२८ जेठ २०८३, बिहीबार
सार्वजनिक जग्गा र कानूनी संरक्षण

कसरी गर्न सकिन्छ सार्वजनिक जग्गाको संरक्षण ?

पुस २४, २०८१
काठमाडौं
कसरी गर्न सकिन्छ सार्वजनिक जग्गाको संरक्षण ?

नेपालमा सार्वजनिक जग्गा भन्नाले त्यस्तो भूमि जनाउँछ, जुन कुनै व्यक्तिको निजी स्वामित्वमा हुँदैन । यो जग्गा राज्यको अधीनमा रहन्छ र सामूहिक प्रयोगका लागि व्यवस्था गरिन्छ ।

सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति हो, जसलाई निजीकरण गर्न खोज्नु वा त्यसमा व्यक्तिगत स्वामित्व स्थापना गर्नु संविधान र कानूनी व्यवस्थाविपरीत ठहरिन्छ । सार्वजनिक जग्गाको प्रयोग, संरक्षण र व्यवस्थापन नेपालको संविधान, कानूनी नीति तथा विभिन्न ऐनमार्फत व्यवस्थित गरिएको छ ।

नेपालको मुलुकी देवानी संहिता,२०७४ अनुसार, सार्वजनिक सम्पत्तिलाई "सार्वजनिक प्रयोगका लागि उपलब्ध गराइने तथा सामूहिक स्वामित्व रहने सम्पत्ति" भनेर परिभाषित गरिएको छ । यस्तो जग्गामा पाटी, पौवा, बाटो, चौतारी, सार्वजनिक पार्क, टुँडिखेल, धार्मिक स्थल, नदी, ताल, पोखरी, मसानघाट, र गौचरजस्ता स्थानहरू पर्छन् ।

जग्गा नापजाँच ऐन, २०१९ अनुसार शुरू नापी हुँदाका बखत क्षेत्रीय नापी किताब वा लगतमा गौचर, डगर, बगर, बाटो, कुलो, हाट, हाटघाट,  बजार, जिरायत, विटौरी, कोदाले, बुट्‍यान र खर्क आदिजस्ता कुरा शुरू नापी हुँदाका बखत क्षेत्रीय नापी किताबको विरह महलमा वा लगतमा यस्ता कुरा उल्लेख भएको हुन्छ, जसले सार्वजनिक जग्गाको पहिचान गर्ने प्रमुख सरकारी दस्ताबेजको रूपमा ग्रहण गर्दछ ।

सार्वजनिक जग्गा कानूनीरूपमा संरक्षण गरिएकाले यसमा व्यक्तिगत स्वामित्व स्थापित गर्नका लागि गरिएको कुनै पनि प्रयास स्वतः बदर हुने व्यवस्था छ । यो व्यवस्था मालपोत ऐन,२०३४ को दफा २४ मा स्पष्ट रूपमा व्याख्या गरिएको छ ।

सार्वजनिक जग्गाको संवैधानिक व्यवस्था

नेपालको संविधानले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिएको छ ।

  • धारा ४८ (घ) नागरिकका कर्तव्यअन्तर्गत सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी सबै नागरिकको हो ।
  • राष्ट्रिय भूमि नीति,२०७५ ले सार्वजनिक र सरकारी जग्गाको संरक्षणलाई प्राथमिकतामा राखेको छ । यो नीतिले सार्वजनिक जग्गाको अनधिकृत भोगचलन र अतिक्रमणलाई निषेध गरेको छ ।

यसबाट प्रस्ट हुन्छ कि सार्वजनिक जग्गालाई कुनै पनि संस्थागत वा व्यक्तिगत स्वामित्व दिन खोज्नु संविधान र नीतिविपरीत ठहरिन्छ ।

