
माघे संक्रान्ति पर्व अब नजिकै आउँदैछ । मकर संक्रान्ति पनि भनिने यो पर्व नेपालमा विशेष तरिकाले मनाउने गरिन्छ । थारू समुदायको त नयाँ वर्ष नै हो, माघे संक्रान्ति अर्थात् माघी पर्व ।
यो चाड सूर्यको मकर राशिमा प्रवेश गर्ने समय र दिनहरू लम्बिने शुरूआतको प्रतीक मानिन्छ। कतै कतै यस दिन मानिसहरू गरीब दु:खीलाई दान दिने र खाना खुवाउने गर्छन्।
साथै, यो दिन गुड र तिलको लड्डु खाने परम्परा पनि छ। आज हामी तपाईंलाई सजिलो तरिकाबाट घरमै बजारको जस्तै तिलको लड्डु बनाउने विधिबारे जानकारी दिँदैछौं :
आवश्यक सामग्री :
सेतो तिल: एक कप
गुड: एक कप
घ्यू: एक ठूलो चम्चा
इलायची पाउडर: एक/दुई चम्चा

तिलको लड्डु बनाउने विधि
शुरूमा एउटा सफा र सुक्खा कराहीमा मध्यम आगोमा तिल राखेर हल्का सुनौलो र सुगन्ध आउने गरी भुट्नुहोस्। भुटिसकेपछि तिललाई छुट्टै राखेर चिसो हुन दिनुहोस्।
अब सोही कराहीमा एक ठूलो चम्चा घ्यू राख्नुहोस्। त्यसमा टुक्रा टुक्रा गरिएको गुड र १/४ कप पानी हाल्नुहोस्।
गुड पूर्ण रूपमा पग्लेर गाढा चास्नी नबनुन्जेल मध्यम आगोमा चलाउँदै पकाउनुहोस्। चास्नी तयार भएको जाँच गर्न एक कटोरी चिसो पानीमा चास्नीको केही थोपा राख्नुहोस्। यदि चास्नी कडा भई टुक्रिन्छ भने, यो तयार भइसकेको छ।

तिल र गुड मिसाउने प्रक्रिया:
तयार चास्नीमा भुटेको तिल राख्नुहोस्। यसपछि इलायची पाउडर थपेर राम्ररी मिसाउनुहोस्।
लड्डुलाई आकार दिने प्रक्रिया:
एक चिल्लो सतहमा अलिकति घ्यू लगाउनुहोस्। तिल र गुडको तातो मिश्रणलाई सतहमा राखेर बेलनाले समान मोटाइमा बेल्नुहोस्। मिश्रण अलिक चिसो भएपछि मनपर्ने आकारमा काट्नुहोस्।
लड्डुलाई पूर्ण रूपमा चिसो हुन दिनुहोस् ताकि यो कडा बनोस्। एयरटाइट कन्टेनरमा राखेर स्टोर गर्नुहोस्। माघे संक्रान्तिको दिन परिवार र साथीहरूसँग बसेर मज्जाले यसको स्वाद लिनुहोस्।
