
नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको औपचारिक तयारी नहुँदै नेताविशेषले सभापतिका लागि दौडधूप शुरू गरेका छन् । घोषणा गरेरै डा. शेखर कोइरालाले सभापतिमा उठ्ने तयारीलाई अगाडि बढाएका छन् । उनी कोशी, सुदूरपश्चिम हुँदै बीचका प्रदेशमा कार्यक्रम लिएर पुग्दैछन् । महामन्त्री गगन थापाको देशदौडाहा र आन्तरिक तयारी पनि सभापतिकै लागि छ ।
लगातार दुईपटक सभापति जितिसकेका शेरबहादुर देउवालाई अब प्रतिस्पर्धा गर्न विधानले नै रोक्छ । यसैले दाबेदारहरूले देखिने/नदेखिने, सांकेतिक सहितका सबै तयारी र दौडधूप अगाडि बढाएका हुन् । यी २ सँगै बीपीपुत्र शशांक कोइरालाको तयारी अलि बेग्लै किसिमको छ । उनीसँग शेखरको जस्तो समूहको बलियो ‘ब्याकअप’ छैन । तर, कांग्रेसलाई बलियो बनाउन परम्परागत गुटबन्दीबाट माथि उठ्नुपर्ने सन्देश प्रवाह गर्दै शशांकले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
शेखरको तल्लो तहको पार्टी पंक्तिलाई विश्वासमा लिने रणनीति छ । तर, शशांक तत्काल देखिने सक्रियताभन्दा रणनीतिकरूपमा अगाडि बढ्न चाहेका छन् । अर्थात्, उनी सभापति देउवालाई गाली गर्ने होइन, उनको विश्वास आर्जन गर्ने ध्याउन्नमा छन् ।
शेखरले पार्टीको तल्लो तह मिलाएपछि माथितिर आँखा लगाइरहेका छन् । तर, शशांक माथिबाट तल मिलाउने दिशामा अगाडि बढेको नेताहरू बताउँछन् । मंगलबार शशांकले चितवनमा दिएको अभिव्यक्ति माथिबाट तलतिर मिलाउँदै जाने हिसाबले आएको उनीनिकट एक नेताले बताए ।
‘०८४ सालमा आमनिर्वाचन हुनेछ । त्यसैले कि त्यसको दुई वर्ष पहिले नै १५ औं महाधिवेशन गर्नुपर्छ,’ शशांकले चितवनमा पत्रकारसँग भनेका थिए, ‘होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’
कांग्रेसलाई नजिकबाट बुझ्नेहरू शशांकबाट आएको यो बोली देउवा अनुकूल भएको बताउँछन् । ‘प्रधानमन्त्री बन्ने र २०८४ को चुनावमा आफूनिकटलाई टिकट बाँडेपछिको प्रभावमा बल्ल महाधिवेशन गर्दा आफू अनुकूलताको नतिजा ल्याउन सकिने सोचमा सभापति देउवा हुनुहुन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘शशांकले चितवनमा सभापतिकै सोचअनुसारको भाषा बोल्नुले धेरै अर्थ दिन्छ । किनकि गाली गरेर होइन, देउवाको विश्वास बटुलेर मात्रै सभापति बन्न सकिन्छ भन्ने लय शशांकले समात्न खोजेका छन् ।’
देउवाले समूहमा भरपर्दो उत्तराधिकारी नभेटिरहेका बेला शशांक उनका लागि सही पात्र भएको चर्चा हुन थालेको छ । यसैले देउवाको मनको कुरा बोलेर उनको विश्वास आर्जन गर्न खोजेको बताइन्छ । छोटो बोल्ने शशांकले शेखरलक्षित टिप्पणी पनि गरेका छन् । ‘कोइराला परिवार एक होइन, विचार एक हुनु पर्यो,’ शशांकले भनेका थिए, ‘विचार एक भए हुन्छ ।’
