारी हुन उमेरलाई खुला राखिएको छ । 

‘हामी विधानमा बाध्यता होइन, अभ्यास गरेर जानुपर्छ भन्नेमा छौं । पदाधिकारीका लागि खुला राखेका छौं । नेतृत्व उमेरले होइन, कुशलता देखाएर गर्ने हो,’ बडालले भने, ‘तर पनि हामी यो निश्चित वर्षको उमेरहदको प्रावधानलाई आगामी महाधिवेशनमा एजेन्डा बनाउन सक्छौं ।’

कुनै समय नेविसंघ कांग्रेस नेता उत्पादनको नर्सरीका रूपमा थियो । तर, माउ पार्टीले गुटगत हस्तक्षेप गर्दा पछिल्लो समय आएका नेतृत्वले महाधिवेशन नै गर्न सकेका छैनन् । 

२४ हाराहारी उमेरको नेतृत्व आउनुपर्ने नेविसंघमा ५० वर्षसम्मलाई नेतृत्वमा ल्याएपछि चरम विवाद भएको थियो । यसैले पछिल्लोपटक ३२ वर्षे उमेरहद कायम गराउने गरी नेविसंघ अगाडि बढेको छ । 

‘हाम्रो विधानमा तीन वर्षदेखि यो उमेरहदको विषय विवादित छैन । अहिले महाधिवेशन गराउन बनेको निर्देशन समितिले पनि यही प्रावधानसहितको विधान टुंग्याउन पुस १५ गतेसम्मको समय दिएको थियो,’ नेविसंघका अध्यक्ष दुजाङले भने, ‘समयमा महाधिवेशनमा गरेर यो विषय कार्यान्वयन गर्दै जान्छौं ।’

तर, चैतभित्रै महाधिवेशन गर्न पार्टी केन्द्रले निर्देश गरे पनि प्रतिनिधिको विवाद आएको छ । 

‘सदस्यता वितरण र अभियानका लागि प्रतिनिधि चयनको काम गरिरहेको छौं । यसै क्रममा स्ववियुको अवस्थाका बारेमा पनि जानकारी माग गरेका छौं,’ शेर्पाले भने, ‘हामीले शेखर कोइराला समूहलाई ६ महिनादेखि कुरेका हौं । नआएपछि प्रक्रिया अगाडि बढेको छ ।’

क्रान्तिकारीको पछिल्लो निर्णयपछि धेरै विद्यार्थी नेता प्रतिस्पर्धाको होडबाट बाहिरिन पुगेका छन् । क्रान्तिकारीमा २४३ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी ३३ हुने व्यवस्था छ । 

३२ वर्षे उमेरहदलाई माओवादीकै कतिपय नेताले रुचाएका थिएनन् । तर, भोटिङबाट निर्णय भएपछि प्रभावशाली नेतानिकटका विद्यार्थी नेता अध्यक्षको होडबाट बाहिरिएका हुन् ।

‘शायद नेतृत्वले यस्तो होला भन्ने सोचेको थिएन । तर, निर्वाचनबाट निर्णय लिइएपछि नेताहरूलाई विद्यार्थी राजनीति विद्यार्थीबाटै गराउन दबाब पुगेको छ,’ क्रान्तिकारीका एक नेताले लोकान्तरसँग भने, ‘सबै सिनियर नेताले आफू निकटकालाई अध्यक्ष बनाउन चाहनुभएको थियो । अब साँच्चै विद्यार्थीबाटै नेता आउने आशा गरेका छौं ।’

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पुस्तान्तरणको लोकप्रिय नारालाई सकसपूर्ण रूपमा यसपटक एउटा टुंगोमा पुर्‍याइएको बताउँछिन् ।

‘माओवादी पार्टी, यसका जनवर्गीय संगठन र मोर्चामा जनवादी केन्द्रीयता छ । तर, आरोप भने लोकतन्त्रको अभ्यास भएन भन्ने लागिरह्यो । मतदान गरेर विवादलाई हल गर्‍यौं,’ सिंहले लोकान्तरसँग भनिन्, ‘राष्ट्रिय सम्मेलनमै वा पार्टी निर्णयबाटै पुस्तान्तरणको यो विषय अगाडि बढोस् र एकमत होस् भन्ने भए पनि समझदारी हुन सकेको थिएन । त्यसैले मतदाताको बीचमा गयौं झिनो मतले यो ऐतिहासिक निर्णय भएको छ ।’

अब माघ १२ गतेबाट हुने २३ औं राष्ट्रिय सम्मेलनले संगठनको अध्यक्ष र आयोग प्रमुखका लागि निर्वाचन गर्ने उनले बताइन् ।  

‘अब माघ १२ गतेबाट हुने सम्मेलनमा नेतृत्वका लाग ३२ वर्षमुनिका साथीहरू उम्मेदवार बन्नुहुन्छ । अब क्रान्तिकारी वास्तविक विद्यार्थीबीच पुग्छ,’ सिंहले भनिन्, ‘उमेर नाघेकालाई पनि पार्टीले उचित व्यवस्थापन गर्नतिर लाग्नुपर्छ । विद्यार्थीबाटै नेतृत्वका लागि बाटो खोल्न यो विधि उपयुक्त छ । लामो पैरवीपछि उमेरहदको व्यवस्था गर्न सक्दा खुशी लागेको छ ।’

नेविसंघ नेतृ सगुन कंडेल सबै संगठन विद्यार्थीको राजनीति विद्यार्थीबाटै गर्ने गरी अगाडि बढ्नुपर्ने बताउँछिन् । 

‘नेविसंघको आन्दोलन र अनसनबाट भएको उपलब्धिलाई क्रान्तिकारीका साथीहरूले समेत अवलम्बन गर्नु भएकोमा खुशी लागेको छ,’ कँडेलले भनिन्, ‘अब सबै संगठनमा विद्यार्थीको नेतृत्व विद्यार्थीबाटै हुने आशा जागृत भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्