सार्वजनिक जग्गासम्बन्धी कानूनी व्यवस्था

१. मालपोत ऐन,२०३४

  • सरकारी वा सार्वजनिक जग्गा कुनै व्यक्तिको नाममा दर्ता गर्न मिल्दैन । दर्ता गरिएको अवस्थामा यस्तो दर्ता स्वतः बदर हुनेछ ।
  • कानूनले सार्वजनिक वा सरकारी जग्गामा कुनै संरचना निर्माण गर्न प्रतिबन्ध लगाइएको छ ।

२. गुठी संस्थान ऐन,२०३३

  • गुठी जग्गाको बिक्री, दान, वा स्वामित्व हस्तान्तरण गर्न निषेध गरिएको छ ।

३. स्थानीय सरकार सञ्चालन ऐन,२०७४

  • गाउँपालिका वा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ ।

४. मुलुकी देवानीसंहिता,२०७४

  • सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिलाई व्यक्तिगत नाममा दर्ता गर्न वा कब्जा गर्न निषेध गरिएको छ ।
  • सार्वजनिक जग्गा कब्जा गरेमा मालपोत कार्यालय वा स्थानीय तहले तुरुन्त कदम चाल्नुपर्नेछ ।

सार्वजनिक जग्गाको प्रयोग र व्यवस्थापन

सार्वजनिक जग्गाको संरक्षण र उचित प्रयोग सुनिश्चित गर्न नेपाल सरकार र स्थानीय तहहरूलाई कानून बमोजिम निम्न जिम्मेवारी तोकिएको छ

  1. नक्सा तथा अभिलेख अद्यावधिक गर्ने
  • प्रत्येक स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाको नक्सा, कित्ता र क्षेत्रफलको अभिलेख तयार गरी अद्यावधिक गर्नुपर्छ ।
  1. अनुमतिविना प्रयोगमा रोक
    • सार्वजनिक जग्गा कुनै व्यक्ति वा संस्थाले प्रयोग गर्न चाहेको खण्डमा सरकारी निकायबाट अनुमति लिनुपर्नेछ ।
  2. समुदायलाई जिम्मेवारी दिनु
    • सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगको जिम्मा समुदायलाई दिने नीतिले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रको सार्वजनिक जग्गा संरक्षणमा जोड दिन्छ ।
  3. वार्षिक अनुगमन
    • हरेक वर्ष सार्वजनिक जग्गाको अनुगमन गरी संरक्षणको स्थिति विश्लेषण गर्नुपर्ने दायित्व सरकारको हो । तर, यसप्रति उल्लेखिनीय प्रयास भएको सरकारी प्रतिवेदनहरू पाउन सकिएको छैन ।

सार्वजनिक जग्गाको अतिक्रमण र कानूनी कारबाही

सार्वजनिक जग्गा अतिक्रमण गर्नु अपराध मानिन्छ । भ्रष्टाचार निवारण ऐन,२०५९ ले सरकारी वा सार्वजनिक सम्पत्तिको अनधिकृत प्रयोगलाई कानूनी अपराधको रूपमा परिभाषित गरेको छ । यसैगरी, सार्वजनिक सम्पत्ति मिच्ने वा कब्जा गर्नेविरुद्ध सम्बन्धित निकायले तुरुन्तै कानूनी प्रक्रिया शुरू गर्न सक्छ ।

अनधिकृत कब्जा गरेमा:

  • सार्वजनिक जग्गा कब्जा गरेमा स्थानीय प्रशासनले कब्जा हटाई त्यहाँ भएका संरचनाहरू भत्काउने अधिकार पाएको छ ।
  • कब्जा गर्ने व्यक्तिलाई जरिवाना लाग्न सक्छ ।
  • कानूनी प्रक्रियाअन्तर्गत अपराधीलाई थप सजाय हुन सक्नेछ ।

सार्वजनिक जग्गाको संरक्षणका लागि सुझाव

सार्वजनिक सम्पत्ति संरक्षण र त्यसको दुरुपयोग रोक्न निम्न सुझावहरू प्राथमिकताको साथ प्रस्तुत गरेको छुः-