शशांकले गुटबन्दीबाट माथि उठ्ने गरी पार्टी हाँक्ने स्पष्ट खाका आफूसँग रहेको बताउन पनि भुलेनन् । ‘महाधिवेशनका लागि मेरो स्पष्ट खाका छ । पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्ने कुशलता मसँग छ भन्नुभएको छ,’ शशांकनिकट स्रोतले भन्यो, ‘उहाँले भ्रातृ संस्थाहरूलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक छ भन्नुको अर्थ म यसका लागि तयार छु भनेको हो ।’
यस्तो बोलेको भोलिपल्टै शशांकले गुटबन्दी अन्त्य गर्ने र टीम मिलाउने संकेत स्वरूप प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग भेट गरेको उनीनिकट स्रोत बताउँछ । शशांकका स्वकीय सचिव भरत तिवारीले १४ औं महाधिवेशन अगाडिदेखिको अभ्यासलाई तीन नेताले निरन्तरता दिएको बताए ।
‘उहाँहरू तीनैजनाले गत महाधिवेशनमा पनि शृंखलाबद्ध भेट गर्नुभएको थियो । यसपटक फेरि त्यस्तै भेटको शृंखला चलेको हो,’ तिवारीले लोकान्तरसँग भने, ‘महाधिवेशनको चटारो लाग्यो भन्ने त होइन, तर तीन नेता सँगै बसेपछि पार्टी राजनीति, राष्ट्रिय राजनीतिसहितका विषयमा छलफल भएका छन् । फेरि पनि यस्तै संवाद गरेर समान धारणा बनाउने कुरा भएको छ ।’
गत असोजमा शशांकको महाराजगञ्ज निवासमा बसेपछि बुधबार सिंहको चाक्सीबारी निवासमा तीन नेताले भेट गरेका हुन् । बुधबारको बैठकमा सहभागी भएका नेता निधिले राष्ट्रिय राजनीतिसहित आन्तरिक राजनीतिका विषयमा छलफल भएको जानकारी दिए ।
‘पार्टीलाई कसरी बलियो बनाउने, संघीय लोकतान्त्रिक प्रणालीलाई बलियो बनाएर राजनीतिक मुद्दा कसरी स्थापित गर्दै जाने भन्नेमा छलफल गर्यौं,’ निधिले लोकान्तरसँग भने, ‘सरकारलाई निरन्तरता दिएर यसमा अरूलाई पनि सहभागी गराउँदै जानुपर्छ भनेर पनि सल्लाह गर्यौं ।’
निधिले तीन नेताबीच मिलेर अगाडि बढ्ने समझदारी भएको बताए । ‘महाधिवेशन धेरै पछि छ । तर, भेट भएपछि महाधिवेशनको विषय उठिहाल्छ । हामीले महाधिवेशनको विषयमा पनि छलफल गर्यौं,’ निधिले भने, ‘व्यक्तिको विषयमा प्रवेश गर्ने बेला भइसकेको छैन । तर, जो हुन्छ, हाम्रो सल्लाहले नै हुन्छ ।’
१४ औं महाधिवेशनअगाडि पनि तीन नेताबीच पटक–पटक संवाद भएकाले फेरि पनि महाधिवेशन अगाडि नेताहरूबीच भेट हुनु स्वभाविक भएको निधिले बताए ।
१४ औं महाधिवेशनपूर्व २०७८ असार ११ गते शशांक निवास र १५ गते सिंह निवासमा तीन नेताबीच भेट भएको थियो । लगत्तै, असोजमा निधिको निवासमा शशांक र सिंह पुगेका थिए । उनीहरूले त्यतिखेरै सहमतिमा नेतृत्व चयन गर्नेबारे छलफल गरेका थिए ।
विरासतको विश्वास
यी तीन नेता कांग्रेसका विरासत बोक्ने परिवारका हुन् । शशांक बीपी, प्रकाशमान गणेशमान र विमलेन्द्र महेन्द्रनारायण निधिका पुत्र हुन् । पछिल्लो समय कांग्रेसमा विरासतको राजनीति कमजोर बन्दै गएको छ । तर, कांग्रेसमा बिपी, गणेशमान र महेन्द्रनारायण सधैँ सम्मानपूर्वक सम्झिने नाम हुन् । यसैले यिनै परिवारका नेताले आफ्नो सक्रियतासँगै विरासतको बलमा राजनीतिक स्पेस खोज्ने आशा अझै मारिसकेका छैनन् ।
