२९ असार २०८३, सोमबार
सहकारी ठगी प्रकरण

कास्की अदालतमा थुनछेक बहस शुरू, पहिला सरकारी वकिलका तर्फबाट

पुस १६, २०८१
पाेखरा
कास्की अदालतमा थुनछेक बहस शुरू, पहिला सरकारी वकिलका तर्फबाट

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको छ । 

मंगलबार अपरान्हबाट शुरू भएको बहसमा सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ताहरू सुजाता पौडेल, समिता थकाली र शान्तिदेवी शर्माले बहस गरेका छन् । 

बहसका क्रममा प्रतिवादीमध्येका ८० वर्षीय कृष्ण बहादुर गुरुङ भावविह्वल भएका थिए । त्यतिबेला सहन्यायाधिवक्ता शान्तिदेवीले बहस गरिरहेकी थिइन् । परिस्थिति असहज बनेपछि न्यायाधीश नीतिज राईले केहीबेर बहस स्थगित गरेका थिए । पुनः चलेको बहस कार्यालय समय सकिएसँगै भोलिलाई निरन्तर गर्ने भन्दै रोकिएको छ ।

सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले बुधबार १० बजेदेखि नै बहस निरन्तर हुने बताइन्। पहिला सरकारी वकिल कार्यालयको बहस हुनेछ । त्यसपछि मात्रै प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् । 

‘थुनछेकको बहस शुरू भएको छ । भोलि पनि निरन्तर हुन्छ’, काफ्लेले लोकान्तरसँग भनिन्,‘प्रतिवादीमध्येका गुरुङ भावविह्वल हुनुभयो । केहीबेरमा फेरि बहस शुरू भएपनि सरकारी समय सकिएपछि भोलिलाई निरन्तर गरिने भइयो ।’ 

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी बञ्जाडे, लिला पछाईं लगायत प्रहरी हिरासतमा छन् । 

सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोजन पत्रमा रविसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने मागदाबी गरिएको छ । रविका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने कुरा अभियोजनपत्रमा उल्लेख गरिएको  छ । 

रविविरुद्ध मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ।

salt training

कमेन्ट गर्नुहोस्