  1. नागरिक चेतना वृद्धिःनागरिक चेतना वृद्धि सार्वजनिक जग्गाको संरक्षणको बलियो आधार हो । नागरिकहरूलाई सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र भूमिकाबारे सचेत गराउँदा उनीहरूको स्वामित्व, सहभागिता र सकारात्मक व्यवहारले संरक्षणलाई दिगो बनाउँछ । सरकार, गैरसरकारी संस्था र समुदायले संयुक्त प्रयास गरेर नागरिक चेतना वृद्धि गर्न सकेमा सार्वजनिक सम्पत्ति सुरक्षित राख्न सकिन्छ ।
    • सार्वजनिक सम्पत्तिको महत्त्वका बारेमा व्यापकरूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्छ ।
    • चेतना भएकाले सार्वजनिक जग्गामा फोहोर नफाल्ने र सफाइ अभियानमा सक्रिय सहभागिता जनाउँछन् । यसले जग्गाको सौन्दर्य र वातावरणीय सन्तुलन कायम राख्छ ।
    • चेतना भएका नागरिकहरूले स्थानीय सरकारसँग सहकार्य गरी सार्वजनिक जग्गाको संरक्षण योजनामा प्रत्यक्ष सहभागी हुन सक्छन् । यो सहकार्यले योजनाहरू प्रभावकारी बनाउँछ ।
    • विद्यालय, कलेज र युवा क्लबहरूमा सार्वजनिक सम्पत्तिको महत्त्व र संरक्षणबारे सचेतना गराउँदा नयाँ पुस्ताले यसलाई दीर्घकालसम्म जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
    • चेतना भएका नागरिकहरूले सार्वजनिक सम्पत्ति दुरुपयोग गर्न खोज्नेहरूलाई सामाजिक दबाब दिन सक्छन् । सामूहिक आवाज र विरोधले अतिक्रमणकारी गतिविधिलाई रोक्न मद्दत गर्छ ।
    • जब नागरिकले सार्वजनिक सम्पत्ति आफ्नै सम्पत्ति जस्तै सम्झन्छन्, उनीहरूले यसको संरक्षणमा विशेष चासो दिन्छन् । चेतना वृद्धिले स्वामित्वको भावना बलियो बनाउँछ ।
    • चेतना भएका नागरिकले अतिक्रमण वा गैरकानूनी गतिविधिको सूचना सम्बन्धित निकायमा दिन्छन् । यसले अतिक्रमण रोक्न र सार्वजनिक सम्पत्ति पुनःस्थापना गर्न सहयोग पुर्‍याउँछ ।
    • चेतना भएका नागरिकले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सक्रिय भूमिका खेल्छन् । वृक्षारोपण, सरसफाइ र अनुगमनजस्ता गतिविधिमा सहभागी भई नागरिकले जग्गाको संरक्षणमा योगदान दिन्छन् ।
    • चेतनाले नागरिकलाई सार्वजनिक जग्गाको सही र दीर्घकालीन उपयोग गर्न प्रेरित गर्छ । उनीहरूले जग्गा फोहोर नगर्ने, संरचना नबिगार्ने र स्रोतको दुरुपयोग नगर्ने जिम्मेवार व्यवहार अपनाउँछन् ।
    • अवैध कब्जा वा अतिक्रमण रोक्न नागरिकहरूलाई जानकारी र जागरूक बनाउनु आवश्यक छ । नागरिकलाई अवैध क्रियाकलापको असर (जस्तै: प्राकृतिक स्रोतको कमी, हरित क्षेत्रको विनाश, सामाजिक असन्तुलन)बारे जानकारी दिँदा उनीहरू अतिक्रमणविरुद्ध सचेत हुन्छन् ।