गत महाधिवेशनअघि तीनै नेताले शृंखलाबद्ध लन्च मिटिङ चलाए पनि प्रतिस्पर्धामा अलग-अलग उत्रिए । १४ औं महाधिवेशनमा देउवा आफैं उठेपछि निधिले पनि पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरे । निधिले २५० भोट ल्याए । तर, दोस्रो चरणमा देउवालाई नै समर्थन गरे ।
प्रकाशमानले पनि सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाउँदै देउवा र शेखरसँग सभापतिमा भिडे । सिंहले ३१७ मत पाएका थिए । दोस्रो चरणमा सिंहले पनि देउवालाई नै समर्थन गरे ।
१३ औं महाधिवेशनमा सभापतिमा देउवा जित्दा शशांक अर्को समूहबाट महामन्त्री जितेका थिए । तर, उनको समूहका रामचन्द्र पौडेल पराजित हुन पुगेका थिए । त्यसबेलै देउवा र शशांकबीच तालमेल भएको दाबी नेताहरूले गरेका थिए ।
फरक समूहबाट महामन्त्री जिते पनि शशांकले सभापतीय प्रणालीमा नेतृत्व सघाउनुपर्ने भन्दै कहिल्यै विरोध गरेनन् । कांग्रेस गुटबन्दीबाट माथि उठ्नुपर्ने सन्देश दिइरहे ।
१४ औं महाधिवेशनमा पूर्व संस्थापन एक नभएपछि शेखर सभापतिको उम्मेदवार बने । तर, कोइराला परिवारबाटै उम्मेदवारी परेपछि शशांकले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिए ।
लगातार दुईपटक देउवाविरुद्ध पौडेल र शेखर असफल भएपछि शशांक अब आफू अगाडि बढ्ने तयारीमा छन् । उनले खुलारूपमा घोषणा गरेका छैनन् । तर, देउवाकै विश्वासमा आफू उम्मेदवार बन्ने विश्वासमा बसेका छन् ।
दुई नेताको जनाधार परीक्षण भइसकेकाले अब आफ्नो पालो भएकोमा शशांक ढुक्क रहेको एक नेता बताउँछन् । ‘निधि र सिंहलाई तपाईंहरूको अधिकार हो, उठ्नुस् भनेर दुवैलाई आफूसँगै उठ्ने वातावरण सभापतिले नै बनाउनुभएको थियो,’ शशांकनिकट स्रोतले भन्यो, ‘तर, दुवैले पाएको भोटले उनीहरूको जनमत पुष्टि गर्छ । यसैले शशांकलाई अब यसपटक म है भन्ने मौका पनि छ । सिंह र निधि दुवैलाई मनाउन सक्छु भनेर शशांक लाग्नुभएको छ ।’
कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया कसैलाई चिढ्याउनेभन्दा गुटबन्दीभन्दा माथि उठ्नुपर्छ भन्ने शशांकको स्वभाव सर्वस्वीकार्य भएको बताउँछिन् ।
‘कसैलाई नचिढ्याइकन सबैको साथ/सहयोग लिएर मात्रै सभापतिमा जित्न सकिन्छ भन्नेमा शशांक डा.साब हुनुहुन्छ । यसैले अरूले जस्तो पार्टी सभापति र पद्धतिविरुद्ध उहाँ हतारमा प्रतिक्रिया दिइहाल्नु हुन्न । बरु मध्यमार्गीले मात्रै सक्छ भनेर सभापतिका लागि तयारी गरिरहनुभएको छ । उहाँको यो स्वभावलाई कार्यकर्ताले पनि रुचाएका छन्,’ थपलियाले भनिन्, ‘उहाँका कार्यक्रम, भेटघाट र क्रियाशीलता बढ्दै गएका छन् । राणनीतिक हिसाबले पुरानो नेता, नयाँ र जिल्लाका नेतासँग परामर्श गरिरहनुभएको छ । समय आएपछि सभापतिमा उम्मेदवारी दिने तयारीमा उहाँ हुनुहुन्छ । पछिल्ला भेटका शृंखला पनि त्यही हुन् ।’
अब जिल्ला–जिल्लामा कार्यक्रम राखेर निस्कने तयारीमा शशांक रहेको उनी बताउँछिन् ।