
नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ३’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने यस चलचित्रको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ ।
यसअघि चलचित्रको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो मुद्रामा राखी पोस्टर सार्वजनिक गरिएको थियो । नयाँ पोस्टरमा भने यी कलाकारसहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई राखिएको छ ।
‘होस्टेल ३’ले क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ । यो चलचित्र नेपाल रिलिज मितिमा नै अन्य विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ ।
चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । सहनिर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।