    • सार्वजनिक जग्गाको महत्त्वबारे जानकारी दिने सचेतना कार्यक्रमले नागरिकलाई यसको उपयोगिताबारे जानकारी गराउँछ । उदाहरणका लागि, पार्क, विद्यालय, सडक वा बगैंचाजस्ता जग्गाले समाजमा ल्याउने लाभ बुझ्दा संरक्षणमा नागरिकको रुचि बढ्छ ।
    • सार्वजनिक जग्गाको संरक्षण केवल सरकारको दायित्व नभएर नागरिकको समेत साझा जिम्मेवारी हो । नागरिकमा चेतना वृद्धि गराउँदा उनीहरूले सार्वजनिक जग्गाको महत्त्व बुझ्ने, यसको प्रयोगमा जिम्मेवार हुने र अतिक्रमण रोक्न प्रत्यक्ष भूमिका खेल्ने क्षमता विकास हुन्छ । चेतनाले जनताको सोच, व्यवहार र सहभागितामा परिवर्तन ल्याउँछ, जसले सार्वजनिक जग्गाको संरक्षणलाई दिगो बनाउँछ ।
  2. स्थानीय सरकारको सक्रियताः स्थानीय सरकारको सक्रियताविना सार्वजनिक जग्गाको संरक्षण सम्भव छैन । कानून कार्यान्वयन, प्रविधिको उपयोग र समुदायको सहकार्यद्वारा मात्र दिगो संरक्षण सम्भव छ । स्थानीय सरकारले आफ्नो क्षमताको अधिकतम उपयोग गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।
    • स्थानीय सरकारहरूले सार्वजनिक जग्गाको अभिलेख राख्ने र यसको प्रयोगको प्रभावकारी अनुगमन गर्नुपर्नेछ ।
    • अतिक्रमण भएको सार्वजनिक जग्गालाई कानूनी प्रक्रिया पूरा गरी पुनःस्थापना गर्नुपर्छ । साथै, यस्ता जग्गाको दिगो उपयोगका लागि दीर्घकालीन योजना बनाइनुपर्छ ।
    • स्थानीय सरकारले नागरिकलाई कुनै पनि अतिक्रमण वा गैरकानूनी गतिविधि रिपोर्ट गर्ने सुविधा (जस्तै मोबाइल एप्स, हेल्पलाइन) उपलब्ध गराउन सक्छ । यसले अतिक्रमण रोक्न र संरक्षणमा समुदायको सहभागिता बढाउँछ ।
    • स्थानीय सरकारले जनतालाई सार्वजनिक जग्गाको महत्त्व र यसको संरक्षणको आवश्यकताबारे शिक्षा दिनुपर्छ ।यसले सामुदायिक समर्थन जुटाउन मद्दत गर्दछ ।
    • GIS प्रविधिबाट सार्वजनिक जग्गाको वर्तमान स्थिति ट्र्याक गर्न सकिन्छ । यो प्रविधिले अतिक्रमणको पहिचान र समाधानका लागि बलियो उपकरण प्रदान गर्छ ।
    • सार्वजनिक जमिनमा वृक्षारोपण र हरित क्षेत्रको विकासले जग्गाको सौन्दर्य वृद्धि मात्र गर्दैन, यसलाई दिगो संरक्षणमा पनि मद्दत गर्छ ।
    • स्थानीय तहले सार्वजनिक जग्गाको नियमित अनुगमन गरी यसको उपयोग र अवस्थाको समीक्षा गर्नुपर्छ । कुनै समस्या देखिएमा तुरुन्त सुधारका कदम चाल्न सकिन्छ ।
    • स्थानीय सरकारले जनसहभागिता प्रोत्साहित गर्न सचेतना कार्यक्रम, कार्यशाला र संवाद आयोजना गर्न सक्छ । समुदायको सक्रिय सहयोगले जग्गाको संरक्षण अझ प्रभावकारी हुन्छ ।
    • सार्वजनिक जग्गालाई पार्क, खेलमैदान, बगैँचा वा अन्य सामुदायिक सेवा केन्द्रका रूपमा विकास गर्दा जग्गाको दुरुपयोग रोकिन्छ । समुदायले प्रत्यक्ष लाभ पाउने भएपछि उनीहरू पनि संरक्षणमा सहभागी हुन्छन् ।
