
हाँस्य टेलिश्रृंखलाका चर्चित पात्र ‘जिग्री-पाँडे’को चलचित्र ‘लाज शरणम्’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर बुधबार चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो ।
एक पोस्टरमा शव बाकसभित्र हरिश निरौला, विजय बराल, सागर लम्साल र अर्जुन घिमिरेलाई समावेश गरिएको छ ।
अर्को पोस्टरमा हातमा तराजु बोकेर एक व्यक्ति उक्त शव बाकसमाथि उभिएका छन् । उक्त पोस्टरमा हिमाल, शिव, मानिसहरूको लाम र ग्रामिण गाउँ देखाइएको छ ।
यसैगरी, तेस्रो पोस्टरमा निरौला र बराल छन् । निरौलाको ढाडमा बसेर बरालले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ ।
आउँदो ‘महाशिवरात्री’, फागुन १४ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्रमा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगी, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), बुद्धि तामाङ, हरिश निरौला (कक्रोच), सागर लम्साल (बले), प्रियना आचार्य (मुन्नी) लगायतका कलाकारहरूको अभिनय छ ।
‘लाज शरणम्’ जिग्री-पाँडे टिमको पहिलो फिचर फिल्म हो । यो फिल्मको अधिकांश दृश्य हिमाली जिल्ला डोल्पाका विभिन्न क्षेत्रमा छायांकन गरिएको थियो भने बाँकी दृश्य काठमाडौं लगायतका क्षेत्रमा खिचिएको छ ।
चलचित्रलाई कुमार कट्टेल (जिग्री)ले निर्देशन गरेका हुन् ।