    • अवैध कब्जा वा अतिक्रमण रोक्न स्थानीय सरकारले तत्काल कदम चाल्नुपर्छ । अतिक्रमण गर्नेहरूलाई कानूनी कारबाही गर्ने र सार्वजनिक जग्गालाई पुनःस्थापना गर्ने कार्यमा प्राथमिकता दिनुपर्छ ।
    • स्थानीय तहले आफ्नो क्षेत्रका सार्वजनिक जग्गाको नियमितरूपमा सर्वेक्षण गरी सिमाना निर्धारण गर्नुपर्छ । यसमा प्रविधि (जस्तै: GPS र GIS) को प्रयोग गरेर जग्गाको सटीक नक्सांकन गर्न सकिन्छ ।
    • सार्वजनिक जग्गाको अभिलेखलाई डिजिटलाइज गरेर सम्पूर्ण जानकारी एकीकृत प्रणालीमा राख्न सकिन्छ । यसले जग्गाको वास्तविक स्थिति, स्वामित्व र उपयोगको निगरानीलाई सजिलो बनाउँछ ।
    • स्थानीय सरकारले सार्वजनिक जग्गासम्बन्धी स्पष्ट नीति तथा निर्देशिका निर्माण गरी कार्यान्वयन गर्नुपर्छ । यसमा अतिक्रमण रोक्न कानूनी प्रावधान, दोषीलाई कारबाही र संरक्षणका लागि योजना समावेश हुनुपर्छ ।
    • स्थानीय सरकार आफ्नो क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सबैभन्दा नजिक र प्रभावकारी निकाय हो । यसको सक्रियता र ठोस पहलले सार्वजनिक जग्गाको दुरुपयोग रोक्न, दिगो व्यवस्थापन गर्न र दीर्घकालीन संरक्षण सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
  3. सामुदायिक संलग्नताःसार्वजनिक जग्गाको संरक्षण सामुदायिक संलग्नताविना सम्भव छैन । समुदायको ज्ञान, सीप र सहभागितामार्फत संरक्षणका प्रयासहरू सशक्त, प्रभावकारी र दिगो बन्छन् ।सार्वजनिक सम्पत्तिको संरक्षण सरकार र जनताको साझा जिम्मेवारी हो र यसका लागि दुवै पक्षबीच सहकार्य आवश्यक छ ।
    • समुदायलाई सार्वजनिक सम्पत्तिको जिम्मेवारी सुम्पनु, यसको संरक्षणमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु आवश्यक छ ।
    • सार्वजनिक सम्पत्ति संरक्षणमा उत्कृष्ट भूमिका खेल्ने व्यक्तिहरू वा समूहलाई सम्मान र पुरस्कार प्रदान गर्दा अन्य समुदायका व्यक्तिहरू पनि प्रेरित हुन्छन् ।
    • समुदायका अगुवाहरू र स्थानीय संघसंस्थाहरूको सहयोगमा सार्वजनिक जग्गाको संरक्षण अभियानलाई प्रभावकारी बनाउन सकिन्छ । उनीहरूको नेतृत्वले समुदायलाई एकजुट गर्छ ।
    • सार्वजनिक सम्पत्तिलाई स्थानीय संस्कृति, परम्परा वा धर्मसँग जोडेर यसको संरक्षणलाई प्रेरित गर्न सकिन्छ । सामुदायिक मेलाहरू आयोजना गरी जग्गाको महत्त्व र यसको संरक्षणको आवश्यकता बताउन सकिन्छ ।
    • सामुदायिक सेवा कार्यक्रम जस्तै सरसफाइ अभियान, वृक्षारोपण र अन्य संरक्षण गतिविधि आयोजना गरी नागरिकलाई प्रत्यक्ष रूपमा संलग्न गराउन सकिन्छ । यसले सार्वजनिक जग्गाको सौन्दर्य र उपयोगिता बढाउन मद्दत पुर्‍याउँछ ।
    • सार्वजनिक सम्पत्तिमा अतिक्रमण वा क्षति भएको अवस्थामा नागरिकहरूले रिपोर्ट गर्न सक्ने प्रणाली (जस्तै मोबाइल एप्स वा हेल्पलाइन) विकास गर्नुपर्छ । यसले स्थानीय नागरिकलाई सक्रिय सहभागी बनाउँछ ।
    • सार्वजनिक जग्गामा पार्क, खेलकुद मैदान, बगैँचा वा अन्य सामुदायिक सुविधाहरू निर्माण गरी समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउन सकिन्छ । यसले जग्गा अतिक्रमणको जोखिम घटाउँछ, किनकि समुदाय स्वयं यसको संरक्षणमा प्रत्यक्ष संलग्न हुन्छ ।
    • स्थानीय तह र समुदायबीच सहकार्य गरी सार्वजनिक जग्गाको प्रयोगलाई व्यवस्थित र नियन्त्रित गर्न सकिन्छ । स्थानीय स्रोत र जनशक्तिको उपयोग गरेर सार्वजनिक सम्पत्तिको संरक्षण प्रभावकारी बनाउन सकिन्छ ।
    • सार्वजनिक जग्गाको व्यवस्थापन र संरक्षणका लागि समुदायको राय र सक्रिय सहभागितामा आधारित योजना तयार गर्नुपर्छ । यस्तो योजनाले जनतामा स्वामित्वको भावना पैदा गर्छ ।
    • सार्वजनिक जग्गाको निगरानीका लागि स्थानीय तहमा निगरानी समूह गठन गर्न सकिन्छ । यी समूहहरूले अतिक्रमण, अवैध निर्माण वा अन्य गैरकानूनी गतिविधिहरू पहिचान गरी तुरुन्तै सरकारी निकायलाई जानकारी दिन सक्छन् ।
    • समुदायलाई सार्वजनिक जग्गाको महत्त्व, यसको उपयोगिता, र संरक्षणको आवश्यकता बारे जानकारी गराउँदा उनीहरूमा यसबारे चासो बढ्छ । सचेतना कार्यक्रम, स्थानीय सभा र सञ्चार माध्यमको उपयोग गरेर समुदायलाई शिक्षित गर्न सकिन्छ ।
    • सार्वजनिक जग्गाको संरक्षण केवल सरकारी प्रयासले मात्र सम्भव छैन; यसमा समुदायको सक्रिय संलग्नता अनिवार्य छ । सामुदायिक सहभागिताले जनताको प्रत्यक्ष चासो, उत्तरदायित्त्व र सहकार्यको भावना बढाएर सार्वजनिक जग्गाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सक्छ ।
  4. प्राविधिक साधनको प्रयोगःप्राविधिक साधनहरूको प्रयोगले सार्वजनिक जग्गाको संरक्षणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँछ । सरकारले आधुनिक प्रविधिमा लगानी गरी सार्वजनिक सम्पत्तिको दीर्घकालीन संरक्षण गर्नुपर्ने समय आएको छ । यस्तो प्रविधिको संयोजनले मात्र भूमि व्यवस्थापनको लक्ष्य प्राप्त गर्न सकिन्छ ।
    • GIS नक्सांकन र डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सम्पत्तिको ट्र्याक राख्नुपर्छ ।
    • AI प्रविधिको प्रयोगले ठूलो तथ्याङ्क विश्लेषण गरी अतिक्रमण हुने सम्भावित क्षेत्रको पूर्वानुमान गर्न सक्छ । यसले रोकथामका लागि पूर्वतयारी गर्न मद्दत गर्छ ।
    • सार्वजनिक मोबाइल एप्स वा पोर्टलहरू बनाएर नागरिकलाई सूचना दिन र समस्याको रिपोर्ट गर्न सकिन्छ । यसले जनताबीच जागरूकता बढ्छ र संरक्षणमा सामूहिक प्रयास गरिन्छ ।
    • स्याटेलाइटबाट लिइएका तस्वीरहरूको विश्लेषणले सार्वजनिक जग्गाको अवस्थाबारे अद्यावधिक जानकारी दिन्छ । यसले अतिक्रमण भएको स्थानलाई चाँडै पहिचान गर्न सहयोग गर्छ ।
    • स्मार्टफोन एप्स वा सेन्सर प्रविधिको प्रयोग गरेर सार्वजनिक जग्गामा अवैध गतिविधि निगरानी गर्न सकिन्छ । यसले स्थानीय तहमा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्छ ।
    • सार्वजनिक जग्गासम्बन्धी सबै विवरण समेट्ने भू-डाटाबेस तयार गरी नियमित रूपमा अद्यावधिक गरिनुपर्छ । यसले सम्पत्ति व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउँछ ।
    • सार्वजनिक सम्पत्तिको विवरण अनलाइनमा राख्दा नागरिक र सरकारी निकायहरूले सहजरूपमा जानकारी पाउन सक्छन् । यसले गलत काम गर्ने प्रयासलाई रोक्छ ।
    • ड्रोनले माथिबाट स्थलगत सर्वेक्षण गरी सार्वजनिक जग्गाको अवस्थाको सटीक जानकारी उपलब्ध गराउन सक्छ । यसले भू-अतिक्रमण पहिचान र रोकथाममा प्रभावकारी योगदान पुर्‍याउँछ ।
    • ग्लोबल पोजिसनिङ सिस्टम (GPS) र जियोग्राफिकल इन्फर्मेसन सिस्टम (GIS) को प्रयोगले सार्वजनिक जग्गाको सिमाना निर्धारण र अनुगमन सजिलो हुन्छ । यसले भूमिको वास्तविक स्थिति र भू-उपयोगको निगरानी गर्न मद्दत पुर्‍याउँछ ।
    • जग्गासम्बन्धी तथ्याङ्क र नक्सालाई डिजिटल प्रणालीमा राख्दा सूचना पारदर्शी र सुरक्षित हुन्छ । डिजिटल अभिलेखले जमिन हडप्ने कार्यलाई रोक्न मद्दत गर्छ ।
    • सार्वजनिक जग्गाको संरक्षण अहिलेको आवश्यकता हो । भूमिसम्बन्धी समस्या समाधान गर्न प्राविधिक साधनको प्रभावकारी उपयोगले यसलाई दीर्घकालीन र व्यवस्थित बनाउने कार्यमा मार्ग प्रशस्त गर्न सक्छ ।

निष्कर्ष

सार्वजनिक जग्गा कुनै व्यक्तिको नभई सम्पूर्ण नेपाली नागरिकको साझा सम्पत्ति हो । यसको संरक्षण र समुचित व्यवस्थापनले देशको आर्थिक, सामाजिक  र सांस्कृतिक समृद्धिमा योगदान पुर्‍याउँछ ।

संविधान, नीति र कानूनी व्यवस्थामार्फत सार्वजनिक जग्गाको दुरुपयोग रोक्न पर्याप्त प्रावधानहरू गरेको भए पनि कार्यान्वयन तहमा अझै प्रभावकारी कदम आवश्यक छ । नागरिक र सरकार दुवैले संयुक्त रूपमा यस कार्यलाई अघि बढाउनु जरुरी छ ।

सार्वजनिक सम्पत्तिको संरक्षणमा लापरबाही गर्नु भनेको भविष्यका सन्ततिप्रति अन्याय गर्नु हो । तसर्थ, यस विषयमा सबै नागरिक जिम्मेवार हुन जरुरी छ ।

salt training

कमेन्ट गर्नुहोस्